‘म अझैं सानी छु’


‘म अझैं सानी छु’

‘छोरी ठूली भई’ यो वाक्य म घर आएकै दिनबाट सुन्दै छु । बाबा मम्मीलाई यो ठूली भएकी छोरीलाई समाजले घरमा नराख भन्दै गरेको त मैले पनि नबुझेको कहाँ हो र ? तर, पनि प्रश्न सोधेर नभ्याउँदै प्याच्च बोली हाल्ने म आजकल सबैका नजरमा ठूली भएर होला, ‘नानी, बिहे कहिले गर्ने ?’ भनि सोध्ने मेरा छिमेकीहरूलाई झुठो मुस्कान बाहेक केही पस्किन्न ।

म ठ्याक्कै भन्नु पर्दा अस्ति भर्खर १८ वर्ष पुगेँ अनि व्यहोराले भने ४–५ वर्षको उमेरमा अड्किएकी छु । मलाई अझै पनि मम्मीको काखकै माया लाग्छ । बाबासँग बजार घुम्न र बालापनमा जस्तै साँझ–साँझ आइसक्रिम खान जानू जति रमाइलो केही लाग्दैन ।

बाबामम्मी कतै जाँदा चक्लेट ल्याइदिनु है भन्न अझैं बिर्सिएकी छैन । र हरेक वर्ष जन्मदिन मनाउने रहर अझैं सेलाई सकेको छैन । अनि यो सबै कुराहरुबाट राम्ररी परिचित हुनुहुन्छ मेरा बाबामम्मी । र, पनि म अझै सानी छु भनेर स्वीकार्न तयार हुनै खोज्नु हुन्न ।

म आफैं के चाहन्छु भनेर बुझ्ने भइसकेको छैन । अनि मलाई अन्जान व्यक्तिको हात समाई आगोको केही फेराका भरमा उस्को जिवन बुझ्ने बनाउन खोज्दैछ यो समाज । म आफ्नै रिस सम्हाल्न नसक्नेलाई परिवार सम्हाल्न पर्छ पछी भन्दै नथपिएकै जिम्मेवारी बोध गराइदैंछ । अनि तिमी अब ठूली भयौ भन्दै अनगिन्ती रहरहरु रहेको मेरो बालख मनलाई पलपल मारिदैंछ ।

Kanti Aarogya Hospital Nepalgunj

मलाई आफ्ना रहर, चाहाना र ईच्छाका सामु कहिल्यै कसैलाई जित्न नदिनु भनेर सिकाउने बाबा आजकल ‘छोरीलाई सम्झाउ जसरी भए पनि’ भनिरहेको देख्छु, सुन्छु । र, पनि एक शब्द नबोली हत्तारिएर कोठामा मेरै प्रतिक्षामा रहेको एकान्ततालाई अङ्गाल्छु ।

१७–१८ वर्षमै विवाह गरिदिनु पर्ने जस्तो बानी त केही छैन मेरो । बाबामम्मीले कहिले कसो मैले पोष्ट गर्ने साथीहरूसँगको फोटाहरुकै भरमा छोरी शहर गएर केटाहरूको संगतले बिग्रिसकी सोच्नु भा’को होकी । प्रेम विवाह गरेर समाजका सामू नाक काटेर गइदिन्छे सोँच्नु भयो की वा म कसैसँग प्रेममा परेको छु भनि सोच्नु भयो मलाई था’ छैन ।

म बाबामम्मीसँग लड्न आँट गर्ने भइसकेकी छैन । तर, दिनहुँ जीवनबाट हार मान्नकै लागि सकेको मेरो कलिलो मष्तिष्कलाई रहरहरु त अझंै बाँकी नै छ भन्ने मेरो मनसंग लड्न बाध्य बनाउँछु । बाबा आमालाई बालविवाह अपराध हो भन्न जसोतसो गरेर हिम्मत जुटाउँदा जुटाउँदै सबै आँट हराएर गइदिन्छ ।

मैले आफैँलाई चोट पुर्याउन पनि नसोँचेको हैन । तर, म त्यति कमजोर हुनुहुन्न जस्तो लाग्छ । मर्नु पक्कै पनि कुनै समस्याको निष्कर्ष पनि त हैन नि । कसैले बाबामम्मीलाई बुझाइदिएको भए हुन्थ्यो भनि सोँच्दै आँखा भरी आसुँ र मनभरी आशाका साथ निदाउँछु हरेक रात ।

आमा, ‘म यति चाँडो बिहे गर्दिन है ! भन्दा–भन्दै मेरो ‘शिव टाण्डब’ टोन भएको अलार्म बज्छ र, म झस्किंदै ब्युँझिए ।

म त केवल एक उदाहरण पात्र हुँ । म जस्तै कयौं किशोरीहरू घर परिवारको दबाबका कारण सके आत्महत्या नत्र ईच्छा, चाहाना र रहरहरुको हरेक दिन हत्या गर्न बाध्य छन् । अनि, रहर र सपनाहरुको उचाईमा भर्खर उड्न सिकेका कलिला पखेटाहरु ‘तिमी ठूली भयौ’ भनेर प्रत्यक दिन काटिन्छन् । मेरा बाबामम्मीको मात्रै हैन यस्तो सोँच राख्ने प्रत्यक अभिभावकको सोँच परिवर्तन हुन जरुरी छ ।

मेरालाई त केबल यी कुराहरु सपनामा हुँदै थियो । तर, यही परिस्थितिमा रहेका थुप्रै दीदिबहिनीहरु चाहीँ के भनेर बुझाइरहेका होलान्, आफ्नो परिवार अनि समाजलाई की ‘म अझैं सानी छु’ ।

-स्वीकृती शर्मा, नेपालगन्ज