‘आँखा अघि आउँछ अझैँ अतितका ती पल
लुकामारी खेल्ने गथ्यौं हामी हरपल
म लुक्दा तिमीले भेटी हाल्थेऊ मलाई
तर, तिमी लुक्यौ सकिन भेट्न मैले कहिल्यै ......।।’
यी चार हरफले नै त्यो दिनको सम्झना आउँछ । कताकता रूमलिएको मन झसङ्ग भैदिन्छ । नदुखेको धर्ती दुख्दो रहेछ । नरोएको आकाश रूदोँ रहेछ । कारूणीक रोदनभित्र मर्मस्पर्शी सत्यताले आन्तरिक सन्धी पनि पीडा हुँदो रहेछ ।
एउटा लामो यात्रा हो जीवन । जसले विभिन्न मोडमा स्मृति चिन्ह छोडेर जान्छ । जीवनलाई सम्झनलायक बनाइदिन्छ । उमेरका विभिन्न खुड्किलामा अनेकन साथी भेटिन्छन् । समयक्रमसँगै ती अस्तित्वको पर्दामा धूमिल हुँदै जान्छन् र गएपनि । तर, जीवित छन् स्मृतीको पर्दामा । उमेरको यो उचाईमा पुगेपछि म ती पुराना पलहरू सम्झिन्छु । जसलाई सम्झिँदा सम्झना पनि आज अर्थात असार २१ गते कालोदिनका रूपमा मेरो मानसपटलमा उभिएको छ । मेरो श्रीमानको दुर्घटनामा मृत्यु भएको दिन । आज सात वर्ष पुगेछ । हार्दिक श्रद्धाञ्जली मेरो हजुरलाई । स्मृतीको पर्दामा धर्साहरु कोरिछोडेका तिनै पलहरू सम्झिएकी छु ।
समय आफ्नै गतिमा चलिरहेको छ । मेरो रफ्तार मेरो जिन्दगीको तेहि समयको पछि–पछि बेसुर अनि बेतालमा एकोहोरो चलिरहेको जस्तो लागिरहेछ । म बेहोसमा त छैन तर, जस्तै हुन्छु कहिले काँही ।
मन भित्र गुम्सिएका तिता अनि सत्य यथार्थहरु चलचित्रको पर्दामा झै एकपछि अर्को गर्दै मेरो मनको पर्दामा एका–एक आउँछन् । म थाम्न सक्दैन यो अतभूत शक्ति मेरो मनले नकार्न पनि सक्दैन । त्यसैले लेख्दै छु म मेरो एउटा जिवनको कथा: ‘एकान्तमा तिम्रो याद आउँछ धेरै अनि सृजना हुन्छन् यस्ता कयौँ यादहरु र बसिदिन्छन् दिलभित्र मिठो याद बनेर ।’
जब तिमीले मलाई छोडेर गयौ नि राजा । हो त्यतिबेलादेखि नै मलाई लागेको छ कि मेरो जिन्दगीको लामो धागो पहिले नै चुँडिसक्यो जुन धागो अब चुँडिदैन । जसलाई चाहेर पनि अब म समेट्न सक्दिन । तिमीसँग जिन्दगीको यात्रा गर्दा तिमी आधाबाटोमै छुटियौ अनि म लड्खराएँ । अनि म यो जिन्दगीको यात्रामा हारेको छु अब फेरि कैले पनि जीत्न नसक्ने गरी । भन्न त भन्छन् हिम्मत नहार्नु भनेर तर, म जति अघि बढ्न खोज्छु त्यति नै प्रगतिको पथमा तिम्रो साथ भए अझै कति के गर्ने होला ?
मेरा संघर्षमा जहाँ मलाई साथ दिने र आड दिने कोही हुँदैन अनि मलाई लाग्छ अब मेरो सारा जिन्दगी काँडै काँडाको यात्रा हुनेछ जुन काँडाहरुले पलाई पलपलमा घोचिरहनेछन् चिथोरिरहनेछन् अनि मलाई सताईरहनेछन् । सगँै जिउने वाचाकसम जब भङ्ग हुन्छ अनि जिन्दगी पनि जिउनुको सार्थक लाग्दोरहेनछ । मेरो राजा र मेरो जिन्दगीको अतितको डायरी शुरु भयो । तर, अन्त्य भने हुन सकेको छैन । जब मेरो जीवनको अन्त्य हुँदैन तबसम्म मेरो राजाको यादहरुले यस्ता अतितका डायरीका कैयौँ पानाहरु भरिने छन् ।
‘तिमी त गयौँ सदाका लागि आँखा चिम्लेर
हजारौं पीडाका टुवाँलाहरुलाई छिचोलेर
म त बसेको छु तिम्रै यादमा रोएर...
फर्कि आउँछौ कि भनि तिमीलाई पर्खेर
तिमी त गयौ सदाका लागि आँखा चिम्लेर’
असार २१ गते मेरो जिवनको कालो दिन । भगवानले मेरो खुसी लुटेको दिन । जीवन भर मेरो राजालाई हार्दिक हार्दिक भावपूर्ण श्रद्धाञ्जली । २०७०/३/२१ गते दाङको लमहीबाट कार्यालयको काम सकेर घर घोराही जान हिडेका मेरो राजा साँझ सात बजे लमहीबाट एक किलोमिटर नजिकको जङ्गलस्थित कुलमोडमा मोटरसाइकल दुर्घटना भएको दिन । आज सात वर्ष पुगेको छ । दुर्घटना भएको पनि आज सात वर्ष पुगेछ ।
दैवले भर्खर बिहे भएको पनि थाहा पाएन छ । अहिले घोराही उपमहानगरपालिका वडा १५ मा स्वास्थ्य शाखामा कार्यरत म सबै कुरा सम्पन्न भएपनि हजुरको अभावमा जीवन अपुरै लाग्ने गर्छ ।
सबैको मायाले फुर्केर बाचेकी म मेरो बच्चाहरुलाई उनीहरुको बाबा नभएको कहिले महसुस बनाउने छैन । हुनत एकल महिलालाई यो समाजले कुन रुपले हेर्छ यो कुरा मैले भनी रहनुपर्छ जस्तो लाग्दैन् । तरपनि मेरो खुशी म भित्र छ । मेरो आफ्नो डिसिजन छ । सबैको कुरा सुन्छु । तर, निर्णय भने आफै गर्छु । यो सबै जुरेको सम्झानामै हो । हजुर जहाँ जुन अवस्थामा भएपनि खुशी सुखी हुनुहोस् । मलाई यति भए पुग्छ । म हजुरलाई सधै सम्झीरहनेछु । माया गरिरहनेछु । श्रद्धासुमन व्यक्त गरिहनेछु । आज पनि ७ औं स्मृति दिनको हार्दिक श्रद्धाञ्जली ।