नरैनापुरका कोरोना संक्रमितलाई सेनाद्वारा नेपालगन्ज ल्याउन शुरु, रातीसम्म सबै जनालाई ल्याइसक्ने


नरैनापुरका कोरोना संक्रमितलाई सेनाद्वारा नेपालगन्ज ल्याउन शुरु, रातीसम्म सबै जनालाई ल्याइसक्ने

File Photo

नेपालगन्जः बाँकेको नरैनापुर गाउँपालिकामा रहेका कोरोना संक्रमितलाई नेपालगन्ज ल्याउन थालिएको छ । नेपाली सेनाले एम्बुलेन्समा राखेर कोरोना संक्रमितलाई नेपालगन्ज ल्याउन शुरु गरेको हो । मङ्गलबार बेलुकादेखि ल्याउन शुरु गरिएको हो ।

संक्रमितहरुलाई नेपालगन्जको लायन्स डेण्टल हस्पिटल र पिपरीको कृषि विकास तालिम केन्द्रको आइसोलेसनमा राखिनेछ । नरैनापुर क्षेत्रमा रहेका कोरोना संक्रमितलाई नेपालगन्ज ल्याउन यसअघि स्थानीयले अबरोध गरेका थिए ।

स्थानीय सीमित ब्यक्तिहरुले फैलाएको अफवाह र हल्लाका कारण कोरोना संक्रमित ब्यक्तिका परिवारले उनीहरुलाई नेपालगन्ज लैजान दिएका थिएनन् । दिनभर पहल गर्दा पनि अवस्था सामान्य नभएपछि नेपालगन्जबाट गएको नेपाली सेनाको टोलीले स्थानीयलाई सम्झाई बुझाई गर्दा मानेको नरैनापुर गाउँपालिकाका प्रेस सल्लाहकार नविन गिरीले सेतोखरीलाई जानकारी दिए ।

सेतोखरीसंग कुरा गर्दै प्रेस सल्लाहकार गिरीले भने–‘केही ब्यक्तिका कारण नरैनापुर क्षेत्रका क्वारेन्टिनमा तानव सिर्जना भएको थियो । तर, यतिबेला स्थानीय निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतको समन्वयमा स्थिती सामान्य भएकोछ ।’

Kanti Aarogya Hospital Nepalgunj

‘दिनभर भएको तनावका बीच नेपालगन्जबाट गएको नेपाली सेनाको टोलीले सम्झाएपछि बेलुका मात्र नरैनापुर गाउँपालिका लक्ष्मणपुरको क्वारेन्टिनबाट १२ जनालाई दुई ओटा एम्बुलेन्समा राखेर नेपाली सेनाले नेपालगन्ज ल्याउन थालेकोछ ।

प्रेस सल्लाहकार गिरीले अगाडी थपे–‘थप क्वारेन्टिनमा रहेकालाई समन्वय गरेर ल्याउने तयारी भइरहेकोछ । रातीसम्म सबैलाई आइसोलेसनमा राखिनेछ ।’