डिएसपीको आडमा पौने १ करोडको निजी गाडीमा ‘नेपाल प्रहरी’ लेखेर सररर ....

त्यसरी चलाउनु कानून विपरित हो कारबाही गर्छौं : एसपी ओली


डिएसपीको आडमा पौने १ करोडको निजी गाडीमा ‘नेपाल प्रहरी’ लेखेर सररर ....

ईप्रका कोहलपुरका डिएसपी कुलदीप चन्दको आडमा स्थानीय माइकल सापकोटाले आफ्नो ना.अ.प.क.१३१४ नम्बरको निजी गाडीमा ‘नेपाल प्रहरी’ लेखेर चलाईरहेको गाडी । तस्विर: दामोदर भण्डारी / सेतोखरी

नेपालगन्ज: कोरोनाका कारण देशभर लकडाउन छ । सर्वसाधारण २ महिनादेखि घरबाट बाहिर निस्कन पाएका छैनन् । तर, बाँके कोहलपुरका एक युवा पौने एक करोडको गाडीमा ‘नेपाल प्रहरी’ लेखेर सररर ... हुँइकिरहेकाछन् । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका डिएसपी कुलदीप चन्दको आडमा स्थानीय माइकल सापकोटाले आफ्नो ना.अ.प.क.१३१४ नम्बरको निजी गाडीमा नेपाल प्रहरी लेखेर चलाईरहेका हुन् ।

सापकोटा मोबाईल बिक्रेता हुन् । ईलाका प्रहरी कार्यालय कोहलपुरसँग जोडिएको सापकोटाको घर छ । आफ्नै घरमा उनले मोबाईल पसल राखेका छन् । डिएसपी चन्दसँग बसेर खानपिन गर्नु सापकोटाको पानी पधेँरो जस्तै हो । त्यसैले सापकोटा ईलाका प्रहरी कार्यालय कोहलपुर भित्र जाउआउ, उठबस जतिखेर पनि खुल्ला छ ।

त्यसकारण मोबाइलफोन बिक्रेता सापकोटालाई कहिल्यै लकडाउनले छोएन । डिएसपी चन्दको संरक्षणमा किया कम्पनीको पौने एक करोड  मूल्य पर्ने किया स्पोर्टेज सेतो रंगको गाडीमा नेपाल प्रहरी लेखेर लकडाउनको सुरुवातदेखि नै सापकोटाले चलाई रहेकाछन् ।

उनी निर्बाधरुपमा नेपालगन्ज कोहलपुर आवतजावत गर्छन् । तर, गाडीको अगाडी र पछाडी ठूलो नेपाली अक्षरमा नेपाल प्रहरी लेखेको देखेपछि बाटोमा चेकजाँच गर्न बसेका कोही पनि सुरक्षाकर्मीले चेकजाँच गर्दैनन् ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले निजी गाडीमा नेपाल प्रहरी लेखेर चलाउनु कानून विपरित भएको बताउँछन् । ‘कि त्यो गाडी प्रहरीले प्रयोग गरेको हुनु पर्यो, हैन भने नेपाल प्रहरी लेखेर चलाउन पाईदैन, म आजै बन्द गराउँछु ।’ एसपी ओलीले सेतोखरीसँग भने । ईप्रका कोहलपुरका डिएसपी चन्दलाई पटक–पटक मोबाइलमा फोन गर्दा पनि रिसिभ गरेनन् ।

एसपी ओलीले भने जस्तो पौने एक करोडको महंगो निजी गाडी नेपाल प्रहरीलाई न अरुले प्रयोग गर्न दिन्छ न माइकलले नै प्रयोग गर्न दिएका छन् । गाडी गुडिरहेको डिएसपी चन्दले नदेखेका पनि होइनन् । किनभने ईप्रकाकै छेउमा माइकल बस्छन् ।

लकडाउनका बेला निजी गाडीमा नेपाल प्रहरी लेखेर किन माईकलले गुडाइरहेका छन् भन्ने विषयमा कोहलपुर प्रहरी र माइकलको भनाइ नै विरोधाभाष छ । दुबैथरीले सेतोखरीलाई आ–आफ्नै प्रतिक्रिया दिए । तर, कुरा बाझियो ।

माइकलले आफ्नो खल्तीको पैसाबाट ड्यूटीमा चोक–चोकमा खटीएका प्रहरीलाई चाउचाउ, फ्रुटी र पानी वितरण गर्नलाई गाडीमा नेपाल प्रहरी लेखेर चलाएको बताए । डिएसपी चन्दले मोबाइल नउठाएपछि ईप्रका कोहलपुरका प्रहरी निरीक्षक रण बहादुर विष्टले माइकलको सहयोग मागेर ईप्रका कोहलपुरले तयार पारेको खानेकुरा ठाउँ–ठाउँमा ड्युटिमा खटिएको प्रहरीलाई पु¥याउन पठाएको बताए ।

‘मेरो खल्तीबाट अहिलेसम्म डेढ लाख जति खर्च भइसक्यो ड्यूटीमा बसेका प्रहरीलाई चाउचाउ, फ्रुटी, पानी, चिसो गाडीमा लगेर खुवाईरहेको छु ।’ माइकलले भने –‘जिल्ला प्रशासनमा पास लिन गए, नदिएपछि नेपाल प्रहरी गाडीमा टाँसेको हुँ ।’

तर, ईप्रका कोहलपुरका प्रहरी निरीक्षक विष्ट भन्छन् –‘ड्यूटीमा बसेका प्रहरी भोकभोकै हुने भए हामीसँग गाडी अभाव थियो । माइकलको गाडी सहयोग मागेर हामीले तयार पारेको नास्ता पु¥याउन लगाएका हौं ।’ दुवै थरीको आपसमा तालमेल मिलेन । नास्ता नै कस्को त ? माइकलले आफुले किनेको डेढ लाख खर्च भइसकेको बताउँछन् भने कोहलपुर प्रहरीले ईप्रकाको नास्ता भन्छ । कोहलपुर प्रहरीले माइकललाई बचाउ गर्न खोजेको देखिन्छ ।

माइकलको गाडी नास्तापानी वितरण मात्र नभएर अन्य प्रयोजनमा गुडीरहेको छ । एसपी ओलीले निजी गाडीमा नेपाल प्रहरी लेखेपछि कि प्रहरीले चलाएको हुनु पर्ने अन्यथा गाडी गुडाउन नपाइने त्यो कानून विपरित हुने भन्दै ठाउँको ठाउँ समातिने बताए । अरु कुनै उपाए नलागेपछि नास्तापानी वितरण गर्ने निँहुमा माइकलले गाडीमा नेपाल प्रहरी लेखेर विभिन्न प्रयोजनमा गुडाइरहेको कोहलपुरका स्थानीय बासिन्दाहरु बताउँछन् । त्यसलाई कोहलपुर प्रहरीले छुट दिएको छ ।