डिआईजीको निर्देशनमा कोहलपुरका डिएसपीमाथि छानविन गर्न डिएसपी सिहंको संयोजकत्वमा समिति गठन


डिआईजीको निर्देशनमा कोहलपुरका डिएसपीमाथि छानविन गर्न डिएसपी सिहंको संयोजकत्वमा समिति गठन

नेपालगन्ज : प्रदेश पाँच नम्बरका प्रहरी प्रमुख डिआईजी रबिन्द्रबहादुर धानुकको निर्देशनमा ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी कुलदीप चन्दमाथि छानविन गर्न छानविन समिति गठन भएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर सिंहको संयोजकत्वमा शनिबार पाँच सदस्यिय छानविन समिति गठन भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर ओलीका अनुसार बाँकेको कोहलपुरका व्यवसायी माइकल सापकोटालाई नीजि गाडीमा नेपाल प्रहरी लेख्न दिएको घटनाका बारे छानबिन तथा अनुसन्धान गर्न छानबिन समिति बनेको छ ।

प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रबिन्द्रबहादुर धानुकको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा बसेको छलफल पछि डिएसपी शिवबहादुर सिंहको संयोजकत्वमा कोहलपुरका डिएसपी चन्दमाथि छानबिन तथा अनुसन्धान गर्न समिति गठन भएको एसपी ओलीले जानकारी दिए ।

सेतोखरीसगं कुरा गर्दै एसपी ओलीले भने कोहलपुरका डिएसपी कुलदीप चन्दमाथि छानबिन हुन्छ । सेतोखरीसगं कुरा गर्दै एसपी ओलीले अगाडी भने ‘प्रदेशबाट पनि निर्देशन आइसकेको छ । जिल्लामा पनि समिति बनिसक्यो । उक्त घटनाका बारे आईतबारदेखि नै गम्भीररुपमा अनुसन्धान हुन्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

एसपी ओलीले अहिले अनुसन्धानका लागि कोहलपुरका डिएसपी चन्दसँग छानबिन समितिले कुरा बुझ्ने र आवश्यक परे उक्त घटनामा जोडिएका कोहलपुरका व्यवसायी सापकोटामाथि पनि छानबिन गरिने बताए ।

सेतोखरी अनलाइनले शुक्रबार ‘डिएसपीको आडमा पौने १ करोडको निजी गाडीमा ‘नेपाल प्रहरी’ लेखेर सररर’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेपछि प्रदेश प्रहरी प्रमुख डिआईजी धानुकले बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीलाई तत्काल उक्त घटनाका बारे अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

डिआईजी धानुकको निर्देशनपछि बाँके प्रहरीले छानबिन समिति बनाएको हो । कोहलपुर घटनाका बारे बुझ्न छानबिन समिति बनेको सुनेको छु जिल्ला प्रहरी बाँकेका डिएसपी तथा छानबिन समितिका संयोजक शिवबहादुर सिंहले भने ‘कार्यालयबाट छानबिनको आदेशात्मक पत्र आएको खण्डमा आईतबारबाटै कोहलपुर घटनाका बारे छानबिन तथा अनुसन्धान शुरु गरिनेछ ।’

डिआईजी धानुकले लकडाउनको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी चन्दले के कति करणले स्थानीय माइकल सापकोटाको गाडीमा नेपाल प्रहरी लेख्न दिइयो ? र दुवैजनाबीचको सम्बन्ध के हो ? राम्रोसंग अनुसन्धान गरि सवै रिर्पोट तुरुन्त पठाउनु भनि बाँकेका एसपी ओलीलाई निर्देशन दिएका छन् ।

डिआइजी धानुकको अनुसन्धान निजि गाडीमा नेपाल प्रहरी लेखि चलाउन दिएको विषयलाई लिएर डिएसपी चन्दमाथि केन्द्रित रहनेछ । डिआईजी धानुकले उक्त घटनाको अनुसन्धानका लागि शनिबार नै छानबिन समिति गठन गर्न पनि बाँकेका एसपी ओलीलाई कडा निर्देशन दिएका हुन् । छानबिनपछि दोषीमाथि कानूनी कारबाही अघि बढाउन पनि डिआईजी धानुकले एसपी ओलीलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरीका पूर्व डिआईजी तपेन्द्रध्वज हमालले कुनैपनि ब्यक्तिले निजि गाडीमा नेपाल प्रहरी लेखेर हिड्नु र लेख्न दिनु दुवै कानून विपरित भएको बताए ।

‘बहालवाला नेपाल प्रहरीका अधिकृतले त आफ्नो निजि गाडीमा नेपाल प्रहरी लेखेर हिड्नु कानून विपरित मानिन्छ भने, बाहिरको ब्यक्तिले पाउने कुरै भएन ।’ पूर्व डिआइजी हमालले अगाडी भने–‘कसैको निजि गाडी नेपाल प्रहरी लेखेर प्रहरीले प्रयोग गर्छ भने त्यो गाडी पुरै प्रहरीको अधिनमा रहनुपर्छ र चालकदेखि त्यसमा सवार सवै प्रहरी नै रहनुपर्छ । अन्यथा नेपाल प्रहरी लेख्न दिने ब्यक्ति र लेखेर हिड्ने ब्यक्ति दुवै कारबाहीका भागेदार बन्नुपर्छ ।’

शनिबार गठित छानबिन समितिले कोहलपुरको उक्त घटनामा संलग्न माइकल सापकोटा र डिएसपी कुलदीप चन्दमाथि अनुसन्धान गर्नेछ । सामान्य एउटा पसल गरेर बसेको व्यक्तिले यसरी लाखौं मूल्यको राहत निःशूल्क कसरी वितरण गर्न सक्यो ? कुन उद्देश्यले वितरण गरिरहेको हो ? गाडीमा नेपाल प्रहरी लेखेर किन चलाईरहेको छ ? अहिले प्रहरीको अनुसन्धनको चासोको विषय बनेकोछ । यस सन्दर्भमा पनि उक्त छानबीन समितिले व्यवसायी माइकल सापकोटा लगायतको आम्दानी स्रोत र सम्पत्ति विवरण पनि खोज्ने भएको छ ।

यो पनि पढ्नुहोस्

डिएसपीको आडमा पौने १ करोडको निजी गाडीमा ‘नेपाल प्रहरी’ लेखेर सररर ....

कोहलपुरका डिएसपीमाथि छानबिन गर्न डिआइजीको निर्देशन