नेपालगन्ज ६ पुष: जानकी गाउँपालिकामा रहेकामध्ये एक सय ९३ अपाङ्गता भएका बालबालिका उपचारबाट बञ्चित छन् । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रको तथ्याङ्कअनुसा, २ सय २८ जना शारीरिक अपाङ्गता भएका बालबालिकामा ३५ जना मात्रै उपचारको लागि सम्पर्कमा आएका छन् । ती मध्ये ६ जना उपचारपछि घर फर्केका छन् । २९ जना उपचाररत रहेको केन्द्रका निर्देशक विकासमान सिंहले जानकारी दिए । गाउँपालिकाले उपचारबाट बञ्चित शारीरिक अपाङ्गता भएका बालबालिकालाई उपचारमा सहयोग गर्ने भएको छ ।
प्रत्येक वर्ष कम्तीमा १२ जना बालबालिकालाई उपचार गर्ने गरी अपाङ्ग उपचार कोष खडा गर्ने नीतिगत व्यवस्था गर्न लागिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए । उनले प्रत्येक वर्ष औषधि उपचारका नाममा व्यक्ति पिच्छे सहयोग गरेर समस्या समाधान नहुने भएकोले शारीरिक अपाङ्ता भएका बालबालिकाको उपचार गर्ने अस्पतालसँग समन्वय गरेर आवश्यक सहयोग गर्ने नीति लिईएको जानकारी दिए । शारीरिक अपाङ्गता भएका व्यक्तिको अभिभावक हुनु राज्यको जिम्मेवारी भएकोले त्यस्ता व्यक्तिहरुलाई उपचारमा सहयोग गरेर जिविकोपार्जन गराउनतर्फ गाउँपालिका लागेको अध्यक्ष यादवको भनाई छ ।
गाउँपालिकाका सबै जनप्रतिनिधिलाई आ–आफ्ना वडा तथा टोलमा रहेका शारीरिक अपाङगता भएका व्यक्तिलाई उपचार प्रक्रियामा ल्याउन सहयोग गर्न उनले आग्रह समेत गरे । तथ्याङ्क विभागको जनगणना २०६८ अनुसार जानकी गाउँपालिकाको जनसंख्या ३७ हजार ८ सय ३९ रहेकोमा अहिले वृद्धि भएर ५० हजार ६ सय ६८ जना रहेको छ । प्रत्येक सय जनामा २ जना कुनै न कुनै रुपमा शारीरिक अपाङ्ग हुने औषतका आधारमा जानकी गाउँपालिकामा २ सय २८ जना शारीरिक अपाङ्गता भएका बालबालिका रहेको अनुमान गरिएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले शारीरिक अपाङ्ता भएका व्यक्तिको उपचारको लागि नीतिगत रुपमा बजेट छुट्याएर आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए ।