भोक मेटाउँदै नेपालगन्जका दीलदार शिखहरु


भोक मेटाउँदै नेपालगन्जका दीलदार शिखहरु

नेपाल–भारत सीमा नजिक रहेको क्वारेन्टिनका लागि खाना, पानी लैजाने तयारी गरिदै । तस्विरः विजय मल्ल/ सेतोखरी

नेपालगन्ज: कोरोना भाइरसको जोखिमलाई हेर्दा यतिबेला देश पूर्ण लकडाउन छ । देशमा कोरोना भाइरस संक्रमित संख्या दिनानुदिन बढ्दै गएपछि मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन लम्ब्याएकोछ ।

सरकारले लकडाउनको अवधि १२ दिन थप गर्दै वैशाख १५ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ । यसले विशेष गरि बाहिरी जिल्लाका बासिन्दा, ज्यालामजदूरी गर्ने तथा गरीब परिवारलाई सास्ती भएकोछ ।

लकडाउनका कारण सिर्जित कठिन परिस्थितमा अलपत्र परेका र भोकभोकै रहेकालाई खाना खुवाउन धेरैतिर सहयोगी हातहरु अघि नबढेको भने होइन तर, त्यसमध्ये शिख समुदाय अग्रपंक्तिमा रहेका छन् ।

नेपालगन्जमा रहेका शिख समुदायका अगुवाहरुले लकडाउन शुरु भएसगैं अलपत्र परेका र भोकभोकै रहेकालाई भण्डारा चलाएर खाना खुवाईरहेका छन् । विपतमा परेकालाई सहयोग गर्न जहिले पनि अग्रपक्तिंमा रहने शिख समुदायले कोरोना भाइरस संक्रमणको जोखिममा पनि मानवीय सहयोग गर्न पछि परेनन् ।

Kanti Aarogya Hospital Nepalgunj

प्राकृतिक प्रकोपका बेला होस् वा अन्य धार्मिक तथा सामाजिक कार्यमा नेपालगन्जमा रहेका शिख समुदाहरु जहिले पनि सहयोगी हात बढाउन अग्रसर रहन्छन् ।

संख्यात्मकरुपमा नेपालमै न्यून संख्यामा रहेका शिख समुदायको बाँकेमा बाक्लो उपस्थिती छ । यही शिख समुदायका अगुवाहरु जोखिम परिस्थितीमा पनि सहयोगका लागि अघि बढिहाल्छन् । चाहे त्यो विपत्को समय होस् वा अन्य कुनै सामाजिक तथा धार्मिक कार्य । देशमै सवैभन्दा बढि संख्यामा शिखहरुको बसोबास बाँकेमा रहेकोछ ।

कोरोना भाइरसको संक्रमण बढेसगैं सरकारले गरेको लकडाउनका कारण नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीलाई शिख समुदायले निःशुल्क खाना खुवाए ।

नेपाल–भारत सीमानाकामा अलपत्र अवस्थामा रहेका १८१ जना नेपालीलाई विहान साँझको नास्ता, पानी र खाना खुवाएका शिख समुदायको यो सहयोगी भावना रोकिएन बरु दिनानुदिन बढ्दै गयो ।

सहयोगी भावबाट अग्रसर शिख समुदायले लकडाउनका कारण कोही पनि भोकै बस्न नपरोस् भन्दै नेपालगन्ज स्थित गुरुद्वारामा नियमित र निरन्तर निःशुल्क भोजन खुवाईरहेकाछन् । लकडाउन भएसगैं शिख समुदायले नेपालगन्जको गुरुद्वारामा भण्डारा चलाइरहेकाछन् । शिख समुदायका अगुवा अमरजित सिंह आपतमा परेका नागरिकलाई खाना खुवाउने र सहयोग गर्ने हाम्रो परम्परा रहेको बताउँछन् ।

क्वारेन्टिनमा रहेका नेपाली नागरिकलाई समस्या भएको थाहा पाए लगत्तै शिख समुदायले निःशुल्क खाना खुवाइरहेको उनी बताउँछन् । उनले भने–क्वारेन्टिनमा बसेकालाई मात्रै होइन, क्वारेन्टिन सुरक्षार्थ खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सवैलाई निःशुल्क खाना खुवाईरहेकाछौं । अझ यो कठिन अवधिमा अलपत्र परेका नागरिकलाई समेत भोजन खुवाईरहेकाछौं ।’

यतिबेला संघीय सरकारले देशभर लकडाउन र बाँके प्रशासनले जनता कफ्र्यु लगाएकोछ । जसका कारण बाँकेको नेपालगन्ज मात्र नभई देशभरको ब्यापार ब्यवसाय ठप्प छ । जनजिवन कष्टकर बन्दै गएकोछ ।

यस्तो कठिन परिस्थितीमा बढि भन्दा बढि सहयोग गर्ने उद्देश्यका साथ शिख समुदायका अगुवा नियमितजसो नेपालगन्ज विपी चोक स्थित गुरुद्वारामा भेला हुन्छन् । सामाजिक दूरीलाई समेत उत्तिकै पालना गरेका यी समुदायले भोकै, प्यासै तथा अप्ठेरोमा परेका नागरिकलाई खोजी खोजी सहयोग गरिरहेकाछन् ।

शिख समुदायका अगुवा अमरजितका अनुसार यस्ता ब्यक्तिका लागि नियमितरुपमा खाना पकाउने गरेको बताए । उनले भने–‘नियमित ज्याला मजदूरी, रिक्सा, ठेलागाडा तथा (विपन्न) आर्थिक अभाव रहेका ब्यक्तिहरुलाई लक्षित गरि नियमितजसो भोजन खुवाउदै आएको बताए ।
उनले हिन्दु, मुस्लिम, गरिब, ज्यालामजदूरी गर्ने हरकोहीलाई निःशुल्क खाना खुवाइरहेको बताए ।

क्वारेन्टिनमा खाना, नास्ता उपलब्ध गराउनेदेखि लिएर गुरुद्वारामा आएकालाई समेत निःशुल्क खाना खुवाईरहेका छन् । नेपालगन्जमा रहेको शिख समुदायले विशेष गरि आफ्नो महत्वपूर्ण चाडपर्व तथा परम्पराका अवसरमा गुरुद्वारामै लङ्गरको व्यवस्था गर्ने गर्छ । जहाँ निःशुल्क भोजन खुवाईन्छ । यस्तो अवसरमा नेपालगन्जका दिन दुःखी, भोकाप्यासा तथा निम्न वर्गीय समुदायका मात्र नभइ विभिन्न जात, धर्म तथा वर्गका ब्यक्तिहरुको उपस्थिती रहनेगर्छ ।

कोरोना जस्तो महामारिका बेला पनि शिख समुदाय स्वस्फूर्तरुपमा निःशुल्क भोजन खुवाइरहेकाछन् । यीनहरुले सामुहिकरुपमा रकम संकलन गरि सोही रकमबाट दिनहुँ खाना खुवाईरहेकाछन् ।

शिखसमुदायले गरिरहेको सहयोगलाई अनुसरण गरि अन्य समुदाय तथा संस्थाले पनि सहयोग गरिरहेको शिख सुमदायका अर्का अगुवा हरिनाम सिंह बताउँछन् ।

संक्रमण र जोखिमका अवस्थामा पनि जोखिम मोलेर सामाजिक सेवामा अग्रसर शिख समुदायको यस्तो कार्यका अगाडी धनी, सम्पन्न तथा विभिन्न संघसस्था चुपचाप लागेकाछन् ।

अनुकुलतामा संसारनै आफूले धानेको र आफूले गरेको कार्य नै संसारको उत्कृष्ट भन्ने नेपालगन्जका विभिन्न समुदाय, संघसस्था तथा सम्पन्न ब्यक्तिलाई शिख समुदायले गरेको प्रयासले ठूलो झापड हानेकोछ ।

अझ कोरोना भाइरस संक्रमणको जोखिमका बेला पनि राहत र विभिन्न सहयोगका नाममा गरिने ठगि, अनियमितताले लक्षित वर्ग झन पीडित बन्नुपरेकोछ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण सास्ती र समस्याग्रस्त परिवारलाई सहयोग गर्ने शिख समुदाय बाँकेमा हिजो पनि अग्रस्थानमा थियो, आज पनि छ । यसबाट केही सिक्नुपर्ने बाँकेको खजुरा निवासी ऋषी पोखरेल बताँउछन् ।

उनले भने–‘जोखिमका बेला अप्ठेरोमा परेकालाई सहयोग गर्न नसक्ने बाँकेका सामाजिक संघसस्था होस् वा सम्पन्न ब्यक्ति सवैलाई सामाजिक बहिस्कार गरिनुपर्छ ।’

सरकारले लकडाउनको अवधि बढाएसगैं भोकाप्यासा तथा अलपत्र परेका मानिसलाई थप चुनौती र समस्या थपिदिएकोछ ।