स्थानीयले गरे भव्य स्वागत, आजको बसाई ठाकुरद्धारामै
नेपालगन्ज : बाँके र बर्दियाका पर्यटकीयस्थलको प्रचारप्रसारका लागि आयोजित ‘टूर दी ठाकुरद्वारा–२०७५’ साईकल यात्री यतिवेला बर्दियाको ठाकुरद्वारा पुगकोछ । विहान ८ बजे नेपालगन्ज स्थित बागेश्वरी मन्दिर प्राङ्गणबाट राष्ट्रिय झण्डा सहित निस्केको टोली करिब एक सय किलोमिटरको दूरी पुरा गर्दै बेलुकी साढे ६ बजे ठाकुरद्वारा पुगेको हो ।
ठाकुरद्वारा पुगेको साईकल यात्रीलाई सयौंका संख्यामा रहेका स्थानीयले भव्य स्वागत गरेको रेडियो सद्भावका स्टेशन म्यानेजर नविन गिरीले जानकारी दिए । ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठ, उपमेयर कृष्ण कुश्मी, वडा नम्बर ९ का अध्यक्ष राधा चौधरी, बर्दिया पर्यापर्यटन मंचका अध्यक्ष मोहन थारु लगायतले सवै साईकल यात्रीलाई अविरमाला लगाएर स्वागत गरेका थिए ।
स्वागत गर्दै ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठले आन्तरिक पर्यटनको प्रर्बद्धन गर्न आयोजित सो साईकल यात्रा कोसेढुंगा सावित हुने बताए । उनले भने जैविक तथा प्राकृतिक विवधताले भरिपूर्ण बर्दियाको ठाकुरद्वारालाई लक्षित गरि आयोजित सो साइकल यात्राले देशभरको ध्यायन हामीतर्फ तानेकोछ ।
विश्व साइकल यात्री पुष्कर शाहको समेत सो साईकल यात्रामा सहभागिता छ । ठाकुरबाबा नगरपालिका र स्थानीयको बाक्लो उपस्थितीबीच भएको स्वागतबाट प्रसन्न भएका शाहले साइकलले पनि आन्तरिक तथा बाह्र पर्यटकलाई आर्कषण गर्ने बताए ।
टूर दी ठाकुरद्वारा–२०७५का कार्यक्रम संयोजक सतिश निरौलाले अभियानले प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा नेपालगन्जको बागेश्वरी मन्दिर, जुङ्गे महादेव मन्दिर, बाँसगढीमा निर्माणाधीन केदारेश्वर धाम, ठाकुरबाबा मन्दिर र बर्दिया राष्ट्रिय निकुञ्जलाइ स्थापित गर्दै देश भर चिनाउने बिश्वास लिइएको बताए ।
शुक्रबार दिउँसो १२ बजे बर्दियाको बाँसगढी पुगेका साइकल यात्रुलाई केदारेश्वर धाममा बाँसगढी नगरपालिकाले खानाको ब्यवस्थापन गरेको थियो ।
आज विहान ८ बजे नेपालगन्ज स्थित बागेश्वरी मन्दिर प्रागणबाट टूरको औपचारिक उद्घाटन भई निश्केको थियो । साईकल यात्रीसहितको टोली सुरक्षाको सम्पूर्ण बन्दोवस्त सहित साइकल यात्री बर्दियाको ठाकुरद्वारा सकुसल पुगेकोछ । यसअघि निर्धारण गरिएको समय भन्दा करिब डेढ घण्टा ढिलो ठाकुरद्वारा पुगको हो । यतिवेला साइकलयात्री थकान मेटिरहेकाछन्, उनीहरुको आजको बास ठाकुरबाबा नगरपालिकाले व्यवस्थापन गर्ने संयोजकले बताए ।
विहान १० बजे बाँकको कोहलपुरमा पुगेको टोलीलाई नेपाली क्रिकेटका पूर्व कप्तान एलबी क्षेत्रीले स्वागत गर्दै मायाको चिनो समेत प्रदान गरेको टोलीमा सहभागि पत्रकार गोविन्द शर्माले बताए ।
नेपालगन्जको बागेश्वरी मन्दिरमा विहान नेपालगन्जका मेयर डा. धवल शम्शेर राणा र उपमेयर उमा थापाले विश्व साईकलयात्री पुष्कर शाहलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरि अभियानको सुभारम्भ गरेका थिए । टोली भोली शनिबार विहान ८ बजे नेपालगन्ज फर्किनेछ ।