धार्केबाट नेपालगन्ज आएका ५२ जनालाई मब क्याम्पसमा राखियो


धार्केबाट नेपालगन्ज आएका ५२ जनालाई मब क्याम्पसमा राखियो

कहिले ट्रक कहिले पैदल गरि ६ दिनको यात्रा पुरागरि धार्केबाट नेपालगन्ज आइपुगेका भारतीय श्रमिक । तस्विरः रवि कनोजिया /सेतोखरी

नेपालगन्ज: भारतको उत्तर प्रदेश लखिमपुर खिरीका ५२ जना भारतीयलाई उद्दार गरिएकोछ ।

धार्केस्थित सत्या ईट्टाभट्टामा कामका लागि ६ महिना अघि पुगेका लखिमपुर खिरीका भारतीयहरु कोरोना भाइरस संक्रमणको जोखिम बढेसगैं सरकारले लगाएको लकडाउनमा शुक्रबार नेपालगन्ज आईपुगेका थिए ।

कहिले ट्रक कहिले पैदल गर्दै ६ दिनको यात्रामा नेपालगन्ज शुक्रबार विहान आइपुगेका भारतीय श्रमिकहरुलाई बाँके प्रशासन र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा महेन्द्र बहुमुखी क्याम्पस स्थित अस्थायी क्वारेन्टिनमा राखिएकोछ ।

बाँके प्रशासनको ढिलासुस्ति तथा गैरजिम्मेवारी कार्यका कारण दिनभर प्रहरी घेरामा बसेका ती भारतीय श्रमिकलाई बेलुका मात्र महेन्द्र बहुमुखी क्याम्पसको अस्थायी क्वारेन्टिनमा राखिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

अधिकांश बालबालिका र काखे बच्चा रहेका ती भारतीयहरुलाई वडा प्रहरी कार्यालयको नेतृत्वमा क्याम्पस लगिएको हो ।  नेपालगन्ज आइपुगेका उनीहरु वीपीचोकस्थित नगरपालिकाको व्यवसायीक सटर भवनको पेटीमा बसेका थिए ।

यसबिच बाँके प्रहरी प्रशासनले उनीहरुको लगत लिएकोछ । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहको टोली उनीहरुको व्यवस्थापनमा खटिएको थियो ।

यसअघि चितवनबाट १२ दिन हिँडेर बाँके आईपुगेका भारत नानपाराका ६७ जनालाई बाँकेको हवल्दारपुरस्थित राम माविमा टेन्ट टाँगेर राखिएको छ । नेपाल र भारतका सीमावर्ती अधिकारीहरुले नेपालमा रहेका भारतीयलाई नेपाल र भारतमा रहेका नेपालीलाई भारत सरकारले क्वारेन्टिनमा व्यवस्थापन गर्ने सहमति गरेका छन् ।

यद्यपी अझ पनि नेपाल–भारत सीमानाकाबाट लुकिछिपी नेपाल आउने क्रम रोकिएकोछैन । यस्तै लकडाउनले अलपत्र रहेका नेपालीहरु स्वेदशमै सयौं किलोमिटर हिँडेर गन्तव्यमा पुगिरहेकाछन् । सरकारले गैरजिम्मेवारीपूर्ण व्यवहार गरेपछि निम्न वर्गीय तथा ज्यालामजदूरी गर्नेहरु जोखिमपुर्ण यात्रा गर्न बाध्यछन् ।