नेपालगन्ज : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्री पञ्चमी अर्थात वसन्त पञ्चमी आज नेपालगन्ज लगायत देशभर धुमधामाका साथ मानइदैछ । पञ्चमीका अवसरमा नेपालगन्जको बागेश्वरी मन्दिर, रामलिला मैदान स्थित सरस्वती मन्दिरमा बिहानैदेखि सरस्वती पूजा गर्नेको घुइँचो लागेकोछ ।
वसन्त पञ्चमीकै दिन बालबालिकाहरुलाई अक्षाराम्भ गराउने चलन छ । जिल्लाका विद्यालय, कलेज लगायतमा विविध कार्यक्रमको आयोजना
गरि सरस्वती पूजा धुमधामका साथ मनाइदैछ ।
यसै दिन विवाह, व्रतबन्ध, नाककान छेड्ने, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्दा साइत हेर्नु नपर्ने धार्मिक विश्वास गरिन्छ ।
आजकै दिन विद्यालय र कलेजहरुमा सरस्वतीको पूजा गर्ने तथा कलाकारहरुले आफ्ना वाद्ययन्त्र र कुचीको पूजा गर्ने चलन पनि छ । वसन्तपञ्चमीदेखि सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ ।
वसन्त पञ्चमीको महत्व
आजको दिन साना–साना बालबालिकाहरुलाई अक्षर चिनाउनेदेखि लिएर कुनै नयाँ कामको थालनीका लागि समेत राम्रो साईत मानिन्छ ।
पञ्चांगका अनुसार वसन्त पञ्चमी माघ महिनाको पञ्चमी तिथिमा मनाइन्छ । हिन्दू मान्यताका अनुसार यसै दिन देवी सरस्वतीको जन्म भएको थियो ।
सृष्टीको रचना गर्दा जब भगवान ब्रम्हाले जीवजन्तुहरु तथा मनुष्य योनीको रचना गरे, सबैतिर सन्नाटा छाएको थियो । उनलाई लाग्यो कि केही कुरा अपुरो छ । त्यसपछि उनले आफ्नो कमण्डलुबाट जल छर्किए, जसबाट चार हात भएकी एक सुन्दर स्त्री प्रकट भइन् ।
ती स्त्रीको एक हातमा वीणा तथा अर्को हात वर मुद्रामा थियो । बाँकी दुई हातमा पुस्तक र माला थिए । ब्रम्हाले देवीसँग वीणा बजाउने अनुरोध गरिन् । जसै देवीले वीणा बजाउन सुरु गरिन, संसारका समस्त जीवजन्तुहरुमा आवाज भरियो । त्यसपछि ब्रम्हाले उनलाई ‘वाणीकी देवी सरस्वती’ नामाकरण गरे । ब्रम्हाले देवी सरस्वतीको उत्पत्ती वसन्त पञ्चमीकै दिन गरेकी थिइन् । त्यसैले हरेक वर्ष वसन्त पञ्चमीको दिन सरस्वतीको जन्म दिन मनाइन्छ ।
वसन्त पञ्चमीको दिन पहेँलो रंगको विशेष महत्व हुन्छ । पहेँलोलाई वसन्तको प्रतिक मानिन्छ । वसन्त ऋतुलाई सबै मौसमहरुमध्ये ठूलो मानिन्छ । यो मौसममा न गर्मी हुन्छ न जाडो, न वर्षा नै हुन्छ । रुख–बोटहरुमा ताजा फल र फुलहरु लाग्छन् । चारै तर्फ हेर्दा प्रकृति बेहुली झैं सिंगारिएको देखिन्छ ।
कामदेवको पूजा
स्वस्थ्यको दृष्टिकोणले पनि यो ऋतु निकै अनुकुल मानिन्छ । मानिसका साथसाथै पशुपंक्षीहरुमा नयाँ चेतनाको सञ्चार हुन्छ । वसन्तलाई प्रेमको देवता कामदेवको मित्र मानिन्छ । यस ऋतुलाई काम बाणका लागि अनुकुल मानिन्छ । यो दिन पवित्र नदीहरुमा स्नानको विशेष महत्व हुन्छ ।
वसन्त पञ्चमीको दिन केही मानिसहरु कामदेवको पनि पूजा गर्छन् । पहिले–पहिले राजा हात्तीमा चढेर नगरको भ्रमण गर्दै देवालय पुगेर कामदेवको पुजा गर्थे । पौराणिक मान्यताअनुसार वसन्त कामदेवको मित्र हो । त्यसैले कामदेवको धनुष फुलले बनेको हुन्छ ।
जब कामदेवले तीर छोड्छन्, यसमा कुनै आवाज आउँदैन । त्यसैले आजको दिनलाई फुल तथा प्रेम र प्रकृतिसँग जोडेर पनि हेरिन्छ । यस दिन रतिको पनि पूजा गरिन्छ ।
मेला तथा महोत्सव
वसन्त पञ्चमीका अवसर पारेर देशभर विविध खाले मेला महोत्सवहरुको आयोजना हुनेगर्छ । विशेष गरि विद्याकी देवि सरस्वतीलाई मान्ने भएकाले स्कुले विद्यार्थीहरुका लागि यो दिन वर्षकै उत्कृष्ट दिन हुनेगर्छ ।
वसन्त पञ्चमीका अवसरमा नेपालगन्जको रामलिला मैदान नजिक रहेको एक मात्र सरस्वती मन्दिरमा विद्यार्थी, शिक्षक, अभिभावकको विहानैदेखि ठूलो घूँइचो लागेकोछ । यस्तै नेपालगन्जको बागेश्वरी मन्दिरमा समेत विद्यार्थीहरुको भीड लागेकोछ । वसन्त पञ्चमीका दिन विद्यार्थीहरुले सरस्वती स्तुती गायर विद्या र ज्ञान प्राप्तीका लागि आशीष लिनेगर्छन् । सरस्वती पूजाकै अवसर पारेर जिल्लाभरका विद्यार्थीहरुको सो मन्दिरमा घुइचो लाग्छ । अक्षरआरम्भ पनि हुनेभएकाले यस दिन साना बालबालिकालाई अक्षर चिनाउने, कान नाक छेड्ने, शुभ कार्य समेत गरिन्छ ।
अधिकासं विद्यार्थीहरु आफू अनुकुल सरस्वती मन्दिरमा गई कुनै न कुनै अक्षर फूल, अवीरले लेख्ने गर्छन् । तर अक्षर लेख्नेक्रममा जे पायो त्यही लेख्ने हुदाँ यसले विकृती समेत ल्याएको बुद्धिजिविको भनाईछ ।
बाँकेको खजुरा स्थित मुसवेटवा बाबाको (मन्दिर)मजारमा यसदिन ठूलो मेला लाग्छ । हिन्दू तथा मुसलमान समुदायको आस्थाको केन्द्र रहेको उक्त स्थानमा वसन्त पञ्चमीकै दिन धेरै वर्ष पहिले देखि मेला लाग्दै आएको स्थानीयबासी एव पत्रकार खगेन्द्र दाहाल बताउछन् । उनका अनुसार पछिल्लो केही वर्षदेखि सो क्षेत्रमा वसन्त पञ्चमीका अवसर पारेर महोत्सवको आयोजना गरिदै आएकोछ । यस वर्ष पनि सो क्षेत्रमा महोत्सव लागेको छ ।
विभिन्न विद्यालय, कलेजमा सरस्वती पूजालाई विशेष कार्यक्रमको आयोजना गरि मनाउने चलनछ । यस दिन भर्ना हुने विद्यार्थीलाई विशेष छुट समेत विद्यालयले दिने गरेकोछ ।