सतखलुवा तालमा वोटिङ्ग विहारको आनन्द लिदैं आन्तरिक पर्यटक । (तस्विरः कमल न्यौपाने /सद्भाव)
अघिल्तिर घना जङ्गल छ । पछिल्तिर पहाडी र थारूहरूको बाक्लो बस्ती छ । जङ्गलसगैं सटेको सतखलुवा ताल, तालको पूर्वतिर ग्याँग र पश्चिममा भादा खोला छ । पूर्वपश्चिम राजमार्गको बैदीचोकबाट साढे तीन किलोमिटर उत्तर लागेपछि सतखलुवा ताल पर्छ । ताल पुग्नुअगावै फराकिला बाटा, सफा मनोरमदृष्यका बीचमा सतखलुवा होमस्टे छ, जहाँ आउने पाहुनालाई हार्दिकताका साथ स्वागत गरिन्छ । बर्दिया जिल्लाको बारबर्दीया नगरपालिका वडा नम्बर ९ स्थित सतखलुवा पुग्ने जोकोही पर्यटक आनन्दित नभइरहन सक्दैनन् ।
नगरपालिकाभित्र पर्ने भए पनि बाटोमा ग्रामीण जीवनको अवलोकन गर्न सकिन्छ । बर्खायाम होस् वा गर्मी अथवा कठ्यांग्र्रीने चिसो । जङ्गलबाटो छिचोल्दै हिँड्नुको मज्जा बेग्लै हुन्छ । सतखलुवा होम स्टेहुदै १० मिनेट पैदल हिडेपछि सीमसार जङ्गलमै उक्त ताल देखिन्छ ।
सार्वजनिक सवारीमा नेपालगन्जबाट करिब सवा घण्टा हिडेपछि बर्दियाको बासँगढी हुँदै सतखलुवा पुग्न आधा घण्टा लाग्छ । निजी सवारीमा डेढ घण्टामै पुगिन्छ । बर्दियाको ककौरा हुदै कतर्निया पुग्नु अगावै बैदीचोकबाट उत्तरतिर लागेपछि सतखलुवा पुग्न सकिन्छ ।
जैविक विविधताले भरिपूर्ण यो क्षेत्रमा विभिन्न दुई सय पचास भन्दा बढी प्रजातिका चराचुरूंगी, पुतलीका साथै जंगली पाटेबाघ, चित्तल, बँदेल लगायतका जनावर तालमा देख्ने मौका मिल्छ । बाटोमा होमस्टे र साना चियापसल भेटिन्छन् । अर्गानिक तरकारी, फलफूल र दुग्धजन्य पदार्थ ठाउँ–ठाउँमा किन्न पाइन्छ । अर्गानिक खानाका परिकारको स्वाद लिने पारखीलाई स्थानीय तम्तयार रहन्छन् । यसक्षेत्रको प्रबद्र्धन गर्न यहाँका स्थानीय र जनप्रतिनिधी पनि उत्तिकै सक्रिय छन् । सतखलुवा तालको संरक्षण र पुनर्निर्माण गरि ब्यवस्थित गर्ने कार्य पनि सुरु भइसकेकोछ ।
तालको पुनर्निर्माण गर्न तालवरिपरि माटो पटान, तटबन्ध र पानी संरक्षणका लागि सौर्य प्यानल जडान गरि डिप बोरिङबाट पानी पटान भइरहेकोछ । ६० विघा क्षेत्रफलमा फैलिएको उक्त ताल २१ फुट गहिरो छ । तालको पुनर्निर्माण र व्यवस्थित भएमा आन्तरिक तथा बाह्रय पर्यटकलाई थप आकर्षणको स्थल हुनेछ । सतखलुवा ताल संरक्षण समितिका अध्यक्ष सुनिलकुमार चापागाईले पोखरीको वरिपरि ग्राभेल बाटो, पिकनिक स्थल, तालमा बोट विहार र आसपासको क्षेत्र अवलोकन गर्न ४० फिट अग्लो भ्यू टावर निर्माण गरिने बताए ।
सतखलुवा ताल पर्यटकीय गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना बोकेको भए पनि प्रचारप्रसारको अभावमा पछि परेको छ । ताल संरक्षण समितिका सस्थापक उपाध्यक्ष शिवप्रसाद अधिकारीले आर्थिक अभावका कारण आफूहरूले उलेख्य प्रचारप्रसार गर्न नसकेको बताए । तालको निर्माणका लागि हालसम्म एक करोड लगानी भइसकेको उपाध्यक्ष अधिकारीको भनाइ छ ।
बारबर्दिया नगरपालिकाको मध्यवर्ती सामुदायिक वनमा रहेको सुन्दर तालको दृष्यले त्यहाँ आउने पर्यटकलाई लालयित पार्दछ । सतखलुवा ताल पर्यटकीय दृष्टिकोणले निकै रमणीय छ । सामुदायिक वनभित्रको तालमा डुँगा सयरको व्यवस्था गरिएसगैं त्यस वरपरका पर्यटकहरूको
भीड लाग्ने गरेको अधिकारी बताउँछन् ।
सतखलुवा ताल सिमसार क्षेत्रमा पर्ने भएकाले यहाँ २ सय ५० बढि विभिन्न चराहरू देख्न सकिन्छ । उक्त तालमा साइबेरियन चराहरू पनि आउने गरेको उपाध्यक्ष अधिकारी बताउँछन् । बर्दिया राष्ट्रिय निकुञ्जसगैं सटेको उक्त तालमा आहारा र पानीका लागि पाटेबाघ, चित्तल, बँदेल, दुम्सी लगायतका जनावर आउने गरेको उनले बताए ।
‘विभिन्न विशेषता बोकेको तालको प्रशस्त पर्यटकीय सम्भावना रहेको छ । यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सके यहाँ पर्यटकहरूको आगमन हुने देखिन्छ ।’ सतखलुवा सामुदायिक होमस्टेका अध्यक्ष सुरेश आचार्यले भने, ‘आर्थिक अभावका कारण सकेजति प्रचारप्रसार गर्न सकिएको छैन ।’
पर्यटकीय दृष्टिकोणमा सम्भावनायुक्त भएपनि अहिलेसम्म प्रचार प्रसार र पर्यटन पूर्वाधारको अभावले ओझेलमा परेको आचार्य बताउँछन् । बारबर्दीया नगरपालिका र महेन्द्रराजमार्गदेखि साढे तीन किलोमिटरको दुरीमा रहेपनि सरोकारवालाको बेवास्थाले पूर्वाधार निर्माण गर्न नसकिएको उनको गुनासो छ ।
पर्यटकीय सम्भावना बोकेका सतखलुवा ताल र सिमसार क्षेत्रको महत्व एवम् सम्भावनालाई उजागर गर्न सतखलुवा सामुदायिक होमस्टेले अभियान सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष आचार्यले बताए । ‘यहाँ पर्यटक भित्र्याउन प्राकृतिक रूपमा कुनै अभाब छैन, पर्यटन विकासमा न्यूनतम आधारहरू प्रचारप्रसार र राष्ट्रिय निकुञ्जमा हात्ति र घोडामा जंगल सफारी लगायतकोे विकास गर्न सके हामीले आन्तरिक संगै बाह्य पर्यटकहरूलाई समेत भित्र्याउन सक्छौँ भनी लागिपरेका अध्यक्ष आचार्य बताउँछन् । यहाँ लुकेर रहेको सम्भावनालाई उजागर गरि पर्यटन विकास मार्फत ग्रामीण वस्तीको मुहार फेर्न सकिने उनको भनाई छ ।
कसरी रह्यो सतखलुवा नाम
बारबर्दिया नगरपालिका वडा नम्बर ९ मा रहेको सतखलुवा ताल प्राकृतिक ताल हो । सात वटा तालको मुहान मिलेर बनेकाले स्थानीय थारू भाषामा सतखलुवा भनिएको हो । तालको उत्तर, पूर्व र पश्चिम बर्दिया राष्ट्रिय निकुञ्ज छ । पूर्वमा ग्याँग र पश्चिममा भादा खोलाको बिचमा रहेको तालमा वर्खायाम र चुरे पहाडबाट बगेर आएको पानी जम्मा हुन्छ । हालसम्म उक्त तालको पानी सुकेको छैन ।
सिचाँईको मुख्य श्रोत
बारबर्दिया नगरपालिकाको मध्यवर्ती सामुदायिक वनमा रहेको तालको पानी साविकको खैरेनी हाल सतखलुवा गाँउका ३ सय विगाह जमिनमा सिचाई गर्ने मुख्य मुहान हो । तालमा रहेको पानीबाट त्यसक्षेत्रका किसान आफ्नो खेतमा सिचाँई गर्छन् । तालमा रहेको पानीको सदुपयोग गर्ने किसानलाई पानीको अभाव नहोस् भनेर सौर्य प्यानल जडान गरि डिप बोरिङबाट पानी पटानको कार्य चलिरहेकोछ । करिब तीन सय घरधुरीका १४ सय स्थानीयबासी त्यसको प्रत्येक्ष लाभ लिइरहेकाछन् ।
पिकनिक स्पट
पर्यटकीयस्थलको रूपमा विकास हुँदै गइरहेको तालको स्तरउन्नती तथा व्यवस्थापनमा स्थानीय लागेकाछन् । तालमा यतिवेला दुईवटा डुँगा सयरको लागि राखिएको छ । जहाँ आन्तरिक पर्यटकहरूको घुइँचो लाग्छ । प्रतिव्यक्ति एक घण्टाको २० रूपैयाँ र ग्रुपका लागि २ सय रूपैया शूल्कसमेत लिने गरिन्छ । तालवरिपरि ८ मिटर चौडा बाँध र बाँधमा ग्राभेल बाटो निर्माण गरिएकोछ ।
ताल प्रवेशद्वारसगै पिकनिक गर्न आउनेका लागि उचित पानी, शौचालय, आरामका लागि कटेज निर्माण समेत गरिएकोछ । त्यसक्षेत्रको मनोरम दृष्य अवलोकनका लागि ४० फिट अग्लो भ्यू टावर समेत आगामी फाल्गुन महिनाबाट निर्माण गरिदैछ ।
धार्मिक महत्व
सीमसार क्षेत्रमा अवस्थित सतखलुवा तालको यसअघि स्थानीयरूपमा ठेक्कामा माछापालनका लागि दिइन्थ्यो । त्यसक्षेत्रमा एकजना स्थानीय चौकीदार रहन्थे । उनी विहानबेलुका तालको वरिपरि चौकीदारी दिन्थे त्यसक्रममा उनले तीनमुखे नाग देखेँ ।
नियमित रूपमा उनले उक्त नाग पोखरीमा आउन थालेपछि, ती चौकीदारले तालको बीचमा सानो नागमन्दिर बनाई पूजाअर्चना गर्न थाले । नागको बारेमा थाहा पाएका स्थानीयले औपचारिक रूपमा हरेक वर्ष नाग पञ्चमीमा त्यहाँ दूध, फलफूल चढाई भव्य रूपमा पूजाअर्चना गर्न थाले । अहिले नागपञ्चमीमा नागको विशेष पुजा गर्ने परम्परार्ने बसेको सतखलुवा सामुदायिक होमस्टेका अध्यक्ष आचार्य बताउँछन् ।
होमस्टे र विशेषता
सीमसारक्षेत्रभित्र पर्ने सतखलुवा सामुदायिक होमस्टेले सतखलुवाको प्रर्बद्धनमा थप पृष्ठपोषण गरेकोछ । सतखलुवा ताल अवलोकन गर्न आएका जोकोही होमस्टेमा आनन्द लिनेगर्छन् । स्थानीय अर्गानिक खानाका परिकार तथा परम्परागत लोक सँस्कृतिको मनोरञ्जन लिने गर्छन् । घोडा चढीबाट तालको अवलोकन, जहाँ २ सय ५० बढि चराचुरगी, पाटेबाघ, चित्तल र बँदेलले लगायतका जनावर देख्न पाइन्छ ।
स्थानीय परिकारहरूमा लोकल कुखुरा, खसीका मासु, कोदो ढिँडो, रक्सी, सेल, थारू परिकारको स्वाद लिन सकिन्छ । ताल अवलोकन गर्न आउनेलाई उचित खाजानास्ताको समेत प्रर्बन्द्ध मिलाइएकोछ ।
समस्या र चुनौती
सीमसार क्षेत्रमा रहेको सतखलुवा गाँउ, गाँउसगै सटेको तालमा जंगली जनावर आफ्नो आहारा र पानी पीउन आउदाँ मानववस्ती सम्म पस्ने हुँदा मानिस, घरपालुवा जनावर र खेतीवाली नोक्सानी भइरहेकोछ । जंगली जनावरको हुन सक्ने सम्भावित आक्रमण र जोखिम हटाउन ताल वरिपरि काँडेतारबार गरिएको छ । जो अपुग छ ।