मकैबारीमा सलहको आक्रमण । तस्विर: सामाजिक सञ्जाल
नेपालगन्ज: ६० वर्षपछि नेपाल प्रवेश गरेको सलह यतिबेला नेपालको तराई क्षेत्रमा देखिएकोछ । शनिबार पहिलो पटक पूर्वी तराईको सर्लाहिमा देखिएको सलह शनिबार बेलुका सम्म प्रदेश पाँचका विभिन्न ठाँउमा देखिएकोछ । सलह प्रकोपबाट हुनसक्ने सम्भावित क्षतीलाई मध्यनजर गर्दै प्रदेश पाँच सरकार एक्सनमा उत्रिएकोछ ।
कोरोना माहामारीकाबीच सलह प्रकोप देखिएपछि प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउने जोकोहीलाई नगद पुरस्कार दिने निर्णय गरेकोछ । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याउनेलाई २० रुपैयाँ दिने निर्णय गरेको हो ।
‘सलह किराले पु¥याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौं’ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर ओलीले भने–‘सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने छन् ।’
तर, दिनभर सक्रिय रहने सलह रातको समय थकाई मार्छ । रातको समय थकाई अर्थात बास बसेका बेलामा समातेर जम्मा गरे क्षति रोकिनुका साथै मिहेनत बापत प्रोत्साहन रकम लिन प्रदेशबासीलाई मन्त्रालयले आह्वान गरेको हो ।
शनिबार दिउँसो प्रदेश पाँचमा सलह देखिएसगैं सेतोखरीले सलह प्रकोप : नियन्त्रणमा प्रदेश सरकारको ‘एक्सन’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
यसबीच मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध समेत गरेकोछ । रोपाईको मुखमा सलह नेपाल प्रवेश गरेपछि आम किसानको मात्र नभई सरकारको समेत टाउको दुखाई बनेकोछ ।
प्रदेश पाँचकी भूमि व्यवस्थामन्त्री आरती पौडेलले यतिबेला खेत रोपाईको समय भएकाले सलहको प्रकोपबाट धानको बीउ नष्ट हुनेहुदाँ रोपाई नै नहुने अवस्था आउन सक्ने भन्दै प्रदेशका किसानलाई आफ्ना धानको बीउ सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले राम्ररी ढाकेर राख्न आग्रह गरिन् । सलहको प्रकोपका बेला नआत्तिन आग्रह गर्दै उनले थपिन्–‘सरकारले एक्लै केही गर्न सक्दैन, यसमा किसान दाजुभाइले सावधानी अपनाउनुपर्ने हुन्छ । तपाई हाम्रो प्रयासले सलह नियन्त्रण हुन्छ ।’
हावाको वहावसगैं जाने सलह यतिबेला रुपन्देही हुदैं पाल्पा र गुल्मीतर्फ लागेको मन्त्रालयले जनाएको छ । सलहको एउटा झुण्डले २५ सय जना वा १० वटा हात्तीलाई पुग्ने खाना बराबरको वनस्पती खाने बिज्ञहरू बताउँछन् । यतिबेला तराईमा धमाधम धान रोपाईँ भइरहेको छ । पहाडमा मकै लगायतका बाली छन् ।