नेपालगन्ज : कुरा ११ वर्ष अघिको हो । सन् २००९ जुलाई ११ । यो अवधिसम्म नेपालमा प्रविधिको विस्तार तिब्र गतिमा भइरहेको थियो । त्यसो त नेपालको इतिहास हेर्दा नेपाल प्रविधिमैत्री बन्न थालेको दुई दशक बढि भइसकेको थियो । इमेल ईन्टरनेटको ब्यापक चलनचल्ती भइसकेको थियो । उत्तिकै मात्रामा सहरबजारमा साइबर सेन्टर खुलेका थिए । सक्नेले महागों शुल्क तिरेर केही निजि तथा सरकारी स्वामित्वको नेपाल टेलिकमबाट इमेल इन्टरनेटको सेवा लिइरहेका थिए । नसक्नेले नेपालगन्ज र आसपासका क्षेत्रमा खोलिएका साइबरमा गइ निश्चित समयको शुल्क तिरि सामाजिक सञ्जाल तथा इमेल इन्टरनेटमा जोडिएका थिए । प्रविधिमा आएको परिर्वतनले यो अवधिमा सामान्य परिवारले पनि हैसियत अनुसार मोबाईल प्रयोग गर्न थालेका थिए ।
यो अवधिमा चर्चित सामाजिक सञ्जाल हाईफाइभ, याहु, याहु मेसेन्जर, हटमेल लगायतका अन्य साइटहरुको प्रचलन उत्तिकै मात्रामा थियो । यी सामाजिक सञ्जाल र ईन्टरनेटका साइट प्रयोग गरिरहेका प्रयोगकर्ताको ध्यान भर्खर लञ्च भएको फेसबुकमा तानियो ।
यसले आफूभन्दा कोशौं दूर साथी, ईष्टमित्रका बारेमा ठाँउका ठाउँ बसेर हालचाल तथा जानकारी पाउने एक असल र उपयुक्त माध्यम नै बनेको थियो । किनकी यो अवधिमा चलनचल्तीमा रहेका अन्य सामाजिक सञ्जाल भन्दा यो सामाजिक सञ्जाल प्रयोग गर्न सहज हुने, फोटो, भिडियो र स्टाटस पोष्ट गर्न सहज हुनुका साथै यसका फिचरबाट सबैको ध्यान तानिरहेको थियो ।
प्रबिधिप्रतिको मोह र अझ बढि जान्ने कौतुहुल्तामा ओतपोत भएका नेपालगन्जका सञ्चारकर्मी समीरमान श्रेष्ठ पनि यी र यस्ता प्रविधिभन्दा टाढा रहेका थिएनन् । उनी पनि प्रबिधीमा दख्खल राख्ने भएकै कारण पछिल्लोपटक चर्चित बनेको सामाजिक सञ्जाल फेसबुकमा जुडिसकेका थिए । उनी पनि यसक्षेत्रमा फेसबुक चलाउने मध्येका पुराना ब्यक्ति थिए । समयसगैं फेसबुकले आफ्नो सेवा तथा फिचरिङ्गमा अपग्रेड गर्दै लगिरहेको थियो । जसले यसको प्रयोग र यसप्रतिको विश्वासले आम प्रयोगकर्ताको मन जितिरहेको थियो ।
सामाजिक सञ्जाल फेसबुकमा जुडिएका समीरमान श्रेष्ठ सञ्चारकर्मीसगैं यसक्षेत्रमा चर्चित कार्यक्रम प्रस्तोताका रुपा ख्याती कमाएका ब्यक्ति थिए । जसका कारण उनीसगं थुप्रै ब्यक्तिहरु मोबाईल अनि सामाजिक सञ्जालमार्फत जोडिन चाहन्थे र जोडिएका पनि थिए ।
अझ नेपालगन्ज साविक मध्य तथा सुदूर पश्चिम क्षेत्रकै शैक्षिक, औधोगिक, व्यापरिक अनि जागिरका लागि हब थियो । अहिले देश संघीयतामा गएपनि त्यो बेलाको आकार्षण घटेको छैन । नेपालगन्जलाई नै कर्मथलो, शैक्षिक थलो, ब्यापार, उद्योग मात्र नभइ स्वास्थ्य उपचार र रोजगारीका लागि भारत जाने मुख्य नाकाका रुपमा थियो र अहिले छ पनि । यहाँबाट पनि थुप्रै ब्यक्तिहरु देशका विभिन्न स्थान तथा विदेश समेत गएका थिए । त्यही सेरोफेरोमा जन्मियो ‘नेपालगन्ज ग्यालरी’ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत देश तथा विदेशमा रहेका आफ्ना फ्यान अनि चिनेजानेका ब्यक्तिहरुसगंको कुराकानी र भलाकुसारीमा एक दिन उनको मानसपटालमा सामाजिक सञ्जाल फेसबुकमा ग्रुप क्रियट गर्ने सोँच आयो । त्यसो त उनले आफ्नो फेसबुकको नोटिफेकशनमा विभिन्न नामका ग्रुपहरु नदेखेको भने होइनन् ।
विशेष गरि जो पढाई र कामको शिलसिलामा नेपालगन्ज छोडेर देश विदेश गएका छन् उनीहरुले यहाँको खबर र जानकारी सहजै पाउलान् भन्ने सोँच राखेर नेपालगन्ज ग्यालरी खोलेको यसका परिकल्पनाकार तथा सञ्चालक समीरमान श्रेष्ठ बताँउछन् । ‘नेपालगन्जलाई चिनाउनु र यसक्षेत्राबाट बाहिर रहेका तथा यही रहेकालाई एकिकृत पार्ने उद्देश्य नै थियो ’ उनी नेपालगन्ज ग्यालरी स्थापनाका ती दिन सम्झंदै भने ।
यो बेलासम्म सामाजिक सञ्जाल फेसबुकले देशमै थुप्रै चर्चा कमाइसकेको थियो । त्यसपछि उनले नेपालगन्ज ग्यालरीलाई सामाजिकरण गर्दै यस क्षेत्रकै खुला मञ्चका रुपमा प्रस्तुत गरे । त्यो कार्यले ११ वर्ष वितेको थाहै भएन । उनी भन्छन् सुरुवात गर्दा र अहिलेको अवस्थामा नेपालगन्ज ग्यालरीलाई यती धेरै माया गर्ने र यो सगं जोडिने ब्यक्ति पाउँला भन्ने सोँचकेको समेत थिएन ।
त्यसैले सामाजिक सञ्जाल फेसबुकमा चर्चित पश्चिम नेपालकै लोकप्रिय फेसबुक ग्रुप ‘नेपालगन्ज ग्यालरी’ स्थापनाको ११ वर्ष वितेको छ । आजकै दिन ११ वर्ष अघि सामाजिक सञ्जाल फेसबुकमार्फत यो ग्रुप सञ्चालनमा आएको थियो । सन् २००९ जुलाईदेखी सञ्चालनमा आएको सामाजिक सञ्जालको यो ग्रुपले यसक्षेत्रमा विभिन्न सामाजिक गतिविधि गर्नुका साथैमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
नेपाल तथा नेपाल बाहिर रहेका बाँकेबासीलाई प्रत्यक्ष रुपमा जोड्न मददत पुर्याउँदै आएको नेपालगन्ज ग्यालरीले विषम परिस्थितका कारण समस्यामा परेका ब्यक्तिहरुलाई आर्थिक तथा भौतिक सहयोग उपलब्धता गराउनुका साथै सामाजिक विसंगति, विकृति तथा सामाजिक उत्तरदायित्वका लागि सम्बन्धित निकाय र आम नागरिकलाई घच–घाचाउने काम समेत गर्दै आएको यसका परिकल्पनाकार तथा सञ्चालक समीरमान श्रेष्ठ बताउँछन् ।
सामाजिक गतिविधिहरुमा युवा वर्गलाई सक्रिय बनाउन समेत प्रेरीत गरेको नेपालगन्ज ग्यालरीले उत्तिकै मात्रामा आम नागरिकबाट विश्वास र समर्थन पाइरहेकोछ । जसका कारण पछिल्लो समय नेपालगन्ज ग्यालरीमा सदस्य संख्या बढेर एक लाख ६ हजार ५ सय पुगेको सञ्चालक श्रेष्ठले सेतोखरीलाई जानकारी दिए ।
ग्रुपमा १ लाख बढि सदस्य जोडिएसगैं ग्रुपलाई चलायमान गराउन, यसको विश्वसनीयता र प्रभावकारितामा योगदान दिने ग्यालरीका थप एडमिन, प्रोमोटर, सदस्य लगायत आम नागरिकलाई नेपालगन्ज ग्यालरीका सञ्चालक श्रेष्ठले बधाई र धन्यबाद दिए ।
उनले आगामी दिनमा नेपालगन्ज ग्यालरीलाई विवादरहित, क्रियटिभ, नयाँपनका साथ विभिन्न सामाजिक कार्य समेत गर्दै लाने बताए ।
उनी भन्छन्–‘ ग्यालरी त हामी सबैको हो । तर, प्राय केही सदस्यहरू ग्रुपमा अन्य पोस्टहरु नहेर्ने अनि उही पोस्टहरु दोहोराएर गर्न खोज्ने, जथाभावी पोष्ट गर्ने, त्यस्तो पोस्टहरु एप्रुभ नहुँदा नबुझेर झगडा गर्न आउने, अन्य ग्रुपतिर ग्यालरीका बारेमा जथाभाबी लेख्ने गर्दा चित्त दुख्छ । यो मेरा लागि मात्र होइन हामी सबैका लागि नराम्रो हो ।’
उनले अगाडी थपे–‘ग्रुपमा पोस्टहरु फिल्टर गर्दा गर्दै पनि कमेन्ट सेक्सनमा कहिलेकाहीँ धर्म र राष्ट्रियताको कुरा लिएर सदस्यहरुमा वादविवाद हुने गरेको छ । अपशब्द प्रयोग गर्ने, अरुलाई होच्याउने, राष्ट्रियताविरुद्ध कमेन्ट गर्ने लगायतका कार्य भएको छ । तर, कमेन्ट गर्नेहरूलाई तुरुन्तै ब्लक गर्नेगरेकाछौं ।’
नेपालगन्ज ग्यालरीले ११ वर्षे यात्रा पुरा गरेको स्मरण गर्दै उनले भने ‘अहिले एउटा सानो प्रयासले सार्थकता पाएको अनुभव भएको छ । कसैलाई केही जानकारी चाहिएको छ वा सहयोग चाहिएको छ भने शुरुमै ग्रुपलाई सम्झन्छन् । ग्रुपमा पोष्ट्याउँछन् । ग्रुप प्रति आम नागरिकको विश्वास बढेको छ ।’ श्रेष्ठले थपे –‘ग्रुपबाट सकेसम्म सामाजिक कार्यमा लागेका छौं, सक्ने जति सहयोग गर्ने गरेका छौं । त्यसको साथै ग्रुपले देश बिदेशमा रहेका सबैलाई जोडेको छ । स्थानीय ताजा खबरहरु सबैले तुरुन्तै प्राप्त गर्छन् ।’