नेपालगन्ज:बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले लकडाउनका निहुँमा सार्वजनिक सडक बन्द गरे कारबाही गर्ने बताएकाछन् ।
सडक सार्वजनिक सरोकारको विषय भएकाले स्थानीय प्रशासनबाहेक कसैले पनि आफूखुशी सडक बन्द गर्ने र खोल्ने गर्न नपाइने उनले बताए ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय सर्वपक्षिय बैठकमा कोरोना संक्रमणको त्रासका कारण नेपालगन्ज उपमहानगरपालिका लगायत जिल्लाभरका सडक स्थानीयले आफूखुशी बन्द गरेपछि यसरी बन्द गरिएका सडक तत्काल खोल्न निर्देशन दिदै बैठकको निर्णय अक्षरस पालना नगरिए जोकोहीलाई कानूनी दायरामा ल्याउने सिडिओ खड्का बताँउछन् ।
नेपालगन्जमा कोरोना भाइरस संक्रमण भेटिएपछि अत्तालिएका बाँकेका स्थानीयले कानूनको उल्लङ्घन गर्दै आफूखुशी सडक बन्द गरेको समाचार सेतोखरीले सोमबार ‘कानूनको उल्लङ्घन गर्दै धमाधम सडक बन्द’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।
सेतोखरीले उक्त समाचार सार्वजनिक गरेसगैं बाँके प्रशासनले कानूनको उल्लङ्घन गर्दै आफूखुशी सडक बन्द गर्ने कार्य तत्काल रोक्न र आम सर्वसाधरणको जिवनशैली सहज बनाउन यस्तो निर्णय भएकोछ ।
कोरोना भाइरस संक्रमित भेटिएसगैं बाँके प्रशासनले हिँड्डुलमा कडाई गरेकै बेला नेपालगन्जसहित जिल्लाभरका सर्वसाधारणले बाहिरबाट आउनेलाई प्रवेश निषेध गरेका छन् । आ–आफ्नो टोलको मुख्य प्रवेशद्वारमा डोरी, बाँसको बार तथा ब्यानर नै टाँगेर प्रवेशमा रोक लगाएका छन् ।
उनीहरुले टोलटोलमा तरकारी, फलफूल, दूध बिक्री गर्न आउनेले कोरोना सार्ने डरका कारण प्रवेशद्वारमा डोरी र तारको बार लगाएको बताउँछन् । यद्यपी यसरी आफूखुशी सडक बन्द गर्नु कानूनको उल्लङ्घन हो । यतिबेला नेपालगन्जका लगभग सवै टोल, वस्ती र गलीमा यस्ता बार र अबरोध खडा गरि सडक पूर्णरुपमा बन्द गरिएकोछ ।
कानून नै हेर्ने हो भने कसैले पनि सार्वजनिक बाटो बन्द गर्न पाउँदैन । सार्वजनिक बाटो कुनै व्यक्ति, समाज वा प्रदेशको अधिकारको क्षेत्र र विषय होइन । नेपालको मैलिक हकले पनि आफ्नो घर जान र आउन पाउने अधिकार दिएको छ । लकडाउन भएपछिको अवस्थामा पनि सर्वोच्च अदालतले सरकारको नाममा घर आउन दिनु भन्ने निर्देशनात्मक आदेश दिइसकेको छ ।
यस्तो अवस्थामा कुनै वडाध्यक्ष, गाउँपालिका वा स्थानीयले आवतजावत नै रोकिने गरी बाटो बन्द गर्न पाउँदैन, त्यो दण्डनीय हुन्छ । तरपनि कोरोना भाइरस संक्रमणको जोखिमलाई भन्दै विभिन्न जिल्ला र स्थानीय तहमा आफूखुसी बाटो बन्द गर्दा पनि सबैतिर प्रशासन भने मौन नै रहेको देखिन्छ ।
आफ्नो ठाँउमा नयाँ मान्छे आउँदा कोरोना फैलिन सक्ने भन्दै बाटो नै बन्द गरेर आवतजावत ठप्प पार्न पाइँदैन । बरु कुनै नयाँ व्यक्ति आएमा उसलाई स्थानीय तहले समन्वय गरेर क्वारेन्टिनमा राख्न सकिन्छ, राख्नुपर्दछ ।
जोखिमको अवधिमा आमनागरिकले समाज र राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्दै आम नागरिकलाई सहज वातावरण सिर्जना गर्नेतर्फ लाग्नुपर्दछ ।
यो पनि पढ्नुहोस्