१५२ ले कोरोना जितेर घर फर्के, एक संक्रमित भागे
File Photo
नेपालगन्ज: नेपालगन्जको भेरी अस्पतालमा गरिएको परीक्षणबाट बाँकेमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । योसगैं बाँकेमा कोरोना संक्रमित संख्या २ सय ९५ पुगेकोछ ।
बैशाख १९ गते पहिलोपटक बाँकेको नेपालगन्जमा एकजना बृद्धमा कोरोना भाइरस संक्रमण देखिएको थियो । पहिलोपटक कोराना संक्रमित देखिएको ४२ औं दिनमा थप १३ जनामा कोरोना भाइरस देखिएको हो ।
भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणबाट बाँकेका ४ पालिकाका १३ जना संक्रमित थपिएका हुन् । थपिएका नयाँ संक्रमितमध्ये कोहलपुर नगरपालिका–२ का १९ वर्षीय युवा, खजुरा १ र ७ का ३७ र १८ वर्षीय पुरुष र बालक, राप्तीसोनारी ७ का २२ वर्षीय एक महिला सहित २०, २२, २३ र २४ वर्षका पुरुष, तथा राप्तीसोनारी–६ का १७ वर्षीय बालक र बैजनाथ–३ का ४ जना पुरुष रहेका छन् ।
संक्रमित सवैलाई स्वास्थ्यकर्मीको निगरानीमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी बताउँछन् ।
बाँकेमा कोरोना भाइरस संक्रमण देखिएको यो यात्रामा हालसम्म एक जनाको मृत्यु भइसकेकोछ । बाँकेको नरैनापुर गाउँपालिकामा रहेका एक युवकको मृत्यु भएको हो ।
बाँकेमा पहिलोपटक कोरोना संक्रमित देखिएपछि बाँके प्रशासनले उच्च सर्तकता अपनाउदै चालेको कदमले कोरोना समुदायमा फैलन सकेन । देश लकडाउन भएको अवस्था र नेपालका सबै सीमानाका बन्द भइरहेको अवस्थामा नेपाल–भारत सीमामा नेपाल प्रवेश गर्न हजारौं नेपालीको भीड लागेपछि बाँके प्रशासन सहित सरकारलाई उनीहरुको उचित व्यवस्थापनका लागि टाउको दुखाई बनेको थियो ।
नेपाल–भारत सीमानाकाबाट लुकिछिपी नेपालीहरु नेपाल प्रवेश गर्न थालेपछि बाँके प्रशासनले सीमानाकाबाट नेपाली उद्धार गरि क्वारेन्टिनमा राखेको थियो । पछि यो दर एकाकएक बढेसगैं बाँकेका क्वारेन्टिन भरिभराउ भएका थिए ।
भारतका विभिन्न क्षेत्रबाट नेपाल आएका नेपालीमा कोरोना देखिन थालेपछि बैशाख १९ गते पहिलो संक्रमित देखिएको बाँकेको नेपालगन्जपछि ठूलो केन्द्र विन्दू बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको हटस्पट नै बनेको थियो ।
एकातिर कोरोना संक्रमित दिनहुँ थपिदै जानु, क्वारेन्टिनमा आएकाको उचित ब्यवस्थापन हुन नपाउनुले कोरोनाको उच्च जोखिममा रहदैँ गर्दा देशमै पहिलोपटक गत जेठ ९ गते २१ जनाले कोरोना जितेर घर फर्केका थिए । एकै दिन ठूलोमात्रामा कोरोनालाई जितेर घर फर्किनेको यो संख्या नेपालकालागि सुखद् हुन गयो ।
४२ दिनको यो अवधिमा जिल्लाका ८ वटै स्थानीय पालिकामा कोरोना संक्रमण देखिसकेकोछ । आज बिहीबार थप भएका १३ जना कोरोना संक्रमित सहित बाँकेमा २ सय ९५ जना कोरोना संक्रमित रहेकाछन् । जसमध्ये १ सय ५२ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् ।
आज बिहीबार १३ जना कोरोना संक्रमित थपिएरहदाँ बाँकेमा २० जनाले कोरोनालाई जितेर घर फर्केकाछन् । यसबीच बाँकेको जानकी गाउँपालिकाको श्री माध्यमिक विद्यालय जोगाउँबाट भागेका नेपालगन्ज १२ कोरियनपुरका ३५ वर्षीय कोरोना संक्रमित अझै फेला पर्न सकेका छैनन् ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परीक्षणमा रोल्पामा १४ जना संक्रमित थपिएका छन् । रोल्पाको सुनिल स्मृती गाँउपालिकाका अन्तर्गत विभिन्न वडाका १ महिला र १३ जना पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।