मंगलबार, असोज ६, २०७७   ०३:३९:०९

लकडाउनमा ‘सातु’ बेचेर जिविकोपार्जन


नेपालगन्ज: कोरोना भाइरसका कारण यतिवेला देश लकडाउन भएकोछ । गत चैत्र ११ गते पहिलोपटक गरिएको लकडाउन खुकुलो पार्ने सरकारले तयारी गरिरहदाँ एकैपटक सुदूरपश्चिम प्रदेशका तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि सरकारले थप सर्तकता अपनाउदै लकडाउनको अवधि बढायो ।

नयाँ वर्षको आगमनसगैं लकडाउन केही समयका लागि खोल्ने वा केही खुकुलो होला भन्ने आम सर्वसाधरणले विश्वास गरिरहेका थिए । तर, नयाँ वर्षको पहिलो र दोस्रो दिन एकैपटक २–२ जनाको दरमा कोरोना भाइरसको संक्रमण थपिएसगैं सरकारले आज वैशाख ३ गते सकिने लकडाउनको अवधि थप गर्दै वैशाख १५ गते सम्मका लागि लकडाउन लगाएकोछ ।

दैनिक ज्यालामजदूरी गरेर जिविकोपार्जन गर्ने परिवारमा लकडाउनले ठूलो सास्ती भोग्नुपरेको । निम्न आयश्रोत भएका परिवारले विहान साँझको जोहो टार्न भएपनि केही न केही गर्ने प्रयासरतछन् । तर, लकडाउनका कारण उनीहरुको प्रयास असफल बन्ने गरेकोछ ।

अझ पछिल्लो समय बन्दाबन्दीका विच दिनहुँ बढिरहेको गर्मीबाट बच्न नेपालगन्जबासी विभिन्न उपाय अपनाउने गरेका छन् । कोही घरेलु उपायमा चिसो सरवत पानीबाट आफ्नो प्यास मेटाउदै गर्मी छलिरहेका छन्, भने कोही विभिन्न प्रकारका चिसो पेय पदार्थ पिएर गर्मी भगाइरहेका छन् ।

देशकै उच्च गर्मी हुने स्थान नेपालगन्जमा पछिल्लो एक हप्तादेखि गर्मी ह्वात्तै बढेको छ । प्रचण्ड गर्मीमा यहाँका स्थानीयबासी गर्मी छल्न सातु खाने गरेका छन् । यसैसगै सातुको ब्यापार पनि ह्वात्तै बढेर आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २१ पुरैनाका सातु ब्यापारी विजयपाल भुजुवाले दिनहुँ ५० देखि ६० केजी सम्म सातु विक्री गर्ने गरेको बताए । उनले भने, ‘स्वास्थ्य तथा धार्मिक परम्पराको दृष्टिकोणले सातु खानु, दान गर्नु राम्रो मानिन्छ ।’

अझ लकडाउन लम्बिएसगैं सातुको माग बढेकोछ । बन्दाबन्दीका विच बाँके प्रशासनले गरेको कडाईमा सातु विक्रि गर्न सहज वातावरण छैन । त्यसमा पनि सरकारले तय गरेको सामाजिक दूरी पालना गर्नुैपर्छ । लकडाउनमा उपभोक्ताको माग बढेसगैं सातुको मूल्य पनि बढेकोछ ।

ठेलामा सातु राखेर नगरका विभिन्न भागमा लग्दै सातु बेच्दै गरेको भुजुवाले दिनहुँ ४ देखी ७ हजारसम्मको ब्यापार हुने गरेको बताए । यस्तो गर्मीको समयमा पनि नेपालगन्जदेखि करिब ४ किमी पूर्व पुरैनाबाट ठेलामा सातु राखेर बेच्दै आउनेगरेको उनले सुनाए ।

यस्तै सोही स्थानका अर्का सातु ब्यापारी रामप्रसाद भुजुवाले दिनहुँ ३ देखी ४ हजार सम्मको सातु बेच्ने गरेको बताए । लकडाउन छ त्यसमाथि कोरोना भाइरसको जोखिम पेट पाल्नका लागि सातु बेच्नुको विकल्प नरहेको उनी बताउँछन् ।

उनले भने गर्मी बढेसगै सातुको माग ह्वात्तै बढेर आएकोछ । जौं तथा चनाबाट निर्माण गरिने सातुको माग बजारमा रहेको उनले बताए ।
चनाबाट बनेको सातु प्रतिकिलो २ सय ४० रुपैयाँ र जौंबाट बनेको सातु प्रतिकिलो २ सय रुपैयाँमा विक्री गरिरहेको राप्रसाद बताउँछन् । गत वर्ष यो सिजनमा जौँबाट बनेको सातु प्रतिकिलो एक सय तथा चनाको सातु प्रतिकिलो २ सय रुपैयामा बेच्ने गरेको रामप्रसाद भुजुवाले बताए ।

लकडाउन र अस्तब्यस्ताका कारण धार्मिक तथा स्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण मानिएको सातुको उपलब्धता भने सहज हुन सकेको छैन् । पहिले सवैले आफ्नो घरमा जौँको सातु बनाउने र त्यसलाई प्रयोग गर्ने गर्दथे, तर समयसगै सवैले आ–आफ्नो घरमा सातु बनाउन नसक्ने भएपछि यसको माग पनि विस्तारै घटेर गएको थियो । तर, पछिल्लो समय यसको ब्यापार हुनथालेपछि माग बढेको हो ।

अझ लकडाउनमै सातुलाई जिविको पार्जनको लागि अर्को विकल्पका रुपमा लिएपछि यतिवेला बाँकेको नेपालगन्जमा सातुको माग ह्वात्तै बढेकोछ ।

यस्तै अर्का सातु ब्यापारि नेपालगन्ज उप–महानगरपालिका–२१ का पप्पु भुजुवाले बैशाख महिनामा हुने अक्षय तृतियाका अवसरमा हरेक वर्ष सातुको पसल थाप्ने गरेको बताउँछन् । उनले भने–‘सातुको प्रयोग हाम्रा पुर्खाहरुले गर्दै आएका थिए । आधुनिक जिवनशैलीका कारण यस्ता परम्परागत खानेकुराको माग पछिल्लो समय बढेको छ ।’

उनीसगै विनोद भुजुवा, सीताराम भुजुवा र अर्जुन भुजुवाले पनि सातु बिक्री गर्ने गरेका छन् । कुनैबेला नेपालगन्जको गोसाईगाँउ, धम्बोझी लगायतका क्षेत्रबाट सातु बेच्न आउने गरेका थिए । तर, समयसगैं सातु बनाएर बेच्नेहरुको पनि पेशा बदलिएकोछ । यद्यपी गर्मी बढेसगैं ग्रामीण क्षेत्रमा सातुको उल्लेख्य प्रयोग हुनेगरेकोछ ।

स्वास्थ्यका दृष्टिकोणमा सातु

विशेषगरी बैशाख महिनामा पर्ने अक्षय तृतीयाका अवसरमा बिक्री गरिने सातु स्वास्थ्यका दृष्टिकोणले गुणी मानिन्छ । यसका साथसाथै धार्मिक मान्यता तथा परम्पराले पनि महत्वपूर्ण मानिन्छ । जौंको सातु खाँदा शितलता प्राप्त हुन्छ । यसले रगतको तापमानलाई नियन्त्रण गर्छ, गर्मी तथा ज्वोरोलाई रोक्छ, पुरानो ज्वोरो, टि.बी तथा खोकीका लागि पनि जौंको प्रयोग गर्नु लाभदायक भएको चिकित्स बताउँछन् ।

जौंको प्रयोग गर्नाले शरीर सुन्निएको कम गर्ने, मोटोपन घटाउने, मुलायम त्वचाका लागि तथा गर्भपतन लगायतमा उपयोगी हुने गरेको चिकित्सक बताउछन् । ‘सातु’ जौंलाई भुटी पिसेर बनाइएको पीठो हो । जसलाई विभिन्न तरिकाबाट उपभोग गर्ने गरिन्छ । सातुलाई चिनी, मिश्री, गुड तथा कोही कोहीले खुर्सानी र नुन पिसेर पानी मिसाएर खाने चलन छ ।

धर्मका दृष्टिले सातु

हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू पर्छन् । ती मध्ये एउटा महायोगको नाम हो ‘अक्षय तृतीया’ । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ ।

गर्मी महिनाको यस दिन भगवान विष्णु र लक्ष्मीको संयुक्त पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सु–स्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ ।

हिन्दु कालगणनानुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् । ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । जो यसवर्ष बैशाख १४ गते मनाइदैछ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने । पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ ।

बैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्रीमध्ये एक चिजलाई सर्बतसँगै र जौंको सातु दान गर्ने चलन छ ।

यस दिन बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि दान दिइने चलन छ । भनिन्छ, यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनैपनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो ।

वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधानअनुसार अक्षय तृतियाका दिन दियो कलश र गणेशलाई पूजी कलसमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।

कुनैपनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश, गाई, भूमि, स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण पनि गरिन्छ ।

परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यही तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ ।