शरदचन्द्र ओझा
हरियाणाको गुडगावँको सेक्टर १६ को देहाती गल्ली साह्रै भिडभाड्को स्थान हो भन्ने सबैलाई थाह थियो, त्यहि गल्लीको माझमा छ, देउराली मोमोज सेन्टर ।अनुहार कुनै तरिकाले हिन्दी बोल्ला जस्तो नदेखिने, रण बहादुर, गोमा र छोरो गगनले फरर, लिजिए सर आपका मोमोज तयार है, और कुछ चाहिए, भनेको सुन्दा अचम्मै लाग्न सक्छ ।
शत्र अठार वर्ष पहिले, पिता कुलमानले एकदिन नानाथरी गाली दिएर पिटेको झोँकमा मुग्लान पसेका रणे, अनेकाँै हण्टर खाँदै, भोकैप्यासै दिल्ली पुग्छन् । एकदिन चाँदनी चोक नजिकको मदिना होटलमा एकजना मार्फत एकछाक खान र त्यसपछि बर्तन माझ्ने काम पाउँदा खुशीको सीमानै हुँदैन उनलाई । आखिर घर लम्जुङ्गको दूर गाउँबाट यता आको कयौँ दिन पनि त भई सकेको थियो । खोल्तीमा एकसुको थिएन, कती दिन भोकैप्यासै बसेको याद पनि त थियो उस्लाई ।
त्यो रात भरपेट मासुभात खान पाएको उस्ले गाउँलाई सारो सम्झेको थियो, अल्लारे भई हिँडेको, गुलेलीले चरा मारेको, भुण्टी लगायत सित रेला गरेको, आमैको पटुकोबाट ५ रुपैयाँ चोरेको, उस्को मानसपटलमा झल्झल्ती आईरहेको थियो ।
एक वर्षपछि, एकदिन गोजीमा झण्डै दश हजार जती भा’पछि, उ सुनौलीको बाटो भैरहवा, नारायणघाट हुँदै लम्जुङ्ग आफ्नो गाउँ पुगेको थियो । पिता कुलमानले तलतिरबाट आउँदै गरेको, एक मानव आकृतीलाई आफ्नै छोरो रण बहादुर हो की भनेर ठम्याउन, सकेका थिएनन्, तर, समिप आई ढोग दिँदा त झण्डै रोएका थिए ।
त्यहि रोदीमा भेट भएको गोमालाई, बुवा मार्फत उस्को घरमा माग्न पठाई बिहे गरेर उनी दिल्लीनै स–परिवार फर्केका थिए । यता, दिल्लीमा आएपछि श्रीमतीलाई राख्ने उपर्युक्त स्थान खोज्दै त्यही गुडगावँको गल्ली नजिक कोठा भेटेको अनि पासकै होटेलमा मोमो चाउमिन बनाउने काम पाएकोले, केहि महिना पछि गोमाकै प्रेरणाले आफ्नै देउराली मोमोज सेन्टर खोल्न सफल पनि भए ।
आज केहि वर्षको मेहनतपछि, एकदिन, सामन दिन ल्याएको हिन्दी अखबारको मुख्य पृष्टमा भारतको भुमी लिम्पियाधुरा र कालापानी नेपालले आफ्नो भनेर माग गरेको भन्दै तथानाम गन्थन सहितको भ्रामककुरो पढ्दा उनलाई नियास्रो पनि लागेको थियो ।
तर, पनि, उनको मनको बिचभागले, भन्दै थियो, यहाँ आएर श्रम बेचँे पनि यो ज्यान त नेपाली नै हो, कालापानी हामी नेपालीकै हो ।