बाँके देशमै पहिलो कोरोना मुक्त तयारीमा

जम्मा संक्रमित : ३५०, निको : २९१, मृत्यु : २, उपचाररत : ६८


बाँके देशमै पहिलो कोरोना मुक्त तयारीमा

File Photo

नेपालगन्ज : देशमा कोरोना भाइरस संक्रमण बढिरहदाँ बाँके जिल्लालाई देशकै पहिलो कोरोना मुक्त जिल्ला घोषणा गर्ने तयारी भएकोछ ।

पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएसगैं नेपालमा संक्रमितहरुको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।तर, बाँके जिल्लामा पछिल्लो समय कोरोना भाइरस संक्रमितहरु उल्लेख्य मात्रामा नभेटिनु र जिल्लाका विभिन्न आइसोलेसनमा रहेका कोरोना संक्रमितहरु निको भएर घर फर्किन थालेपछि जिल्लालाई देशकै पहिलो कोरोना भाइरस मुक्त जिल्ला बनाउन लागिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठ बताँउछन् ।

पछिल्लो दिनमा बाँकेका अधिकांश कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि यतिबेला बाँके जिल्ला क्रमशः कोरोनामुक्त हुन थालेको छ । यसबीच जिल्लामै कोरोनाको हटस्पट मानिएको नरैनापुरका अधिकासं क्वारेन्टिनहरु खाली भइसकेकाछन् । सो क्षेत्रको जनजीवन सामान्य बन्दै गएकोछ ।

बुधबार बाँकेका ९ जनाले कोरोना जितेर घर फर्केको २४ घण्टामै थप २३ जना कोरोना संक्रमित डिस्चार्ज भएपछि आइसोलेसनमा रहेका संक्रमित कम हुदै गएकाछन् । बिहीबार मात्रै बाँकेबाट २३ जना सङ्क्रमितहरू निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यालयका कोरोना फोकल पर्शन नरेश श्रेष्ठका अनुसार राप्तीसोनारीको आइसोलेशन सेन्टरमा रहेका राप्तीसोनारी ७ की एक महिला सहित ११ जना, कोहलपुरको पिपिरी आइसोलेशन सेन्टरमा रहेका कोहलपुरका ४ जना, खजुराको शुसिल कोईराला क्यान्सर अस्पतालमा रहेका खजुराका २ जना र लायन्स डेण्टल अस्पतालमा रहेका नेपालगन्जका ६ जना डिस्चार्ज भएका हुन ।

बिहीबार २३ जना निको भएर घर फर्किएपछि अब ६८ जना कोरोना संक्रमितहरु मात्र जिल्लाका विभिन्न आइसोलेसनमा उपचाररत रहेको श्रेष्ठको भनाईछ । श्रेष्ठले थपे–‘भोली (शुक्रबार) थप ५ जना कोरोना संक्रमितलाई डिस्चार्ज गर्दैछौं । हालसम्म आइसोलेसनमा उपचाररत सबै संक्रमितको अवस्था सामान्य रहेकोछ ।’

कोरोना संक्रमितहरु नथपिनु तथा संक्रमितहरु नियमितरुपमा निको हुदैं घर फर्किनुले कोरोनालाई हराउने बाँके जिल्ला देशमै पहिलो जिल्ला हुने कोरोना फोकल पर्शन श्रेष्ठको बुझाई छ । उनले थपे–‘हालसम्मको अवस्था हेर्दा जिल्लालाई कोरोना मुक्त गर्ने तयारी गरिएकोछ । तर, संक्रमित ह्वात्तै देखिन पनि सक्ने हुदाँ अप्ठ्यारो हुनसक्ने आँकलन पनि गरिएकोछ ।’

‘पछिल्लो समय बाँके जिल्लाबाट दिनहुँ २ सय बढी स्याम्पल संकलन गरिरहेकाछौं ।’ उनले भने –‘हामी कोरोना भाइरस संक्रमण फैलिन नदिन र संक्रमितहरुको उचित व्यवस्थापनसगैं गुणस्तरीय उपचारमा अहोरात्र खटिरहेकाछौं । हामी सबैको अथक प्रयास र आम नागरिकको साथका कारण यो सफल हुन गइरहेकोछ ।’

कोरोना फोकल पर्शन श्रेष्ठले भने–‘आगामी केही दिनभित्र जिल्लाका सबै सङ्क्रमितहरू निको हुने र त्यसपछि बाँकेलाई कोरोनामुक्त घोषणा गरेर थप सङ्क्रमितहरूको खोजी गरिने छ ।’

उनले भने–‘बाँके बैजनाथ गाँउपालिकाकी एक महिलाको कोरोनाबाट मृत्य भएपछि कतै यो कम्युनिटीमा त फैलिएको छैन भन्दै हामीले संक्रमितसगैं सम्पर्कमा आएका २६ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा नेगेटिभ आयो । यस्तै बुधबारमात्रै जिल्लाबाट संकलन गरिएको २१० स्याम्पलको आज (बिहीबार) सबै रिपोर्ट नेगेटिभ आयो ।’

फोकल पर्शन श्रेष्ठले थपे–‘स्याम्पल जाँचका लागि हामीसगं जगेडा दुई हजार किट छ । कन्ट्रयाक्ट ट्रेसिङ्ग गर्दै सम्भावित ब्यक्तिहरुको खोजीगर्न यसले थप मद्द गर्नेछ ।’

हालसम्म बाँके जिल्लामा कुल ३ सय ५० जना कोरोना सङ्क्रमित भेटिएका छन् । यो अवधिसम्म जिल्लाका विभिन्न क्वारेन्टिन र आइसोलेसनमा गरि ६ हजार कोरोना संक्रमित तथा आशंकित ब्यक्ति रहेका थिए भने हाल जिल्लाका विभिन्न क्वारेन्टिन र आइसोलेसनमा एक हजार एक जना मात्र रहेको फोकल पर्शन श्रेष्ठ बताउँछन् ।

जिल्लामा कुल संक्रमित मध्ये २८८ जनाले कोरोना जितेर घर फर्किएका छन् जसमा विरामी हेरालु तीन जना सहित जम्मा २ सय ९१ जनाले कोरोना जितेको फोकल पर्शन श्रेष्ठ बताँउछन् । उनले भने–जम्मा संक्रमित मध्ये नरैनापुर र बैजनाथ गाउँपालिकाका एकएक जना पुरुष र महिलाको मृत्यु भएकोछ ।

बाँके जिल्लामा पहिलो पटक गत वैशाख १९ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोलाहनपुर्वाका एक ६० वर्षिय बृद्धामा कोरोना संक्रमण देखिएको थियो । जिल्लामा पहिलो पटक कोरोना देखिएको करिब दुई महिना भित्र बाँके जिल्लालाई कोरोना मुक्त जिल्ला घोषणा गरिन लागेको हो ।