कोहलपुर: अब तपाईको गाडी इन्टरनेटमार्फत चेकजाँज हुनेछ । लामो दुरीका गाडीमा दुई जना चालक भए नभएको, चालकले कति दुरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत चेकजाँच अब ‘ट्राफिक कम्युनिकेशन एप्स’बाटै थाहा हुनेछ ।
तपाई गाडी चलाउँदै हुनुहुन्छ अथवा गाडीको मालिक हो भने अब तपाई ट्राफिकको नजरबाट टाढा रहन सक्नुहुनेछैन । किनकी ट्राफिकले आफ्नो क्षमतामा विकास गरि डिजिटाइलेसन माध्यमद्वारा तपाईलाई निगरानीमा राखिरहेकोछ । जसका लागि सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ ट्राफिकले सञ्चालनमा ल्याइएको छ । यो एप्सले तपाईले गाडी कति समय चलाउनुभयो, चालक परिवर्तन गर्नुभयो की भएन भन्ने लगायतका कुरा एवंम चालकको तस्वीरसहितको सबै कुराको रेर्कड राख्नेछ । यदी तपाईले नियम पालना गर्नुभएको छैन भने तत्काल एप्सको निर्देशनअनुसार कारबाहीमा पर्नुहुनेछ ।
यदि कारबाहीबाट बच्न तपाई चाहानुहुन्छ भने ‘ट्राफिक कम्युनिकेशन एप्स’को निर्देशन पालना गर्नुपर्नेहुन्छ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि एप्स ओराकल कम्पनीको जाभा प्रोगामिङ ल्याङ्ग्वेजको एन्ड्रोइड भर्सनमा विकास गरिएको एम्स सञ्चालनमा ल्याएकोछ । सो एप्सको आज बाँकेको कोहलपुरमा एक कार्यक्रमका बीच उद्घाटन समेत गरिएकोछ ।
लामो दूरीका क्षेत्रमा सञ्चालन हुने सवारीसाधनमा लागु हुने गरी सञ्चालनमा ल्याइएको उक्त ‘ट्राफिक कम्युनिकेशन एप्स’को आईतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरको चप्परगौडीमा एक कार्यक्रमको आयोजना गरी ‘ट्राफिक कम्युनिकेशन एप्स’को औपचारिक उद्घाटन गरेको छ । उद्घाटन सगैं आईतबारदेखि लागुहुनेगरि सो एप्स समेत सञ्चालनमा ल्याएको छ ।
प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनले चालक परिवर्तन भए नभएको जानकारी दिने उक्त एप्सको आईतबारदेखि सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी उपरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए ।
रोकायका अनुसार लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखिनेछ, यात्राका दौरानमा विभिन्न पोष्टहरुमा जाँच गरिनेछ, सोक्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएको छ । उक्त एप्स पहिलो चरणमा काठमाडौंको नागढुङ्गा, प्रदेश–२ को सर्लाहीको कर्मैया र प्रदेश–५ को बाँकेको कोहलपुरमा सञ्चालनमा ल्याइएको बताए ।
ट्राफिक प्रहरी प्रमूख रोकायले यातायात व्यवस्था ऐन २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुईवटा चालक अनिवार्य राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले ‘एप्स सञ्चालनसँगै यात्रुवाहक सवारी साधनमा दुई वटा चालक राखिने हुँदा दुर्घटनामा कमी आउने विश्वास ब्यक्त गरे ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा बाँकेको चप्परगौडीमा आयोजित कार्यक्रममा ‘ट्राफिक कम्युनिकेशन एप्स’को उद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले गरेका थिए । कार्यक्रममा बोल्दै उनले एप्समार्फत सवारी साधन र चालकको निगरानी हुने भएकाले सवारी दुर्घटना न्यूनीकरण हुनेमा विश्वास व्यक्त गरे । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुणकुमार पौडेल, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेशबहादुर सिंह,ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल लगायत यातायात व्यवसायीको उपस्थिति रहेको थियो ।