बाँकेमा कोरोना संक्रमित ४७ जनाको कन्त बिजोग

पहिचान भइसक्दा पनि प्रशासनले संक्रमितलाई आइसोलेसनमा राख्न सकेन, संक्रमितहरु कोरोना नलागेकाहरुसगैं क्वारेन्टिनमा बस्न बाध्य


बाँकेमा कोरोना संक्रमित ४७ जनाको कन्त बिजोग

नेपालगन्जः बाँकेमा सोमबार पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ पुष्टि भएका संक्रमितहरु क्वारेन्टिनमै अलपत्र अवस्थामा रहेकाछन् ।
कोरोना पुष्टि भएका ४७ जना बाँकेको दुर्गम मानिने नरैनापुर क्षेत्रका क्वारेन्टिनमा रहेकाछन् । उनीहरु यतिबेला बिजोग अवस्थामा छन् । न खाने गास पाइरहेका छन् भने न सुत्ने ठाँउ नै राम्रो पाइरहेकाछन् । ४० डिग्रीको तापक्रममा टिनको छानामुनी गर्मी र मच्छरको टोकाईकाबीच छटपटाउदैँ रात कटाइरहेकाछन् ।

न संक्रमितहरुलाई आफू संक्रमित भएको थाहा छ । न त संक्रमित नभएकाहरुलाई उनीहरु संक्रमित हुन भन्ने थाहा छ । कोरोना पुष्टि भइसके पनि ती ४७ जना कोरोना नदेखिएकाहरुसगैं एउटै क्वारेन्टिनमा बस्न बाध्य भएकाछन् ।

बाँके जिल्लामा एकैदिन ठूलो संख्यामा संक्रमित भेटिएपछि जिल्लाभर सन्त्रास छाएकोछ । न मान्छेहरुको आवागमन व्यवस्थित छ । न क्वारेन्टिनमा राखिएकाहरु व्यवस्थित छन् । न त कोरोना पोजेटिभ देखिएकाहरु सुरक्षित तवरले आइसोलेसनमा बस्न पाएकाछन् । प्रशासनको चरम लापरबाही र स्थानीय निकायसगं समन्वय अभावमा लकडाउनको दुई महिना वितिसक्दा पनि सबै कुरा व्यवस्थित हुनसकेको छैन ।

जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी पाएका बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको झन् कोरोनाको महामारीको अवस्थामा मोबाइल अफ रहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना पुष्टि भएपनि बाँके प्रशासनले उनीहरुलाई छुट्टै आइसोलेसनमा राख्न सकेको छैन । झण्डै तीन सय जनाको संख्यामा क्वारेन्टिनमा रहेकाहरुबीचनै सोमबार पोजिटभ भेटिएका ४७ जना संक्रमितहरुसगैं बसेका छन् ।

जिल्ला प्रहरी बाँकेका एसपी वीरबहादुर ओलीका अनुसार कोरोना पोजेटिभ देखिएका ४७ जनालाई ब्यवस्थित तरिकाले राख्नका लागि सोमबार अबेर राती ८ बजेसम्म जिल्ला स्थित सुरक्षा समितिको बैठक बसेपनि उनीहरुलाई ब्यवस्थापन गर्न नसकेको बताए ।

कोरोना संक्रमितहरुलाई नै हामी कोरोना संक्रमित हो भन्ने अहिलेसम्म थाहा छैन । संक्रमित ४७ जना क्वारेन्टिनमा बसेका ३ सय जनाहरुसगैं अहिलेसम्म घुलमिल गरेर बसेका छन् । यसले पनि थप संक्रमण बढ्न सक्ने जोखिम देखिएकोछ ।

‘संक्रमितहरुलाई नरैनापुर स्थित स्वास्थ्य कार्यालयको भवनमा राख्ने कुरो सुरक्षाकर्मीको छलफलबाट निर्णय भएको छ । मेडिकल कलेजहरुबाट बेड मागेका छौं, अहिले राती भइसक्यो भोली विहानसम्म बेडहरु लगेर संक्रमितहरुलाई राखिनेछ ।’ एसपी ओलीले सेतोखरीलाई जानकारी दिदै भने–‘नरैनापुर क्षेत्रका ३/४ वटा क्वारेन्टिनमा सबै संक्रमित र संक्रमित नभएकसगैं बसेका छन् । त्यहाँबाट कोरोना पोजेटिभ देखिएकाहरुको नाम लगेर क्वारेन्टिनमा बसेकाहरुबाट नाम बोलाउदै पहिचान गर्दै गर्नुपर्छ । राती भइसकेकाले सम्भव भएन भोली पहिचान गरेर स्वास्थ्य कार्यालयको भवनमा राख्नेछौं ।’

बाँकेमा आइसोलेसन बेड नभएपछि कोरोना पोजेटिभ भेटिएका संक्रमितहरु अलपत्र अवस्थामा रहनपुगेका छन् । सरकारले नेपालगन्ज स्थित नेपाल प्रहरीको अस्पताल र नेपाली सेनाको अस्पताललाई कोरोना अस्पताल घोषणा गरेपनि ती अस्पतालहरुमा कोरोनाका विरामीलाई राख्न नदिदाँ संक्रमितहरुको बिजोग हुन पुगेकोछ ।