नेपालगन्ज: नेपालगन्जमा आईतबार एकैपटक १५ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिए लगत्तै प्रस्तावित लुम्बिनि प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल नेपालगन्ज आइपुगेकाछन् ।
देशमै कोरोना भाइरस देखिएको करिब चार महिना बढि हुनै लाग्दा एकाएक प्रस्तावित लुम्बिनी प्रदेशको बाँके र रुपन्देही जिल्लामा शुक्रबार मात्रै एक–एक जना कोरोना संक्रमित भेटिएका थिए ।
नेपालगन्जमा पहिलो पटक कोरोना भाइरस संक्रमण देखिएपछि बाँके प्रशासनले तदारुक्ता देखाउदै शनिबार विहानैदेखि संक्रमित ब्यक्तिको परिवार र उनको सम्पर्कमा आएका ब्यक्तिहरुको परिक्षणका लागि स्वाब संकलन गरेको थियो ।
संकलित ९० जनाको स्वाब मध्ये ३० जनाको परीक्षण आईतबार सकिएको थियो । जसमध्ये ७ वर्षीया बालिकासहित १५ जना कोरोना संक्रमित भेटिएका थिए भने अझै ६० जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ ।
यसै सिलिसिलामा प्रस्तावित लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री बराल नेपालगन्ज आएर यहाँस्थित विभिन्न सरोकारवालासंग भेट गरि कोरोना भाइरस संक्रमित, आइसोलेसन तथा भावि रणनीतिका बारेमा छलफल गरिरहेको बुझिएकोछ ।
सेतोखरीलाई प्राप्त सूचनाका आधारमा यतिबेला नेपालगन्ज आएका मन्त्री बराल यतिखेर नेपालगन्ज न्यूरोड स्थित न्यू ईन्द्रेणी होटलमा स्वास्थ्यकर्मीसंग बैठक चलिरहेकोछ ।
बाँके आएलगत्तै यहास्थित बाँकेका सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरुसगं मन्त्री बरालको बैठक चलिरहेकोछ । बैठकमा मन्त्री बरालले कोरोनाको अवस्था बुझ्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वाब परीक्षणको दायरा बढाउन निर्देशन दिएको स्रोतले जनाएकोछ ।
सेतोखरीलाई प्राप्त स्रोतका आधारमा मन्त्रीले स्वाब परीक्षण लगायत कोरोना भाइरस संक्रमण रोकथाममा सक्रिय स्वास्थ्यकर्मी लगायतको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्वास्थ्य सामाग्री लगायतको व्यवस्थापन गर्ने बताएका छन् ।
सामाजिक विकास मन्त्री सुदर्शन बरालसगैं सासंद कृष्णा केसी नमुना, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापा, बाँके स्वास्थ्य कार्यालय फोकल पर्शन नरेश श्रेष्ठ लगायतको उपस्थिती रहेको बुझिएकोछ ।