नेपालगन्जको एकलैनी स्थित पसलमा चुरापोते खरिद गर्दै ग्राहक । तस्विर : विजय मल्ल /सेतोखरी
नेपालगन्ज : साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो । साउनभरी माछामासु, लसुनप्याज नखाएर, नङ, कपाल नकाटेर व्रत बस्ने चलन छ । विशेषगरी महिलाका लागि त साउन झनै रमाइलो र रोचक हुने गरेको छ । यो महिनामा लगाइने हरियो चुरा र पहिरनहरुको खासै धार्मिक महत्व नभए पनि साउनमा प्रकृति र पोशाकको तालमेल चाख लाग्दो देखिन्छ ।
त्यसो त साउनमा हरियो पोशाककै नाममा चुरा, मेहन्दी र हरिया लुगाको व्यापार पनि अघिल्ला वर्षहरुको तुलनामा बढ्दै गएका छन् । यसअघि साउन महिना लागेसँगै नेपालगन्जका चुरा, पोते र मेहन्दीको बजारमा छुटै रौनक हुन्थ्यो । हरियो चुरा र पोते किन्ने महिलाहरुले पसल भिडभाड हुन्थ्यो, पसलेहरुलाई भ्याइनभ्याइ हुन्थ्यो । तर, यसवर्ष कोरोना महामारिसगैं भएको लकडाउनका कारण ब्यापारब्यवसाय लगायत प्रत्यक्षरुपमा प्रभावित बनेकाछन् ।
पछिल्लो समय सरकारले लकडाउन केही खुकुलो बनाएपनि उपभोक्ताको सहज उपस्थिती र ब्यवसायीले माग बमोजिमको सामान भित्र्याउन नसक्दा यहाँका ब्यवसायीले स्टकमा रहेका सामान बेचिरहेकाछन् ।
साउन महिनामा महिलाहरुको हरियो चुरा र पोशाक प्रतिको आकर्षण देखेर बजारमा साउन सुरु हुनु पहिलेदेखी नै हरिया चुरा र पहिरनहरु सजाएर राख्ने गरिन्थ्यो । तर, बन्दाबन्दीका कारण स्टक राखेका ब्यवसायीले मात्र उक्त सामान विक्रि गरिरहेकाछन् । लकडाउन र सामाजिक दूरीका कारण अधिकाशंले घरपरिवार र सामाजिक सञ्जालमा मात्रै साउन महिना मनाएका छन् ।
विवाहित हुन् या अविवाहित, हरिया पहिरनमा सबै युवतीहरुको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवती पनि आर्कषण र रमाईलोको लागी हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गर्दछन् ।
पछिल्लो समय धेरै सेलिब्रेटीहरुले पनि साउनलाई फेसनको रुपमा लिएका छन् भने मेहेन्दी, चुरा र हरिया पहिरन लगाएर साउनलाई फेसनमय बनाएका छन् । विभिन्न कारणले साउन अहिले हरियालीमय बनेको छ । हातमा मेहेन्दी, हरियो चुरा र हरिया पहिरन नलगाइ हिड्ने महिलाहरु बिरलै देख्न पाइन्छ ।
तर, कोरोनाभाइरसको महामारीका कारण यो वर्ष साउन महिनाको स्वरुप नै फेरिएको छ । यसअघि, भिडभाड हुने नेपालगन्जको एकलैनी र सदरलाईनका पसलहरुमा फाट्टफुट्ट ग्राहकहरु देखिन्छन् । व्यापारीहरु भन्छन्, ‘पहिलाको भन्दा धेरै नै कम व्यापार छ । मानिसहरु फाट्टफुट्ट मात्र आउने गर्दछन् । यसपालि कोरोनाले गर्दा अप्ठेरो भएको छ ।’
अरु समयमा यी कुराको महत्व नभएपनि साउनमा भने विशेष मानिन्छन् र महिला यीनैमा झुम्मिन्छन् । साउनमा चुरा व्यापारीलाई भ्याई नभ्याई हुन्छ । उनीहरु बिहानदेखि साँझसम्म चुरा, मेहन्दी, टिकाको कारोबार गरिरहेका भेटिन्छन् । अरुबेला नेपालगन्जका सडकछेउ पेटीमामा समेत हरियो चुरा, मेहन्दी राखेर बिक्रीगरिरहेको देख्न सकिन्छ ।
साउनलाई लक्षित गरि नेपालगन्जका विभिन्न स्थानमा चुरा, पोते, मेहेन्दी लगायतका सामाग्रीको राम्रो ब्यापार हुने गर्छ । साउनको महिनासगै नेपालीहरुको चाडपर्वको सुरुवात हुने र ब्यापार ब्यवसाय पनि राम्रो हुने नेपालगन्जका ब्यापारीको बुझाईछ । अन्य दिन भन्दा साउनमा चुरा, टिकुली, मेहेन्दी, पोते, लुगालत्ता लगायतका सामाग्रीको बिक्रि बढि हुने गरेको नेपालगन्जका ब्यापारी बताउँछन् ।
नेपालगन्जको एकलैनीमा चुराटिकुली ब्यापार गर्ने राजेश कनोजिया भन्छन्– ‘साउन लगत्तै नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज हुने भएकाले यी दुई चाडका कारण ब्यवसाय बढि हुने गरेकोछ । तर, यो वर्ष कोरोना भाइरस महामारी र बन्दाबन्दीले ब्यापार ब्यवसाय सबै ठप्प छ । घाटामा चलिरहेकोछ ।’
साउनलाई लक्षित गरि नेपालगन्जका विशेषगरि एकलैनी, सदरलाईन, घरबारीटोल र बागेश्वरी मन्दिर परिसर लगायतका स्थानमा चुरापोते, टिकुली, मेहेन्दी लगायतको ब्यापार हुने गर्दछ । धर्मसंस्कृति र फेसनसगं जोडिएको साउने संक्रान्तिको आफ्नो छुट्टै महत्व र विशेषता छ नै किशोरीहरुका लागि फेसनका रुपमा यसले स्थान लिएपछि यसको महत्व झन बढेको हो ।
साउनमा हामी चुरा ब्यापारीलाई भ्याईनभ्याई हुने अर्का ब्यापारी बताउँछन् । समग्र देशमै सस्तो र राम्रा डिजाईनका चुराहरु एकलैनी बजारमा मात्र पाईने विगत ३२ वर्षदेखि चुरा, टिकुली, पोतेको ब्यापार गर्दै आएका एक्लैनीका ब्यापारी इस्माईल मियाँ बताउँछन् ।
साउन महिना महिलाहरुका लागि विशेष महत्व राख्दछ । यो महिना भर उनीहरु भगवान शिवको व्रत बस्ने गर्दछन् । साउनको पहिलो दिन नेपालगन्ज स्थित बागेश्वरी परिसरमा रहेको जुङ्गेश्वर महादेवको पुजाअर्चनामा भक्तजनको भीड लाग्ने गर्दछ । तर, बन्दाबन्दी र कोरोना महामारिका कारण बागेश्वरी मन्दिर पुगेका श्रद्धालुहरु मन्दिर बाहिरैबाट पुजा दर्शन गरेर फर्केका छन् ।
ब्यापारिहरु विशेष गरि यो महिना अरु सबै सामान थन्क्याएर हरियो, रातो, पहेँलो चुरा र पोतेमै फोकस हुन्छन् । खुद्राव्यापारी र ग्राहकलाई सामान दिन उनीहरुलाई भ्याइनभ्याइ हुन्छ । साउन चुरा व्यापारीका लागि दशैँ आएसरी नै हुन्छ ।
एकलैनीमा कस्मेटिक पसल चलाउने मीना लखेर अरुबेला चुरा धेरै नबिक्ने भएपनि यो महिना माग धेरै आउने बताउँछिन् । ‘अरुबेला खासै चुरा बेचिदैन । ग्राहक कम आउनेगर्छन् । तर, साउनमा त हरियो चुरा नल्याए त कामै हुन्न । अरुबेला दैनिक एकदुई दर्जन बिक्रि भए पनि यो सिजनमा दिनहुँ ४०/५० दर्जनभन्दा बढी बिक्रिहुन्छ ।’ मीनाले थपिन् ।
यस्तै एकलैनीका अर्का ब्यापारि विगत ५ वर्षदेखि कस्मेटिक पसल सञ्चालन गर्दै आएका राजु गुप्ता पनि सधैँ साउनमा आफ्नो पसलमा घुँइचो बढ्ने बताउँछन् ।
उनले भने–‘म त साउन लाग्नुअघि नै सामान ल्याइसक्छु । यो समय धेरै बिक्ने हुनाले नाफापनि हुन्छ । साना बालबालिकादेखि बृद्धबृद्धासम्मले चुरा खरिद गर्ने गर्छन् । विवाहितले त चुरा प्राय लगाउँछन् नै, अहिले अविवाहित महिला विशेष गरि किशोरीले धेरै जसो चुरा किन्ने गरेकाछन् ।
साउनमा हरियो चुराका साथमा राता, नीलो र पहेँलो चुरा मात्र नभएर पोते, मेहेन्दी लगाउने पनि चलन छ । चुरा पसलमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा मेहन्दी बेच्न र लगाइदिन बसेका व्यापारी थुप्रै भेटिन्छन् । साउनको पूर्वसन्ध्यामा नेपालगन्जका विभिन्न ब्यूटिपार्लरहरुमा मेहेन्दी लाउनेको घुँइचो देख्न सकिन्छ ।
नेपालगन्जमा चुरा, पोते र मेहेन्दी विशेषगरी भारतबाटै ल्याइने गरेको व्यापारी बताउँछन् । तर, यसवर्ष कोरोना भाइरसका कारण भएको देश लकडाउनले सामान भित्र्याउन सकिएको छैन । पुरानै राखिएका सामाग्री बेच्नुको विकल्प नभएको उनीहरु बताउँछन् ।
नेपालगन्ज बजारमा काँचका, प्लाष्टिकका, धातु (मेटल)का चुरा पाइन्छन् । पहिले–पहिले काँचका चुराको प्रचलन बढी थियो भने अहिले आएर प्लाष्टिक र मेटलको माग बढेको छ । नफुट्ने र धेरै टिक्ने हुनाले यसको मागमा वृद्धि भएको ब्यापारिको भनाई छ ।
बजारमा अहिले बुट्टा र गुणस्तरको आधारमा सामान्य काँचको चुराको ५० रुपैयाँ प्रति दर्जन देखि २०० बढि रुपैयाँसम्म पर्छ । त्यस्तै प्लाष्टिक र मेटलका चुराहरु भने तुलनात्मक रुपमा महंगो हुने व्यापारी बताउँछन् । प्लाष्टिकका चुरा ५०–७० रुपैयाँ प्रतिदर्जनदेखि २ सय रुपैयाँ प्रतिदर्जन सम्म पर्छ । नफुट्ने र धेरै टिक्ने हुनाले मेटलका चुराको मूल्य भने बढी नै रहेको छ ।
मेटलका चुराहरु दर्जनको हिसाबले भन्दापनि सेटमा आउँछन् । यस्ता सेट चुरा ६० रुपैयाँदेखि सुरु हुन्छ । सामान्य रुपमा बजारमा सादा काँचका चुरा ३० रुपैयाँ प्रति दर्जन र मेटलका डिजाइनदार चुरा १ सय रुपैयाँदेखि ५ सय रुपैयाँ सम्मका चुराको माग भएको व्यापारीको भनाइ छ । साउनको पहिलो दिन विशेष गरि यो पर्व मनाउने गन्छि । यस दिन खीर लगायता मिष्ठान पकवान बनाई परिवारमा बाँडेर खाने चलन छ । साउन महिनामा लुतो फाल्ने परम्परा भएकाले लुतो फाल्ने परम्परा रहेकोछ ।