गत डिसेम्बर २०१९ देखि चिनको बुहानबाट फैलिएको कोभिड–१९ अर्थात कोरोना भाईरस अहिले विश्वभरी झैलिरहेको अवस्था छ । यसले सबै भन्दा पहिले चिनमा असर पारेको थियो भने त्यसपछी युरोपका धेरै मूलुकमा (खासगरी इटलीमा) असर पार्दै अमेरिका र भारत समेतमा असर पारेको र नेपाल जस्तो देशमा यसको असर परेको खण्डमा नेपाल झनै समस्याग्रस्त हुन्छ र यसले सजिलै थेग्न सक्दैन कि भन्ने डर र आशंकाले गर्दा २०७६ चैत्र ११ गतेदेखि हामी (लकडाउन) बन्दाबन्दीमा बसेको पनि तीन हप्ता भन्दा बढी भैईसक्यो । काठमाण्डौंको सनसिटी अपार्टमेण्टमा देखिएको पछिल्लो कोरोना संक्रमितसहित हाल नेपालमा १६ जनामा संक्रमण देखिएकोमा १ जनाले स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् ।
कोरोनाकै कारण आसन्न एसईईं, कक्षा ११ तथा १२ को परीक्षा पनि स्थगित भैईनै सकेका छन् । त्यस्तै अन्य परीक्षाहरु लोक सेवा आयोगका परीक्षाहरु पनि स्थगित नै भईसकेका छन् । अन्य बिद्यार्थीहरुले आधा जति परीक्षा दिएर बसेकाछन् । सामान्य अवस्थामा भए अबका दिनहरुमा बिद्यालय तहको परीक्षाफल प्रकाशित हुने र भर्ना अभियान सञ्चालन हुने समय हो ।
यस वर्ष अर्थात २०७६ मा नेपालमा ५ लाख १० हजार जति परीक्षार्थीहरुले एसईईंको परीक्षाको तयारी गरिरहेका थिए । ती सबैे गत २०७६ चेत्र ६ गते देखि परीक्षामा सहभागि हुंदै थिए । सोही अनुसार तयारीमा पनि थिए । बिद्यालयहरुले पनि आफ्ना बिद्यार्थीको लागि परीक्षा केन्द्र अनुसार तयारी अवस्थामा राखिसकेका थिए । कतिपय टाढाका बिद्यार्थी आफ्नो परीक्षा केन्द्र नजिक गएर डेरा पनि लिईसकेको अवस्था थियो । परीक्षाको अन्तिम घडीमा परीक्षा सथगित गर्नु पर्यो । यो अवस्था सरकारले रहरले गरेको पनि होईन । विश्वभरी फैलिरहेको महामारीका कारणले गर्दा हामी सबैको स्वास्थ्य अवस्थालाई सुरक्षित राख्न यसो गरिएको हो । यसलाई सबैले स्वागत नै गरियो ।
तर, परीक्षादिन तयारी गरेर आएका सबैजसो बिद्यार्थी निरास भएर फर्कनु पर्यो । यसले परीक्षार्थीमा मनोवैज्ञानिक असर अवष्य नै परेको छ । लगातार लकडाउनपछी घरमा बसेका बिद्यार्थीहरु यस समय उपयोग गर्ने र थप पढाइका लागि समय पाएकोमा पनि खुशी छैनन् । खासगरी एसईई परीक्षा र कक्षा ११ र १२ को परीक्षा दिने तयारी गरिरहेका तर, घरमै लकडाउनमा बसेका बिद्यार्थीहरुलाई पढाई कस्तो छ भनेर प्रश्न सोध्यो भने उनीहरुको जवाफ हुन्छ “पढ्ने मन छैन ।” , “पढेको पनि छैन ।” आदि... आदि ।
बिद्यार्थी जीवन, जीवनको एक महत्वपूर्ण अवस्था हो । यस माध्यामिक तहको अवस्थामा बिद्यार्थीहरुले धेरै योजना बनाएका हुन्छन् । उनीहरुमा धेरै उत्सुक्ता र प्रश्नहरु हुन्छन् । कसरी आफ्नो करियर विकास गर्ने, कुन बिषय पढ्ने, कहाँ पढ्ने वा कुन कलेज वा विश्व बिद्यालय पढ्ने ? आदि आदि । वास्तवमा हो पनि । किन भने जीवनको यस घडीमा योजना बनाउन सकिएन भने जीवन कता लैजाने भन्ने पनि अन्यौल हुन्छ । योजना बनाउन बिद्यालयहरुले पनि सिकाउनुपर्दछ र घरले पनि ।
हरेक बिद्यार्थीले यस अवस्थामा योजना बनाएका हुन्छन् । त्यही योजना साकार बनाउन पनि परीक्षा महत्वपूर्ण मानिन्छ । यस्तो अवस्थामा योजनामा ब्रेक लाग्यो भने पुरै जीवनको बाटो फरक पर्न सक्छ । वास्तवमा शिक्षा क्षेत्रको यति ठूलो सञ्जाल र संरचना बनेको अवस्थामा खासै असर त नपर्ला तर, बिद्यार्थीहरुलाई आस्वस्थ पार्न सरकारले अहिलेसम्म केही पनि गरेको छैन । जनताको स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, बाटोमा अलपत्र परेका यात्रुहरु चर्चामा आईरहेका छन् जुन कुरा आवश्यक हो । यस्तै परीक्षा स्थगित भएर घरमा बसेका बिभिन्न तहका बिद्यार्थीहरुका बारेमा न संघीय सरकार न प्रदेश सरकार बोलेको छ । अच्चम लाग्छ, के बिद्यार्थीहरु देशको भविष्य होईनन् ?
कुनै पनि महत्वपूर्ण कार्यहरुको बिषेश तिथी मिति तोकिएको हुन्छ । उक्त मितिमा काम गर्ने भनेर ब्यक्ति मानसिकरुपमा तयार भएको हुन्छ । कारणवश उक्त मितिमा हुने काम वा कार्यक्रम स्थगित भयो वा कार्यक्रम पछाडी सर्यो भने त्यो जति पीडा अरुकेही हुन सक्दैन । यस्तै भयो यस वर्ष एसईई र प्लस टु का बिद्यार्थीहरुका लागि । एक वर्षको तयारी खेर गईरहेको जस्तो धेरै बिद्यार्थी निराश भएको पाईएको छ । परीक्षा स्थगित भयो । अव परीक्षा हुन्छ कि हुँदैन र भयो भने कहिले हुन्छ ?, मेरो तयारी नपुग्ने हो कि, अथवा मैले गरेको तयारी र प्रश्नपत्र फरक पर्ने हो कि ?, अथवा यो स्थगित भएको परीक्षा नै नहुने हो कि ? अथवा मेरो पढाईमा अब यत्ती कै ब्रेक पो लाग्ने हा कि? भन्ने प्रश्नहरु बिद्यार्थीमा उब्जिरहेकोछ ।
अहिले बिद्यार्थीमा एकोहोरो भएर टोलाउने, दिक्क मान्ने, मोवाईल, टि.भी.मा धेरै समय बिताउने, पुस्तक पढ्न झन्झट मान्ने, दिमाग एकत्रित बनाएर पढ्न नसक्ने जस्ता मनोबैज्ञानिक असरहरुलाई कम गर्नकालागि सरकारको समयमा नै ध्यान जान आवश्यक छ । यस्ता समस्याहरु पनि जटिल समस्याहरु नै हुन । यसले अहिले तुरुन्त असर नपारे पनि कालान्तरमा ठूलो समस्या नल्याउला भन्न सकिंदैन । जसरी जीवन धान्न खानाको आवश्यक्ता पर्दछ । त्यसैगरी जीवन सफल बनाउन शिक्षाको पनि त्यतिकै आवश्यक्ता पर्दछ ।
यस अवस्थामा स्थानीय तह र सम्बन्धित बिद्यालयहरुले कुनै नयाँ बिधि अपनाएर ती बिद्यार्थीहरुलाई सान्त्वना दिने खालको कृयाकलापहरु अपनाउन सक्नुपर्दछ । जस्तो स्थानीय एफएम, रेडियोबाट पढाई/सीकाईका गतिबिधीहरु सञ्चालन गर्न सकिन्छ भने मनोसामाजिक परामर्श दिन सकिन्छ । गाह्रो बिषय मानियकाहरु बिषयहरु जस्तो गणित, बिज्ञान र अंग्रेजी बिषयहरुलाई हरेक दिन एक–दुई घण्टा यसको पढ्ने तरिका र केही हप्ठ्यारा प्रश्नहरुको समाधान सहितको रेडियो कार्यक्रमहरु प्रशारण गर्ने, मनोसामाजिक परामर्शको कार्यक्रमहरु पनि प्रशारण गर्ने र परीक्षाको बिषय के भईरहेको छ ?,
परीक्षा हुने संभावित मितिहरु र महामारीको बेला बिद्यार्थीहरुको भूमिका र बच्ने उपायहरु प्रशारण गरिदिन उपर्युक्त हुन्छ । उनीहरुलाई हौसला प्रदान गरिरहनका लागि घरमा बाबु–आमाले र बुझेका अन्य परिवारका सदस्यहरुले उनीहरको योजना बिचलन हुन नसक्ने कुरा गरिरहनु पर्दछ । परीक्षा हुन्छ र तिमि आफ्नो गन्तव्यमा अवश्य पुग्छौ ।
प्राय महामारीहरुमा यस्तै हुन्छ भनेर सम्झाउनु उपयुक्त हुन्छ । र, सञ्चार माध्ययम र सामाजिक सञ्जालहरुमा पनि परीक्षा र शिक्षाको बिषयमा सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा विकास समन्वय समिति र पालिकाहरुले विश्वासिलो र भरपर्दो सूचनाहरु प्रवाह गरिनुपर्दछ ।
स्थानीय तहहरुले बिद्यालयको भूमिका स्पष्ट पारिदिन सहयोग गर्नु पर्दछ । जसरी स्वास्थ्या निकायहरुका कर्मचारीहरु संक्रमितहरुसंगै काम गरिरहेकाछन् । त्यसरी नै बिद्यालयका शिक्षकहरुले पनि बिद्यार्थीहरु र अभिभावकहरुसंग कार्य गर्न सक्छन् । स्वास्थ्य जति महत्वपूर्णछ त्यतीकै शिक्षा पनि महत्वपूर्ण बिषय हो, भनेर शिक्षकहरुलाई पनि परिचालन गर्नुपर्दथ्यो । किनभने स्वास्थ जतीकै शिक्षा पनि महत्वपूर्ण तत्व हो ।
बिद्यालयहरुले यो लकडाउनको अवस्थामा स्थानीय तह र प्रदेश सरकारसंग समन्वय गर्दै लकडाउनको आचारसंहितालाई पालना गर्दै बिद्यार्थीको घरदैलो भेटघाट गर्ने गर्नु पर्दथ्यो । बिद्यार्थीको घर–घरमा गएर आवश्यक कोचिङ्ग–काउन्सेलिङ्ग गर्ने, यो अवस्थासंग नडराउने, पढाई र अभ्यासलाई निरन्तरता दिने, घरबाहिर नजाने र घरमै बसेर आवश्यक रुटिन सहित पढाइलाई नियमितता दिने जस्ता पढाइका अत्यावश्यक तौरतरिकाहरु सिकाउने कार्य गरिदिएको भए राम्रो हुनेथियो ।
जसरी स्वास्थ्यकर्मीलाई पीपीई, ग्लोब्स, मास्क र अन्य सेनिटाईजरको ब्यवस्था गरिएको छ । त्यरी नै घरमै लकडाउनमा बसेका बिद्यार्थीहरुलाई परामर्श दिने शिक्षकहरुलाई पनि सोही बमोजिम ब्यवस्था गरेर कोचिङ्ग काउन्सिल गर्ने ब्यवस्था गर्नुपर्दथ्यो ।
हाल तेश्रो पटकसम्म लकडाउनको अवस्था थपिरहनु पर्दापनि सरकारले शिक्षा सुधार र यसमा असर नपर्ने र नपार्ने बिषयमा बोलेको पाईदैन वा पाईएन । ठिक छ, यसले मानव जीवनमा पार्ने नकारात्मक र देशको आर्थिक विकासमा पर्ने असरहरुका बारेमा अर्थ मन्त्रीहरुलगायत प्रधानमन्त्रीज्यू सम्मले सम्वोधन गरिरहनु भएको छ । यो प्रशंसनीय नै छ । तर, शिक्षामन्त्री ज्यूले पनि एकपटक परीक्षा र नयाँ सेसनको सञ्चालनका बिषयमा सम्बोधन गर्नु पर्ने थियो । सरकारले शिक्षा क्षेत्रलाई वास्तवमा लत्याएको नै हो । यसरी लत्याईएको क्षेत्रबाट हामीले कसरी गुणस्तरीय उत्पादन दिन वा लिन सक्छौं ? वा सरकार !
तर.......
शिक्षा क्षेत्र बिग्रीए देशमा जे जति कुरा गरे पनि, जे जति अन्य विकास गरिएपनि त्यसको कुनैपनि औचित्य हुने छैन । दिगो हुने छैन ।
(लेखक: मनवीर नेपाली शिक्षा क्षेत्रमा कलम चालाउदै आएकाछन् ।)
यो पनि पढ्नुहोस्