२० वर्षका १० सम्पादक


२० वर्षका १० सम्पादक

‘संसार परिवर्तन गर्नुछ भने तपाईको सबैभन्दा छिटो हतियार पत्रकारिता हो’– विश्वविख्यात बेलायती नाटककार टोम स्टोपार्डको भनाइ हो यो । उक्त भनाईले संसार बदल्ने हतियारको रूपमा पत्रकारिता र त्यसको कुशल सिपाहीको रूपमा हामी पत्रकारलाई अथ्र्याएको छ । मेरो बुझाईमा विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धी जनताको अधिकारलाई सुनिश्चित गर्ने उत्तम विकल्प नै पत्रकारिता हो ।

नेपालको संविधान प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ को प्रत्याभूति गरेको छ । संविधानको भाग ३ धारा १७(२)‘क’ तथा धारा १९ (१),(२) र (३) ले विचार र अभिव्यक्तिको स्वतन्त्रताका साथै सञ्चारको हकलाई ग्यारेन्टी गरेको छ । प्राणलाई सँधै संकटमा पारेर, धेरै दुष्ट र स्वार्थी मान्छेहरूको निशाना बनेर सदा अन्धकारकाविरूद्ध चेतनाको ज्योति फैलाउन व्यस्त रहेको एक स्वयसेवकको नाम हो पत्रकार । कसैको स्वार्थमा नबिक्ने, कसैका धम्कीमा नतर्सने, कसैका सहानुभूति र संवेदनाहरुले भावुक नहुने एक निष्पक्षष्टा र निर्भिक कलमको संयोजन हो पत्रकारिता ।

पत्रकारिता कूनै अर्थमूलक सूचना वा जानकारी स्रोतबाट लिइ सञ्चारमाध्यम मार्फत सर्वसाधारण समक्ष पु¥याउने कार्य हो  । पत्रकारिता र आम सञ्चार नजिकका विषयहरू हुन् । यस्तो कार्यमा संलग्न व्यक्तिलाई पत्रकार भनिन्छ । प्रजातन्त्रका चारवटा स्तम्भमध्ये पत्रकारिता चौथो अग मानिएको छ– न्यायपालिका, कार्यपालिका, विधानपालिका र पत्रिकारिता । यसै मुल्य मान्यता अनुसार नेपालमा २०५४ मा रेडियो सगरमाथाले प्रशारण अनमुति पाएका हो । उक्त रेडियो दक्षिण एशियामै निजी क्षेत्रबाट सञ्चालित प्रथम रेडियो हो । च्यानल नेपाल नेपालको पहिलो निजी क्षेत्रबाट सञ्चालित टेलिभिजन हो । हिमाल पाक्षिक, नेपाल र समय साप्ताहिकले नयाँ स्वादको पत्रकारिता शुरु गरेका हुन् । इमेज टेलिभिजन, कान्तिपुर टेलिभिजन र नेपाल टेलिभिजन मेट्रोले पनि यसै अवधिमा जन्मने र हुर्कने मौका पाएका हुन्  । यसैबीच भारतबाट प्रशारण हुने नेपाल वन पहिलो नेपालीभाषी विदेशी टेलिभिजनका रुपमा स्थापित भएको हो । यसै समयमा मैले तत्कालिन मध्यपश्चिमको विकट दैलेखबाट पत्रकारीताको थालनी गरेको हो ।

२०५४ तिर मध्यपश्चिमका नेपालका केही पहाडी जिल्लामा द्वन्द्वले जरो गाँडिसकेको थियो । त्यतिबेला नेपाली पत्रकारीताको भूमिका प्रभावकारी रहेको थियो । मैले दैलेखबाट पत्रकारिता शुरू गर्दा त्यतिबेलाका चर्चित सम्पादक पुस्करलाल श्रेष्ठसँग सिधै काम गर्ने अवसर मिलेको थियो । नेपाल समाचारपत्र दैनिकको दैलेख संवाददाताका रूपमा खटिएको एउटा सिपाही तत्कालिन अवस्थाको द्वन्द्वको युद्धभूमिमा रिर्पोटिङ गर्दै थियो । रोल्पा, रूकुम, जाजरकोट पछि तत्कालिन माओवादीको सेल्टर एरिया दैलेख बन्यो । गाउँमा माओवादी सेना भेट्ने र उनीहरूको फोटो छाप्नु नै त्यतिबेलाको खास पत्रकारिता थियो । अनि माओवादी र प्रहरीको भीडन्त यति मरे यति घाईते त हरेक पत्रिकाको पहिलो पृष्ठमै छापिन्थे ।

Kanti Aarogya Hospital Nepalgunj

त्यतिखेर सरल, सहज र रिर्पोटरको भावना तथा दुःख बुझेको सम्पादक भएरै पनि होला दैलेखका हरेक समाचारले पहिलो पृष्ठमै स्थान पाएका थिए । स्वर्गीय पुस्करलाल सरसँग काम गर्दाको अनुभवले आज दरिलो, बलियो, सक्षम र निडर बनाएको छ । उहाँसँगको १० वर्षको काम गराईले अहिले उहाँकै पथमा सम्पादकको भूमिकामा आफ्नो पहिचान बनाउने मौका मिलेको छ यसका लागि सरप्रति आभार छ ।

समाचारपत्रको जिम्मेवारीबाट अलग भएर जाँदा पनि कामना प्रकाशन प्रालीको सोल्टीमोडस्थित कार्यालयमा पुस्करलाल सरले भनेको अझै याद छ ‘कमलजी हजुर जस्तो निडर र सक्षम पत्रकारको खाँचो छ नेपालमा । पत्रकारीतामा निरन्तर गरिरहनु ।’ पुस्करलाल सर स्वर्गबास भैसक्नु भो । तर, उहाँको यहि भनाई आत्मसाथ गर्दै अहिलेसम्म पत्रकारिता चलिरहेको छ । चलिरहने छ ।

समाचारपत्रबाट विदा भएपछि काठमाडौंका गल्लीमा भौतारिएको एक निडर पत्रकार कपील काफ्ले सम्पादक रहेको राजधानी दैनिकमा जागिर पायो । तर, एउटा समाचारका बिषयमा तत्कालिन समाचार प्रमुख गणेश बस्नेतसँगको विवादले उक्त जागिर सातदिन पनि टिकेन् । जब दुईदिन लगाएर तयार पारेको अनि सम्पादकले पहिलो पृष्ठमा छाप्न भनेको समाचार, समाचार प्रमुखसँगको व्यक्तिगत टकरावका कारण प्रकाशन नै नभएपछि मैले भोलीपल्टै उक्त पत्रिकाबाट राजीनामा दिएको थिए ।

त्यसपछि म राजधानी दैनिकमा कहिल्यै फर्किन परेन् । त्यसको केही दिनपछि सातदिने सम्पादकलार्य छाडेर युवराज घिमिरे सम्पादक रहेको समय साप्ताहिकमा स्टोरी लेख्न थालेँ । कतिपय स्टोरी छापिए कतिपय छापिएनन् । यसैगरी दैनिक जीवन चल्दै गयो । तर, युवराज दाईसँग काम गर्दा स्टोरी छापिने नछापीने भन्दा पनि पत्रकारितामा थप केही सिक्ने मौका पाएको हुँ । भारतीय पत्रकारिताको दुनियाँबाट आएकाले पनि होला युवराज दाई अलि निडर निर्भिक र त्यतिबेलै खोज पत्रकारिताको अभ्यासमा हुनुहुन्थ्यो । यसैले पनि मैले खोज पत्रकारिता त्यहि बेलै सिक्ने मौका पाए । अहिले त्यहि बेलाको सिकाई काम लागिरहेको छ ।

समय साप्ताहिकको कमाईले काठमाण्डौंको कोठा भाडा र खानपानलाई असहजता देखिएपछि मैले उक्त पत्रिका पनि छाडँे । अब के गर्ने, के नगर्ने ? की दैलेख फर्कने दोधारमा थिए । गोविन्द लुईटेल सम्पादक रहेको नेपाली हिमालयन टाइम्समा काम गर्न पुगे । करिब दुई वर्ष जति त्यहाँ काम गरे । पुरानो पत्रिका र पुराना सम्पादक भएरै पनि होला काम राम्रै, सिक्ने अवसर मिलेको हो त्यहाँ पनि । यसबिचमा फुटकर काम थुप्रै गरियो । जस्तो (गोरखा एफएम, स्वतन्त्र समाचार सेवा, सरल पत्रिका, नेपाल आज, भक्तपुर न्यूज, विज्ञापन एजेन्सी, सगरमाथा टिभी, माउण्टेन टिभी, रफत सञ्चार क्लव ) आदि ।

२०६१ साल माघ १९ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन शुरु भएपछि नेपाली पत्रकारितामा व्यापक अंकुश लगाइयो । पत्रकारिता क्षेत्रलाई नै तहसनहस बनाउने गरी सञ्चार अध्यादेश जारी गर्नेदेखि सरकारी पक्षबाटै सञ्चारमाध्यममा हस्तक्षेप र कब्जा गर्नेसम्मका दुष्प्रयास भएका हुन् । राजाको कुपछि काठमाडौं छोडेर दैलेख आउनुपर्ने अवस्था आएको थियो । युद्धकालमा नेपालभरमा सबैभन्दा चर्को कर्णेल दैलेखको, सवैभन्दा बढी दुःख पाउने, हत्या हुने दैलेखी पत्रकार, सेनाको मिलोमतोमा दुःख दिने पनि दैलेखी पत्रकार, सल्लेरीका विस्थापित टाईगर ग्रुपको आतंक, पटक /पटक ज्यान लिने प्रयास लगायतका आतंकका काँपमा केही समय दैलेखमा बसेर पत्रकारिता चलेकै थियो ।

२०६३ बैशाख ११ गते लोकतन्त्र बहाली भएपछि नेपाली पत्रकारिता जगतले पुनःजीवन पाएको हो । लोकतन्त्रपछि समयक्रम यसैगरी बितिरहेको थियो । नयाँ–नयाँ सम्पादकसँग भेटघाट तथा काम गर्ने मौका मिलिरहेको थियो । हिमालय टाइम्समा काम गर्दा गर्दै नयाँ पत्रिकासँग जोडिनुपर्ने अवस्था आयो । नयाँ पत्रिकामा जोडिए । यहाँ काम गर्दाको आनन्द बेग्लै भेटेँ । सायद तत्कालिन सम्पादक कृष्णज्वाला देवकोटा र मेरो स्वभाव तथा पत्रकारिता गराई र सिकाईको धरातल उस्तै–उस्तै भएर होला जति काम गरे खुबै मज्जासँग गरेको अनुभव छ । करिब दुई वर्ष काम गरेको अनुभवले अझैं निखारता ल्यायो ।

बोधराज त्रिपाठी सम्पादक रहेको सौर्य दैनिकमा डेक्स सम्पादक रहेर काम गर्दाको अनुभवले झनै पत्रकारितामा ईट्टा थपेको हो । यसैको फलस्वरूप त्यतिबेला राजाराम गौतम सम्पादक रहेको अन्नपूर्ण पोस्टमा बसेर काम गर्नु अझै पत्रकारितामा थपिएको अर्को उचाई हो । तर, राजाराम सम्पादक भएरैपनि कच्चा खेलाडी भएका कारण उनीसँग धेरै लामो समय काम गर्ने वातावरण भएन । तर, विजयकुमार जस्तो बौद्धिक व्यक्ति सोही पत्रिकाको ग्रुप सम्पादक रहेकोले अनौपचारिक रूपमा अप्रत्यक्ष भएर पनि केही लाभ चाँही भएकै हो ।

यस अलावा किशोर नेपाल, विष्णु निष्ठुरी सम्पादक रहेका अनलाईन तथा टेलिभिजनको कामले त केही उचाई मात्र थपेको होइन निखारताका साथै पूर्णता र दक्षता पनि हाँसिल गराएको छ । हेम विष्ट, भारतदत्त कोइराला, तारानाथ दाहाल, पदम कार्की, विनोद ढुँगेल, बद्री तिवारी, कुशल गौतम, कमल पौडेल, पुरूषोत्तम ढकाल, किशोर श्रेष्ठ, राजेन्द्र बैद्य, पी खरेल त्यतिबेलाका अग्रज अनुहार र अहिले सम्झनै पर्ने नाम हुन् ।

स्मरणहोस्: समाचारपत्रको जिम्मेवारीबाट अलग भएर जाँदा पनि कामना प्रकाशन प्रालीको सोल्टीमोडस्थित कार्यालयमा पुस्करलाल सरले भनेको अझै यादछ ‘कमलजी हजुर जस्तो निडर र सक्षम पत्रकारको खाँचो छ नेपालमा । पत्रकारितामा निरन्तर रहिरहनु ।’ पुस्करलाल सर स्वर्गबास भैसक्नु भो । तर उहाँको यहि भनाई आत्मसाथ गर्दै अहिलेसम्म पत्रकारिता चलिरहेको छ । चलिरहनेछ ।

लोकतन्त्र प्राप्तिपछिका वर्षहरू सञ्चार स्वतन्त्रताका लागि बैधानिक रूपमा उदार देखिएको छ । तर, व्यवहारमा नेपाली पत्रकारिता थुप्रै चुनौतिबाट गुज्रिरहेको छ । पत्रकारिता गरेकै कारण पत्रकारहरुमाथि मार्ने धम्की, अपहरण, आक्रमण र हत्याका घटनाहरू भएका छन् । पत्रकारितामा राजनीतिक, जातीय, क्षेत्रीय र अन्य प्रकारका पूर्वाग्रहहरू देखिन्छन् । तर, विडम्बना लामो पत्रकारिताको ईतिहासमा अहिलेसम्म नेपाली पत्रकारिता व्यवसायमुखी भन्दा अवसर, चाकडी, दलमुखी भइरहेको छ  । नेपाली पत्रकारितालाई समुन्नत र व्यवसायिक बनाउन दक्ष जनशक्ति र सुरक्षित लगानीको वातावरण तयार गर्न आवश्यक देखिन्छ ।

(सेतोखरीका कार्यकारी सम्पादक न्यौपाने नेपाल पत्रकार महासंघ दैलेख शाखाका संस्थापक सचिव हुन् ।)