कोहलपुरका डिएसपीमाथि छानबिन गर्न एसपीको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिदैं

डिएसपीमाथि छानबिन गर्न डिएसपी पठाउनु निष्पक्षतामाथि प्रश्न उठ्छ : मानवअधिकार आयोग


कोहलपुरका डिएसपीमाथि छानबिन गर्न एसपीको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिदैं

नेपालगन्ज: ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी कुलदीप चन्दमाथि छानबिन गर्न एसपीको संयोजकत्वमा अर्को छानबिन समिति गठन हुने भएको छ । डिएसपीमाथि छानबिन गर्न डिएसपी नै संयोजक हुनु उचित नहुने चौतर्फी जनगुनासो बढेपछि कोहलपुरका डिएसपी चन्द माथि छानबिन गर्न एसपीको संयोजकत्वमा नयाँ छानबिन समिति गठन हुने भएको हो ।

लकडाउनको समयमा कोहलपुरका डिएसपी चन्दले स्थानीय माइकल सापकोटालाई उनकै निजि गाडीमा ‘नेपाल प्रहरी’ लेखेर चलाउन अनुमति दिएकाले प्रदेश नम्बर ५ का डिआईजी रबिन्द्र बहादुर धानुकले डिएसपी चन्दमाथि छानबिन गरी प्रतिबेदन पेश गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर ओलीलाई निर्देशन दिएका छन् ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय, बाँकेका डिएसपी शिवबहादुर सिंहको संयोजकत्वमा शनिबार पाँच सदस्यिय छानबिन समिति गठन भएको थियो । छानबिन समितिका संयोजक डिएसपी सिंह र छानबिनको घेरामा परेका कोहलपुरका डिएसपी चन्द एउटै व्याचका समकक्षी साथी हुन् ।

राष्ट्रिय मानवअधिकार आयोग शाखा कार्यालय नेपालगन्जका उप निर्देशक चन्द्रकान्त चापागाईँले सोही दर्जाको व्यक्तिलाई छानबिन गर्न सोही दर्जाकै व्यक्ति खटीनु न्याय संगत नहुनेसक्ने बताए । ‘कोहलपुरको घटनामा डिएसपीमाथि छानबिन गर्न डिएसपी नै छानबिन समितिको संयोजक भयो भने त्यस्तो छानबिनको निष्पक्षतामाथि प्रश्न उठ्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

निर्देशक चापागाईँले सेतोखरीसँग भने –‘विश्वव्यापी मान्यतालाई हेर्ने हो भने जुन पद धारण गरेको व्यक्ति छ, उसमाथि छानबिन गर्दा एक तह माथिको हुनुपर्छ, तब न उसले हरेक कुराहरु गहिरिएर अध्ययन अनुसन्धान गर्न सक्छ । समकक्षीसँग त उसले कसरी प्रभावकारी अनुसन्धान सोधपुछ गर्न सक्छ र ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओलीले कोहलपुरका डिएसपी चन्दमाथि छानबिन गर्न एसपीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने तयारी भइरहेको बताए । ‘डिएसपीलाई छानबिन गर्न डिएसपी नै छानबिन समितिको संयोजक हुनु त्यती सान्दर्भिक हुँदैन भन्ने कुरा आएपछि एसपीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने कुरा भइरहेको छ ।’ एसपी ओलीले भने ‘डिआईजी सापसँग छलफल गरेर फाईनल हुनेछ ।’ एसपी ओलीले छानबिन समितिको प्रतिवेदन आइसकेपछि दोषी भेटिए कोहलपुरका डिएसपी चन्दमाथि कारबाही हुने बताए ।

सेतोखरीले शुक्रबार–‘डिएसपीको आडमा पौने १ करोडको निजि गाडीमा ‘नेपाल प्रहरी’ लेखेर सररर’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेपछि प्रदेश प्रहरी प्रमुख डिआईजी धानुकले बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीलाई तत्काल उक्त घटनाका बारे अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

डिआईजी धानुकले लकडाउनको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी चन्दले के कति करणले स्थानीय माइकल सापकोटाको गाडीमा नेपाल प्रहरी लेख्न दिइयो ? र दुवैजनाबीचको सम्बन्ध के हो ? राम्रोसंग अनुसन्धान गरि सबै रिर्पोट तुरुन्त पठाउनु भनि बाँकेका एसपी ओलीलाई निर्देशन दिएका छन् । डिआईजी धानुकको अनुसन्धान निजि गाडीमा नेपाल प्रहरी लेखि चलाउन दिएको विषयलाई लिएर डिएसपी चन्दमाथि केन्द्रित रहनेछ ।

यता कोहलपुरका डिएसपी चन्द सम्पर्कमा आउन चाहदैनन् भने निजि गाडीमा नेपाल प्रहरी लेखेर चलाउने माइकल सापकोटाले जिल्ला प्रशासन कार्यालय बाँकेले सवारी पास नदिएपछि डिएसपी चन्दको अनुमतिमा निजि गाडीमा नेपाल प्रहरी लेखेर खाद्यान्न तथा पानी वितरण गर्न हिँडेको बताएका छन् । सापकोटाले एक लाख ५० हजार मुल्य बराबरको प्रहरीलाई चाउचाउ, पानी, चिया, फ्रुटी वितरण गरिसकेको बताए । सापकोटाको घर र ईलाका प्रहरी कार्यालय कोहलपुरसँगै जोडिएर रहेकाछन् । त्यहि घरमा सापकोटाको मोबाईल पसल र होटल रहेको छ ।

नेपाल प्रहरीका पूर्व डिआईजी तपेन्द्रध्वज हमालले कुनैपनि ब्यक्तिले निजि गाडीमा नेपाल प्रहरी लेखेर हिड्नु र लेख्न दिनु दुवै कानून विपरित भएको बताए ।

‘बहालवाला नेपाल प्रहरीका अधिकृतले त आफ्नो निजि गाडीमा नेपाल प्रहरी लेखेर हिँड्नु कानून विपरित मानिन्छ भने, बाहिरको ब्यक्तिले पाउने कुरै भएन ।’ पूर्व डिआईजी हमालले अगाडी भने–‘कसैको निजि गाडी नेपाल प्रहरी लेखेर प्रहरीले प्रयोग गर्छ भने त्यो गाडी पुरै प्रहरीको अधिनमा रहनुपर्छ र चालकदेखि त्यसमा सवार सबै प्रहरी नै रहनुपर्छ । अन्यथा नेपाल प्रहरी लेख्न दिने ब्यक्ति र लेखेर हिड्ने ब्यक्ति दुवै कारबाहीका भागेदार बन्नुपर्छ ।’