कुमैया पडिँत जी बडो हस्याङ्ग फस्याङ्ग गर्दै आए, खासमा उनको त्यो नै सँधैको पारा थियो ।
कि कौनो महाराज, ठेकेदारको ईण्डियाबाट फोन आको थियो, काठ छिटो–छिटो पठाउ भन्दै थिए । बडो रिसाका थे, मलाई पनि गाली गरे ।
यहाँको काठ जङ्गल फडान गर्दै उता पठाउने ठेक्का पा का थे, गडतोली ठेकेदारले, अनि ईनी कुमैया पडिँत तीनको मुन्सी थिए । गाउँको पल्लो किनारमा चिरान मसिन नै हालेका थिए ।
यता एकदिन जङ्गलबाट एक नम्बरका साथै चार गाडी चोरुवा बल्ली ( ठुला काठका गोलिया) पनि ल्याउँदा, भालुभुत्तेका सिपाहीहरुले खयरगाउँको नजिक तीनलाई समातेका थिए ।
डनलप (राङ्गोले तान्ने गाडी) का साथै सम्पुर्ण चोरुवा काठ सरकार का गोदाम मा ल्याईयो ।
यता बैदार साब, खरदार साब, सुब्बा बाजे, जम्दार साब’को बिचमा साउती हुन थाल्यो ।
बैदार साब : काठ त मुचुल्का उठाएर जफत गरियो, राँगा सहित गाडी पनि समातियो । अब लिलामी नहुँन्जेल ई राँगाहरुलाई कल्ले पाल्ने होला ? एक जोडी पहिले देखि नै मेरो घरमा छ, अर्को जोडी लगेर के गरुँ ??
होईन सुब्बा बाजे हजुरले लाने होकी ।
होईन म लान्न, यसपाली खरदार साब थापाजीले लगे हुन्छ, राम्ररी पाले एक सिजनमा केहि आम्दानी पनि हुन सक्छ ।
यसरी आफ्नो मत राख्दै सुब्बा बाजे मिश्राजी एकातिर सिगरट तान्दै लम्किन्छन् ।
थापा साब’लाई यसपालीको डनलप कत्तिको फाप्ने हो, पोर साल त राम्रै आम्दानी गर्नु भा थियो । फेरी बैदार साबको सानो स्वरमा तर्क सुनिन्छ ।
गोजीबाट सिगरट निकाल्दै, एकपल्ट जुङ्गा सुम्सुम्याउँदै थापाजी अघी बढछन् ।
रामप्यारीले यसपाली पनि त्यो डनलपलाई बजारतिर सामान ढुवानीको काममा लगाई राम्रै दाम कमाइने भो भन्दै, बुढाको निम्ती आज भुटुवा सित्तन तयार पार्छिन् र खुशी हुँदै चारपाने बिस्तारै सफा गिलास मा टक्र्याउँछिन् ।
भोलीपल्टनै, आवश्यक कागजी प्रकृया मिलाएर एकजोडी राँगा सहित एउटा डनलप थापा निवासमा आईपुग्छ ।
राँगा गाडी चलाउने सन्तराम : मालिक, म हजुरको निमित्त यो गाडी चलाउन तयार छु । केहि वर्ष पहिलेसम्म यस्तै गाडी चलाएको अनुभव पनि छ, म सँग ।
पैसो को हिसाब कसरी गर्ने त, रामजी थापा सोध्छन् ।
मालिक मलाई खान बस्न बिडी सिगरट दिएर महिनाको तीन सय दिए पुग्छ ।
अला यो झिक्क नाई भ्यो त, ईसो गरम् तिमीलाई दुईसय पचास दिन्छु, अनि मेरो घरको गोठ माथिको कोठामा तिमीले सुत्नु पर्छ ।
मर्कापर्छ मालिक, भन्दै अन्तिममा सन्ते मानी पनि हाल्छ ।
एक दिनको साल्ट ट्रेडिङको नुनको बोरा बोक्ने काम पाको, सन्तरामले भरे घर फर्की थापा साबलाई भन्छ, मालिक एउटा राँगो त लुते रैछ, अलि भारी बोक्यो कि, भुँईमा थुचुक्क बस्छ, के गर्ने होला ।
यता खरदार साब सोँचमा पर्छन्, के गर्ने होला ।
यतिकैमा सँधै जसो एकपल्ट उनको आँगनमा हाजिरी दिन आउने बाजी मदना पुरी आईपुग्छन् । अलख निरन्जन ।
थापा जी : स्वामीजी, राँगो सार्है दुब्लो छ्, भारी बोक्नै सक्दैन, खाना नि मन लाएर खाँदैन्, के गर्ने होला ।
स्वामी जी : अलि सोँचे जस्तो गर्दै, यल्लाई तोरीको तेल दुई मानो र अलिअली पिना ख्वाईदिनु प¥यो काजी साहेब ।
हो र, यो मोटाउँछ, भन्दै खरदार साबको अनुहार खुशीमा अब फकृन थाल्छ ।
भोली पल्टै रु ५० मा दुई मानो तेल लाई, त्यो दुब्लो राँगोको मुखमा बोतलबाट बडो मुश्किलले तोरीको तेल ख्वाईन्छ ।
नभन्दै, केहि दिन पछि, त्यो राँगो मोटाएर आउँछ, र त्यस बेला छत्तिस सैँतिस सालतिर खरदार साबले जफत गरेको डनलपबाट मनग्गे आम्दानी गर्छन् ।