बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित
कोरोना भाईरस परीक्षणका लागि बाँकेको नरैनापुरबाट स्वाब संकलन गरिदै । तस्विर: सेतोखरी
नेपालगन्ज : नेपाल–भारत सीमानाकाबाट उद्दार गरि क्वारेन्टिनमा राखिएका ब्यक्तिमा कोरोना भाइरस पोजेटिभ पाइएकोछ । बाँकेको नरैनापुर गाउँपालिकाले नेपाल–भारत सीमामा अलपत्र परेकालाई केही दिन अघिमात्र उद्दार गरि क्वारेन्टिनमा राखेको थियो ।
भारतका विभिन्न ठाँउबाट घर फर्केका ४ सय ४१ जनालाई नरैनापुर गाउँपालिकाले उद्दार गरि क्वारेन्टिनमा राखेकोछ । सोही उद्दार गरिएका मध्ये ४५ जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक शाहले जानकारी दिए ।
बाँकेको नरैनापुरबाट संकलन गरिएका ४५ जनाको स्वाबमध्ये ८ जनामा आज शुक्रबार कोरोना पोजेटिभ देखिएको हो । भने अन्यको नेगेटिभ रहेको पाइएकोछ । योसगैं बाँके जिल्लामा कोरोना संक्रमित संख्या ३३ पुगेकोछ । जिल्लामै पहिलोपटक बाँकेको नेपालगन्जमा कोरोना भाइरस संक्रमित फेला परेका थिए । भने त्यसको ठिक १५ दिनमा जिल्लामै पहिलोपटक गाउँपालिकामा कोरोना संक्रमित भेटिएको हो ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर– १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । भने मकवानपुर जिल्लाका ३७ वर्षीय पुरूष एक पुरुष पनि कोरोना पोजेटिभ पाइएकोछ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेखछ । शुक्रबार विहान बाँकेमा ८ र मकवानपुरका १ जनामा कोरोना भाइरस संक्रमण भेटिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौं र भेरी अस्पताल‚ नेपालगन्जमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएका सबै पुरूषहरू भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म सबैको स्थिति सामान्य रहेको र सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।
यसअघि नरैनापुर क्षेत्रका मन्दिर, मस्जिद लगायतबाट ५६ जनाको स्वाब संकलन गरिएको थियो । उक्त स्वाबका सवै नतिजा नेगेटिभ आएको थियो । नेपालगन्जदेखि २५ किलोमिटर पूर्व रहेको यो गाँउपालिकाको उत्तरपूर्व दाङ र भारत, दक्षिण–पश्चिम डुडुवा गाउँपालिका र भारत तथा उत्तर–पश्चिम राप्ती सोनारी गाउँपालिका रहेकोछ ।