नेपालगन्ज : वर्षातको समय । जता हेर्यो खेत र खुल्ला ठाँउ जलमग्न छ । सुख्खा र बस्ने उपयुक्त ठाउँ छैन । यस्तो अवस्थामा पशुचौपाया कसरी रहुन् । सहरबजार छिर्नुको विकल्प थिएन । अझ त्यसमा विशेषगरि गाई पालन गर्ने किसानले स्वार्थ पुरा भएपछि खुल्ला छाडिदिने भएपछि छाडा पशुचौपायाले नेपालगन्जका सडक भरिभराउ हुने नै भयो ।
छाडा पशुचौपायाको समस्या नेपालगन्जबासीका लागि नयाँ र नौलो भने पक्कै होइन । यसको उचित व्यवस्थापनका लागि यहाँका जनप्रतिनिधी, स्थानीय निकाय लगायत सम्बद्ध सरोकार निकायले प्रयास नगरेको पनि होइन । तर, वर्षेनी उही समस्याले आजित नेपालगन्जबासीलाई केही राहत दिने कार्य गरिएकोछ ।
छाडा पशुचौपायाको उचित व्यवस्थापन गर्दै दीर्घकालिन योजना नबनाएकै कारण यहाँका स्थानीय निकाय बारम्बार असफल हुदैँ आएका छन् । अझ समय–समयमा छाडा पशुचौपायाका कारण हुने साना ठूला दुर्घटनाले समेत यसक्षेत्रका स्थानीय त्रसित हुनु परेको थियो । त्यसमा सडकनै जाम गरेर बस्ने छाडा पशुचौपायालाई मार्ने, सवारी साधनले कुचल्दिने जस्ता घटनाले समय–समयमा अधिकारबादीको ध्यानाकर्षण नभएको पनि होइन ।
अझ समय–समयमा संकलन गरि काञ्जि हाउसमा राखिएका पशुचौपायाहरुको उचित व्यवस्थापन, स्वास्थ्य उपचार, आहारा, आराम र मौसम अनुसारको बास ब्यवस्थापन नहुदाँ काञ्जि हाउसमै राखिएका छाडा पशुचौपाया अकालमै मर्नुपरेको यथार्थता हामीमाझ जगजाहेर छ ।
यसैबीच नेपालगन्ज नगर क्षेत्रमा रहेका छाडा पशु चौपायालाई आज काञ्जि हाउस लगिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको सक्रियता सगैं जिल्ला प्रहरी कार्यालय बाँके, वडा तथा नगर प्रहरीको टिमले नगरमा छरिएर रहेका छाडा पशु चौपायालाई एकिकृत गरि नेपालगन्ज २१, पुरैनामा रहेको काञ्जि हाउस लगिएको हो ।
यसअघि पनि नगरक्षेत्रका करिब तीन सय बढी छाडा पशुचौपायलाई व्यवस्थापनका लागि काञ्जि हाउसमा राखिएको थियो । तर, स्थानीय निकायको चरम लापरबाही र उदासिनताका कारण काञ्जि हाउसमा रहेका पशुचौपाया मर्न थालेपछि त्यसको उचित व्यवस्थापनका लागि लगिदै गएका नेपालगन्जका पशुचौपाया मरेका थिए । उक्त घटना देशब्यापी बन्दै बिबादास्पद बनेको थियो ।
यतिखेर पनि नेपालगन्जमा रहेका छाडा पशुचौपायाको ब्यवस्थापनका लागि स्थानीय प्रशासनको सक्रियता बढेकोछ । यसरी नगरभरीका छाडा पशुचौपायालाई काञ्जि हाउसमा राखेर मात्रै यो समस्या समाधान हुदैन । सडकमा छाडा छोड्ने पशुचौपाया पालक किसानलाई कारबाही र काञ्जि हाउसमा राखिएका पशुचौपायाको उचित आहारविहार, बासस्थान र स्वास्थ्यमा ध्यान दिएन भने नेपालगन्जको छाडा पशुचौपाया समस्या जस्ताको त्यस्तै हुने निश्चित छ ।
यो पनि पढ्नुहोस्