प्रतिकात्मक तस्विर
नेपालगन्ज : आज मातातिर्थ औंशी । अर्थात् जन्मदिने आमाको मुर्ख हेर्ने दिन । आज श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गरेर मनाउँदैछन् । तर, कोरोना भाइरसका कारण सिर्जित असहज परीस्थितीमा सरकारले लगाएको लकडाउनका कारण अलपत्र परेकाहरुले आमाको मुख हेर्नबाट बञ्चित हुन पुगे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुर स्थित शारदा पाल यसवर्ष आमाको मुख हेर्न पाइनन् । बाँकेको खजुरा गाँउपालिका ई गाँउमा माइतीघर भएकी पाललाई १२ किमीको दूरी पारगर्न लकडाउनले रोक्यो । जसका कारण हरेक वर्ष जसोतसो आमाको मुख हेर्न माइतीघर पुग्ने पाल टेलिफोनबाटै शुभकामना दिन बाध्य भइन् ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगर बस्ने जाजरकोटका प्रकाश चन्दलाई पनि आमाको मुख हेर्न लकडाउनले छेक्यो । अध्ययनका शिलशिलामा नेपालगन्ज आएका चन्द चैत्र मसान्तमा घर जाने तयारीमा थिए । तर, उनलाई लकडाउनले रोक्यो जसका कारण यो वर्ष आमासगैं रमाएर मिठोमसिनो खाने उनको सपना टुट्यो ।
सेतोखरीसंग कुरा गर्दै चन्दले भने–‘वर्षदिनको चाड त्यसमा पनि जन्मदिने आमाको मुख हेर्ने दिन लकडाउनका कारण जान पाइएन । दुःख लागेको छ तरपनि फोनबाटै आमांग कुरा गरेर आर्शिबाद लिए ।’
कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनले यतिबेला देश पूर्णरुपमा ठप्प छ । जो जहाँ छ त्यही सुरक्षित वस्न सरकारले निर्देशन दिएकोछ । यस्तो अवस्थामा सवारीसाधन गुडेका छैनन्, निजी सवारीसाधन भएकाले पनि सवारी पास पाएका छैनन् ।
कोरोनाको संत्रासमा बाँचिरहेका नेपालीका लागि नयाँ वर्षसगैं भित्रिएका चाडपर्वले छोएकोछ । यद्यपी बन्दाबन्दीका विच चाडपर्व मनाउनु पर्दा नमजा लागेको बाग्लुङ्का वसन्त शर्मा बताउँछन् ।
नेपालगन्ज बसपार्कमा अस्थायी बसोबास गर्दै आएका शर्माले विगतलाई सम्झिदंै सेतोखरीलाई भने–‘घर जाँउ सरकारले लकडाउन लगाएकोछ, नजाऔं भने आमाको मातातीर्थ औशीका दिन आमाको मुख हेर्न पाइएन ।’
हरेक वैशाख कृष्णपक्ष औँशीका दिन ९ महिना गर्भमा राखेर निकै कष्ट सहेर जन्मदिने आमालाई सम्झिने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।
आमा हुनेहरुले आमालाई बिहान भेटेर मिठो खानेकुरा खुवाएर, सम्मान गरेर मनाउने गर्दछन् भने आमा नहुनेहरुले आमाको सम्झनामा बत्ति बाल्ने गर्दछन् ।
लकडाउनपूर्व आ–आफ्नो घर पुगेकालाई आमाको मुख हेर्नबाट बञ्चित हुनु परेन । तर, लकडाउनसगैं अलपत्र परेका आम नागरिकले आमाको मुख हेर्ने दिनलाई राम्रोसंग मनाउन सकेनन् ।
लकडाउनका कारण आमाको मुख हेर्न दिनका अवसरमा यसवर्ष आमालाई कुनै उपाहार दिन नपाएको बाँकेको डुडुवा गाँउपालिका कम्दी निवासी मनोज सुनार बताँउछन् । ‘आज आमाको मुख हेर्ने दिन, बजार गएर आमालाई उपाहार किनिदिने सोँच बनाएको थिए । तर, लकडाउनका कारण त्यो पूरा हुन पाएन ।’ उनले सेतोखरीलाई भने–‘उपहार बिनाको मातातीर्थ औंशी मनाइयो, अर्कोपटक उपहार दिनुपर्ला ।’
मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् । तर, यसपटक विश्वब्यापी माहामारी बनेको कोरोना भाइरस संक्रमणका कारण मातार्तीथ औंशी प्रभावित बनेकोछ ।
देश पूर्ण लकडाउन भएकोछ । कोरोना भाइरसको सम्भावित संक्रमणलाई न्यूनिकरण गर्नका लागि सरकाले लकडाउन र सामाजिक दूरी लागु गरेकोछ । यस्तो अवस्थामा कोही पनि एक ठाँउबाट अर्को ठाँउ जना सक्ने अवस्था छैन । लकडाउनका कारण यसवर्षको मातातीर्थ औंशी प्रभावित भएकोछ । यद्यपी लकडाउनकाबीच आम नागरिकले विभिन्न सामाजिक सञ्जालमार्फत आमाको मुख हेर्ने दिनलाई मनाएकाछन् ।