शिक्षालाई मेयरकपको उपाधी


शिक्षालाई मेयरकपको उपाधी

नेपालगन्ज : बाँके जिल्ला फुटबल संघले आयोजना गरेको दोस्रो मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधी बाँके शिक्षाले जितेको छ । बाँके शिक्षाले आदर्श मावि नेपालगञ्जलाई ट्राइबेकरमा ४–३ गोलले पराजित गर्दै उपाधी जितेको हो । बाँके शिक्षाबाट खेमबहादुर थापा, रामबहादुर वली, अमित शाही र पूर्ण्सिंह थापाले गोल गरेका  थिए । रविन्द थापामगरको प्रहार भने आदर्शका किपर डेविट केसीले रोकेका थिए । आदर्शबाट साहस दर्लामी, विकास नेपाली र यगराज शाही शाहीले गोल गरेका थिए । निर्धारित समयमा दुवै टोलीले दुई÷दुई गोलको बराबरी खेलेका थिए ।

२७ मिनेटमा बाँके शिक्षाका अमित शाहीले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । गोल खाएपछि सेन्टरबाट बल चल्ने बित्तिकै अगाडि लगेर एक मिनेटमै आदर्शका रोशन बुढामगरले गोल गरिदिएपछि खेल बराबरीमा आएको थियो । फेरि खेलमा अग्रता बाँके शिक्षाले नै लियो । ३७ मिनेटमा पूर्ण्सिंह थापाले गोल गरेर टोलीलाई अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको ५७ मिनेटमा डीएरिया नजिक पाएको फ्रिकिकको फाइदा उठाउदै आदर्श खेलमा फर्किएको थियो । आदर्शका विकास नेपालीले डीएरिया बाहिरबाट प्रहार गरेको फ्रिकिक बाँके शिक्षाका किपर केशव खत्रीको हातमा छुदै पोष्टमा छिरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसपछि भने गोल हुन सकेन । दुवै टोलीले राम्रा राम्रा अवसर भने सिर्जना गरेका थिए । निर्धारित समयमा दुई/दुई गोल भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । जसको फाइदा बाँके शिक्षाले उठायो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, ५ नम्बर खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, राखेपका सदस्य विनोद मैनाली, बाँके शिक्षा जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही र नगरका विभिन्न वडाका अध्यक्षहरुले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।