विशाल नेपाल राज्यको एकिकरणको सवालमा गोर्खाली सेनाले सन् १७९० देखी १८१५ सम्म २५ वर्ष कुमाउँगढवाल अनि सतलज नदीसम्म राज्य बिस्तार गरी शासन चलाएको ईतिहास छ । सन् १७९० अर्थात संबत् १८४७ चैत्र कृष्णपक्ष प्रतिपदाका दिन गोर्खाली सेनाले महाकाली नदी पार गर्दै, हालको उत्तराखण्डको अल्मोडामा आक्रमण गरी त्यहाँका राजा महेन्द्र चन्दलाई परास्तगरी काली पारीसम्म आफ्नो देशको सीमा बिस्तार गरेका थिए ।
यस्तो महान कार्यको थालनी गर्दा गोर्खाली फौजले कुमाउँका तत्कालिन राजनितिज्ञ हर्षदेव जोशीलाई आफ्नो पक्षमा मिलाउन सकेको र अल्मोडा विजयका समय तिनी जोशी पनि गोर्खाली फौजको साथमा रहेका थिए । त्यसबेला गोर्खाली सेनाको नेतृत्वमा चौतरिया बहादुर शाह, काजी जगजित पाँडे, श्री अमरसिँह थापा र सुरसिंह थापा थिए ।
कुमाउँमा हाम्रो पकडपछि, यस्तो सामरिक महत्वको नेपाली सपनालाई बृहतरुपमा अगाडी बढाउनु पर्ने स्थानमा कान्तिपुरको राजनिती भनेर रस्साकस्सीमा अल्झिन पुगेको देखिन्छ । अदूरदर्शी राजा रणबहादुर शाह अनि उनका रानीहरु र भाई भारदारहरुको बिचमा शक्तीको लडाईमा राज्य बिस्तार जस्तो महत्वपूर्ण कार्य पनि कमजोर हुँदै गयो । यता शक्तिमा जो आयो उसकै पक्षधरलाई महाकाली पारीको बागडोर सुम्पिएको ईतिहासमा देखिन्छ । यसरी दिगो राज्य सञ्चालन र त्यहाँका जनतालाई आफ्नोपक्षमा ल्याउन नसक्नु पनि तत्कालिन शासकहरुको अकर्मण्यमा लिनु पर्दछ ।
यसै सन्दर्भमा सन् १७९३ तिर सेनापती कालु पाँडेको नेतृत्वलाई कुमाउँको रेखदेखमा खटाईयो भने उनका साथमा शासन ब्यवहार मिलाउनका जीनर शाह अनि नायब रामदत्त शाहीलाई नियुक्त गरियो । यस टोलीले कुमाउँमा केहि स्थानीयकरहरुको ब्यवस्था गरेको देखिन्छ्, जस्तै जमिन कर, बालिग कर, राज कर ईत्यादी । तुरुन्तै फेरी सन् १७९४ मा सुब्बामा श्री अजबसिंह खवास, श्री शेष थापा कामदार र श्री जसवँत भण्डारी फौजी सरदार नियुक्त भए । यता कान्तिपुरको चौतारीया र थापाहरुको दुई दलबिच राजनैतिक रस्साकस्सीबिच कुमाउँमा पनि राजनैतिक पकडमा सुस्ता आईरह्यो । यताबाट खटाईएकाको ध्यान पनि बढीजसो केन्द्रिय राजनितीतर्फ नै रहीरह्यो अनि तीनले त्यताका जनताबिच कुनै रिझाउन सक्ने कार्य पनि गर्न सकेनन् ।
सन् १७९५ मा फेरी सुब्बा श्री अमरसिंह थापा, नायब सुब्बा श्री गोबिन्द उपाध्याय, र सेनापती श्री भक्ती थापालाई कुमाउँका प्रधानको रुपमा खटाईयो । त्यती मात्रै होईन, १७९६ मा फेरी ईनको स्थानमा श्री प्रवल थापा र श्री जयकृष्ण थापालाई नियुक्त गरियो । यसरी एकपछी स्थानीय नेतृत्वमा परिवर्तन गर्नुलाई कुनै राजनैतिक चुकको रुपमा पनि बुझ्न सकिन्छ ।
वर्तमानको जस्तै बारमबार ब्यक्ती परिवर्तन लेस्थानीय राजनिती र समाज सुधारका कामहरु निस्कृय प्राय देखिएको पनि ईतिहासमा भेटिन्छ । करको दायरा मात्र बढाउनु अनि जनकल्याणका कार्यहरुमा तदारुकता नदेखाउनुले गर्दा कमैया जनताको बिश्वास जित्न धेरै हदसम्म सक्षम नभएको पनि देखिन्छ । ईस १८०३ मा गोर्खाली फौजले गढवालमा आक्रमण गर्यो, लँगुरगढको लडाईमा गोर्खालीहरुले बडो वीरताका साथ गढवाली फौजलाई परास्त गर्यो, सेनाको नेतृत्व श्री अमरसिँह थापा, चौतरिया हस्ति दल शाह, चौतरिया बम शाह, रणजोर थापाले गरेका थिए भने यो सेनाको तुकडीले बडोरण कौशलको प्रदर्शन पनि गरेको थियो । त्यस लगत्तै गढवाली राजा प्रधुम्न शाह उनको सेना, छिमेकी गुज र राजा रामदयाल सिंहको सेना सहितको १२००० फौज सहित देहरादून समिपको खुडबुडामा भनिने स्थानमा लड्न आएपनि आखिर परास्त भए ।
यसरी गढवालको बिभिन्न किल्लाहरुको विजय पश्चात त्यहाँको शासन ब्यवस्था मिलाउन काठमाण्डौंबाट सन् १८०५ मा श्री ऋतुध्वज थापा, श्री विजयसिँह शाही, श्री मिथुनदास कायस्थ, श्री जयनारायन, श्री हरीदत्त ओझा त्यहाँ खटाईए र नयाँ ब्यवस्थाको थालनी गरेको कुरो ईतिहासमा पाईन्छ । यसै सन्दर्भमा गोर्खालीहरुले पहाडका प्रसस्त उब्जाउ हुने बिभिन्न स्थानका जग्गा जमिनहरुलाई गुठीको रुपमा परिणत गरी त्यस्को आम्दानी प्रशिद्ध केदारनाथ, बद्रीनाथ लगायतका मठ मन्दिरहरुलाई अख्तियारी दिएको तथ्यहरु पनि छन् । गोरखाली शासकहरुले त्यहाँका पुराना ऐतिहासिक मठ, मन्दिरहरुको दस्तुर दुरुस्त राखन, जिर्णोदार गर्न, नयाँ मन्दिरहरु बनाउने कार्यहरु पनि गरे । गोर्खाली फौजमा स्थानीय कुमाउँ गढवाल लगायत भावरका स्थानीयहरुलाई भर्ती पनि गरिए ।
यसैबिचमा कुशल रणनिती र युद्ध कौशलका कारणले अल्मोडा, सिरा, सोर, देहरादुन, जौन सार, भावर मात्र हैन, ब्रिटिस शासित झण्डै २०० वटा गाउँहरु पनि यस २५ वर्षको दौरानमा नेपालको अधिनमा आईसकेको थियो । ब्रिटिसहरु पनि अनाहक गोर्खालीहरुसँग उल्झिन चाहदैन थिए । उनले गोर्खालीहरुले जितेको भू–भाग बाहेकको स्थानमा आफुलाई सँतुष्ट राखेका थिए । तर, ब्यापार गर्न आएका ईनीहरुलाई गोर्खालीहरुले भोट (तिब्बत) जाने सम्पुर्ण बाटोहरु रोकी दिएकोमा चिन्ता चाहिँ थियो । यसको उपायहरु खोज्न ईनका रणनितिकार लागी परेका पनि थिए ।
राजनिती गर्न खप्पिसई अङ्ग्रेजहरुले आसपासका साना राज्यहरुलाई गोर्खाली शक्तिका बिरुद्ध तयार पनि पार्दै गरेका थिए । युद्धमा हारेका राजाहरु अङ्ग्रेजहरुसँग मिलेका थिए ।
यता नेपालको केन्द्रको रस्साकस्सीको राजनिती उस्तै थियो, भोट तिरको खिचलो अनि युद्धग्रस्त सेनालाई सम्पूर्ण तवरले खुशी पार्न कठिन पनि भाईरहेको थियो । अङ्ग्रेजहरु स्थानीय लगायत गोर्खाली सैनिकहरुलाई पनि आफ्नो सेनामा मिलाउन भरमग्दुर प्रयासरत थिए । आफ्ना गुप्तचरहरु मार्फत नाना किसिमका प्रलोभनहरु देखाई रहेका हुन्थे । यसबिच कुमाउँ गढवालमा आफ्नो आधिपत्य जमाउन अङ्ग्रेजहरु प्रयासरत थिए । मौका र सँगठनको प्रतिक्षा गर्दै पनि थिए । यही रणनितीलाई मुर्तरुप दिन देहरादूनको नालापानी किल्लामा आफ्ना ४०० सैनिकहरुसँग तैनात सेनापती बलभद्र कुँवरलाई हराउन मेजर जनरल जिलेस्पीको नेतृत्वमा ३५०० को सेना पठायो । नालापानीको युद्धमा आफ्ना मुठ्ठी भर सेनाको नेतृत्व गर्दै जुन बहादुरीका साथ सेनापती श्रीबलभद्र कुँवरको सेनाले एक महिना सम्म युद्ध लड्यो, त्यो नेपालको ईतिहासमा सुनौलो अक्षरले लेखिएको छ ।
अन्तत छलकपटको माध्यमले, दुर्गमा जाने पानी र रसदको मुहान रोक्दै अङ्ग्रेजको जित हुन गयो । भोकै प्यासै लड्दै वीर बलभद्र आफ्ना केहि ७०–८० सेनाका साथ रातको अँध्यारोमा त्यो किल्ला छोड्नु पर्यो । नालापानी दुर्ग विजय पश्चात, मनोबल बढेको ब्रिटिस अधिकारीहरु अब नेपालको तराईको काशीपुरमा आफ्नो हेडक्वाटर बनाई कुमाउँतर्फ विजय गर्ने रणनिती बुन्न थाले । यिनलाई कुमाउँ जित्दै भोटसम्म ब्यापार गर्ने बाटो तयार गर्नुथियो । यो मनसायलाई मुर्तरुप दिन उनीहरु कुनै पनि हदसम्म जाने सक्ने थिए ।
गोर्खाली बिरोधी रजौटाहरुको साथ पनि तिनीहरुलाई थियो नै । यता, अङ्ग्रेजहरुको योजनाको भनक पाउने बितिक्कै चौ. हस्तिदल शाहले तराईको खैरागढ अनि सारदा किनारको बनबासामा मजबुत फौजी किल्ला निर्माण गराए । उनकै बिद्धीमत्ताले स्थानीय ब्यक्तिहरुलाई पनि फौजमा जागिर दिईयो । यसै उदाहरणको स्वरुप रुद्रपुरका जमिन्दार शाहवलीलाई पहाड तलेटीको अफिसर नियुक्त गरिएको थियो । उनका साथै कैयांै अन्य स्थानीय पनि गोरखाली फौजका हिस्सा थिए ।
नेपाली सेनाका कुशल नेतृत्वकार श्री अमरसिँह थापा लगायतका अन्य वीरहरुको प्रयासले गर्दा नै भोट सीमाना हुँदै नेपालले, गढवालको सीमाना श्रीनगरसम्म आक्रमण गर्यो । सन् १८०४ मा गढवालका राजा प्रधुम्न शाहलाई हराउँदै, यमुनासम्मको भू–भागमा नेपालको आधिपत्य हुन गयो । यसको एक वर्षभित्र उत्तर पश्चिम अञ्चलका सानातिना राज्य पनि हाम्रो अधिनमा आए । यसैको फलस्वरुप नेपालको सीमाना अब सतलज नदिको किनारासम्म हुन गयो ।
सतलज पारी काँगडा हुँदै कश्मिरसम्म पुग्ने गोर्खालीहरुको योजना पनि थियो । काँगडाका राजा संसार चन्द थिए । उनी आसपासका अन्य रजौटाहरु भन्दा शक्तिशाली पनि थिए । तर, पनि उनी गोर्खाली फौजको वीरतादेखी डराएका नै थिए । यस प्रकार संसार चन्दसँग पराजित आसपासका राजाहरुलाई साथ लिँदै बिभिन्न स्थानमा संसार चन्दका सेनालाई हराउँदै श्री अमर सिँह थापाको सेनाले चन्द सेनालाई सुर्जनपुराको युद्धमा हराई काँगडा किल्ला भित्र लुके र बस्न बाध्य पारेका थिए । अब यसरी काँगडा बाहेकका सम्पूर्ण राज्यहरु नेपालको अधिनमा आईसकेको थियो । यसै बिच काँगडा दुर्ग फत्ते गर्ने पहिलो प्रयासको युद्धमा भिमसेन थापाका भाई नयनसिँह थापा शहिद हुन पुगेका थिए ।
काँगडा किल्ला भित्र मात्रै आफुलाई सिमित राखेर बसेका संसार चन्दले, दुर्ग भित्रबाटै आफुलाई बचाउन गरेका योजनाहरु बाहिर घेरा हाली बसेका गोर्खाली फौजले चाल पाउन सकेनन् । संसार चन्दले भित्रभित्रै गोर्खालीहरुले किल्ला छोड्न दिएको समयमा नै पँजाबका शक्तिशाली महाराज रणजित सिंहसँग गुहार मागी राजनैतिक सँधीको कुरो अगाडी बढाई सकेको, अमरसिंहको सेनालाई भनक नै भएन ।
यसरी, गोर्खाली सेनाले तत्काल नै आक्रमण नगर्नु, कुरेर बस्नु, भित्रको कुटिल राजनीती बुझ्न नसक्नु, तीनका गुप्तचरहरुको बाहिरी भित्री गतिबिधी बुझ्न नसक्नु कता–कता, ईनको सामरिकरण नितीमा भएको कमी कमजोरीको रुपमा हेर्न सकिन्छ । यो उचित मौका थियो, कुनै अन्य गतिबिधी भन्दा पहिले नै शाम, दाम, डण्ड भेदका आधारमा आक्रमण गरी हाल्नु पर्ने थियो ।
यत्रो ठूलो दुर्गलाई जित्न गएको सेनाको टुकडीलाई, काठमाण्डौंले पनि अझै मजबुत बनाउन थप शैन्य शक्ती सहयोग नगर्न सकेको पनि यहाँ देखिन्छ । यसरी, अन्तत्वगत्वा सिक्खर चन्द सेनाको सँयुक्त आक्रमणमा बीरताका साथ लड्दै, गोर्खाली फौजले २४ अगस्त १८०९ मा दुर्गको घेरा छोड्नु पर्यो ।
यसरी, बिशाल नेपाल अधिराज्य बनाउन खोजिएको सपना यहिँबाट तुहिएको देखिन्छ । यता भारतमा अझै शक्तिसाली बनेर गएको अङ्ग्रेज हुकुमतले अनेक छल कपट र हाम्रा सेनासँग युद्ध गर्दै गरेको सुगौली सन्धी पश्चात आजको हाम्रो मुलुकको स्वरुप कोरिन पुगेको हो ।