(विश्लेषण)
कोरोना संक्रमणका कारण बन्द भएको नेपाल–भारत सीमानाका खोल्ने वा नखोल्ने बिषयमा यतिबेला चर्को चर्चा, बहस, छलफल, तर्क–विर्तक भैरहेका छन् ।
कतिपय व्यक्तिगत व्यवसायी लाभका दृष्किोणले बोलिरहेका छन् । भने कतिपय भारतीय बजारमा नेपाली उपभोक्ताको उपस्थितिदेखि हतासिएर बोलिरहेका छन् । तर, वास्तविक र यथार्थ धरातलमा टेकेर दीर्घकालिन सोँचका साथ कँहीकतैबाट गम्भीरर्यता आएको देखिदैन् ।
नेपाल–भारतबीचको सीमा पुरै बन्द गर्न दुवै देशबीचको ऐतिहासिक सम्बन्धको हिसाबले भन्दा पनि सामाजिक परिवेश, स्रोतसाधन र व्यवहारिक रुपमै पनि सम्भव देखिँदैन । नेपाल र भारतबीच १७५१ किलोमिटर लामो खुला सीमा रहेको छ । त्यसमध्ये साना, ठूला, कच्ची, पक्की गर्दा ५ सय बढी नाका छन् । जहाँबाट दिनहुँ हजारौंको संख्यामा मानिसहरुको ओहोरदोहोर गर्दै आएका छन् । ६ वटा प्रमुख नाका र डेढ दर्जनभन्दा बढी साना नाकाहरु छन् । जहाँबाट दुई देशबीचको व्यापार हुँदै आएको छ । यी नाकाले दुईदेशको ब्यापारमात्रै होइन सामाजिक, साँस्कृतिक सम्बन्धलाई पनि उत्तिकै महत्वका साथ जोडेको छ ।
यति लामो सीमा बन्द गर्ने विषयलाई पहिलो त सामर्थ्य र पूर्वाधारका हिसाबले पनि हेर्नुपर्ने देखिएको छ । दुई देशबीचको सीमामा भारतले करिब ५ किलोमिटरको दूरीमा सीमा सुरक्षा बलको चौकी राखेको छ । नेपालतर्फ भने करिब १५ किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको चौकी छ । त्यो पनि औपाचारिक उपस्थितीका लागि मात्र । नेपाल–भारत सीमामा तारबार र पर्खाल केही नभएका कारण मानिसहरुको आउजाउका लागि भारततर्फ ५ किलोमिटर र नेपालतर्फ १५ किलोमिटर दूरी पर्याप्त हुन्छ ।
अर्को प्रमुख कुरा सामाजिक परिवेशको कुरा पनि हो । नेपाल र भारतबीचको सीमा बन्द गर्ने विषय झट्ट सुन्दा जति आकर्षक लाग्छ सामाजिक परिवेशलाई हेर्ने हो भने त्यत्तिकै अव्यवहारिक पनि । विशेषगरी तराईमधेसमा हेर्ने हो भने अझैं पनि सयौं बस्ती यस्ता छन् जहाँ नेपालतर्फबाट प्रवेश गरेपछि सिधै घरभित्रैबाट भारततर्फ निस्किन्छ । ती बस्तीहरुका लागि ‘नोम्यान्स ल्याण्ड’ को व्यवहारमा कुनै अर्थ छैन ।
यस्तो सामाजिक परिवेशमा सीमा पुरै बन्द गर्नुपर्छ भन्नु कत्तिको व्यवहारिक हुन्छ आफैमा सोचनीय कुरा हो । अझ त्योभन्दा पनि एक पटक मानवीय पक्ष हेरौं । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि यहाँ काम गर्ने नेपालीहरुमार्फत् नेपालमा पनि कोरोना भाइरस भित्रिन सक्छ भन्दै सीमा बन्द गर्नुपर्ने माग भइरहेको देखिन्छ । तर, मानवीय पक्षबाट हेर्दा यो सम्भव छ त ? भारतमा रोजगारीका लागि वर्सेनि हजारौंको संख्यामा नेपालीहरुका जाने गरेका छन् । रोजगारीका लागि भारत जाने नेपालीहरुको तथ्यांक न त नेपाल सरकारसँग छ न भारतसँग नै । तर, यो संख्या हजारौंमा मात्र नभई लाखौंमा छ भन्न कुनै अनुसन्धान पर्खनु पर्दैन ।
गत वर्ष भारतबाट मात्र करिब एक सय अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिनुले धेरै कुरा बताउँछ । भारतका नयाँदिल्ली, मुम्बई, चण्डीगढ, लुधियाना, अमृतसर, जयपुर, बैंग्लोर, चेन्नई, गोवा, सिमला, जम्मू–कश्मीर, नैनितालमा काम गर्न जाने नेपालीहरुको बाक्लो उपस्थिति पाइन्छ । तीमध्ये केही मौसमी कामका लागि जान्छन् भने बाँकी उद्योग, कलकारखानादेखि रेस्टुरेन्ट तथा होटलमा काम गर्न जाने गरेका छन् । केहीले भने सानोतिनो व्यवसायसमेत गर्ने गरेका छन् ।
कोरोना महामारीको त्रासले अहिले सबैभन्दा बढी असर यिनै नेपालीहरुमा परेको छ । विशेषगरी मुम्बई, बैंग्लोर र दिल्ली जहाँ नेपालीहरुको बाक्लो उपस्थिति छ । यी सहरहरु आशिंक ‘लकडाउन’ गरिएको हुँदा उनीहरुको रोजगारी प्रत्यक्ष प्रभावित भएको छ ।
होटल, रेस्टुरेण्टमा काम गर्ने नेपालीहरुमध्ये धेरैले रोजगारी गुमाएका छ्न् भने बाँकीलाई बिदामा पठाइएको छ । व्यवसाय नै ठप्प भएकाले उनीहरुसामु घर फर्किनुको विकल्प छैन । विद्यार्थीहरुलाई बस्ने होस्टल खाली गराइएको छ । भाडामा बस्ने नेपालीहरुलाई भीडभाड भयो घरबेटीहरुले घर खाली गर भनेका छन् । त्यसमाथि नेपालीहरुमा आफैंमा कोरोनाको त्रासबाट पनि त्यत्तिकै भयभित पनि बनाएको छ । भविष्यमा दुवै मुलुकबीचको छलफल र परामर्शमा यसको टुंगो लगाउन सकिने छ । यस विषयमा प्रबुद्ध समूहले पनि आफ्नो अन्तिम रिपोर्टमा पक्कै पनि ठोस् सुझाव दिएकै हुनुपर्छ ।
नेपाल–भारत सीमा नाका खुलेसँगै आम नेपाली उपभोक्ता दैनिक उपभोग्य सामान खरिदका लागि भारतीय बजार जाने निश्चित भएपछि अहिले नै सीमानाका नखोल्न नेपालगन्जका व्यवसायीले प्रशासनलाई दबाब दिदै आएका छन् । सीमावर्ती सहरका बजार नेपालीकै भरमा परेकाछन् । यसमा नेपालगन्ज उपभोक्तामैत्री देखिदैन् । जसले गर्दा पनि आम नेपाली उपभोक्ता भारतीय बजार जाने गरेका छन् ।
सरकारले चैत ११ गतेदेखि गरेको बन्दाबन्दी १२० दिनपछि खोलेसँगै अब सीमानाका पनि खुल्छ कि भन्ने त्रासमा यहाँका व्यवसायी देखिएका छन् । सीमानाका खुले नेपाली उपभोक्ताको रूपैडिहा बजारमा पुरानै अवस्था देखिने छ । अहिले सीमानाका बन्दकै कारण भारतीय रूपैडिहा बजार सुनसान छ । उनीहरुको ब्यापार व्यवसाय चौपट भएकोछ । यसअघि दिनहुँ नेपाली भारतीय बजार रुपैडिहामा किनमेलका लागि जाने गरेका थिए । यो तथ्यांकलाई आधार मान्दा भारतको रुपैडिहामा एकदिनमै करिब १० करोडको नेपाली रुपैयाँ बाहिरिने गरेको तथ्यांकले देखाएको थियो । तर, नाका खुलेपछि यो अवस्था सतप्रतिशत फेरिनेछ । नेपालगन्जको बजार सुनसान र भारतीय बजार भरिभराउ देखिनेछ ।
लकडाउन खुला पारिएझैँ नेपाल–भारत सीमाना पनि खुकुलो पारिनुपर्ने उपभोक्ता दीपक खनाल बताउँछन् । उनले भने ‘जसले जति आदर्शका गफ गरेपनि भारतीय बजार नगएर नेपालीको केही हुनेवाला छैन् । यसैले नेपालगन्जका व्यवसायीले आदर्शका गफ नगर्दा हुन्छ सीमानाका खोलिनुपर्छ नेपालगन्जमा गर्ने कि भारतीय बजारमा सामान खरिद गर्ने त्यो उपभोक्ताको ईच्छा हो । जर्बरजस्ती नजाउ भनेर कहाँ हुन्छ ।’ उनले थपे ‘यदि सीमानाका बन्द नै गर्ने भए दुईचार महिना कि सधैका लागि बन्द गरौं । होइन भने दुईचार महिनाको नाटक गर्दैमा आम उपभोक्ता खुलेपछि भारतीय बजार जान छोडनेवाला छैनन् ।’
अहिले खेतीको बेला मल नपाएर किसान रातभर सीमानाकामा जाग्राम बस्दै आएका छन् । कोहलपुरका युवा रञ्जन केसीले भने –‘नाका बन्द गर्दा नेपालगन्ज, कोहलपुरका व्यवसायीलाई असर नपर्ला यहाँका उपभोक्ता, किसान, सर्वसाधारण नागरिकको जीवनमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।’
उनी भन्छन् –‘उपभोक्तालाई सामान खरिदमा जान रोक लगाउने नियत यहाँका व्यवसायीको हो भने यहाँको बजार उपभोक्तामैत्री हुन जरूरी छ ।’ उनले भने ‘पेट्रोलियम पदार्थदेखि सबै उपभोक्ता सामान ढुवानीमा पनि रोक लगाउँनुपर्छ । हामी भने सीमानाका बन्द गर्न दबाब दिनु अमानविय कार्य हो ।’
भारतमा दैनिक कोरोना सक्रमित भेटिरहेकोछन् । बिहीबार सार्वजनिक तथ्यांकले भारतमा कोरोना भाइरसका कारण दिनहुँ एक हजार बढिको मृत्यु भइरहेकोछ । यो तथ्यांकले विश्वमै कोरोनाका कारण दिनहुँ ज्यान गुमाउनेको संख्यामा भारत तेस्रो मुलुक बनेकोछ । अझ अर्को डरलाग्दो खबर के भने भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको कोरोना सम्बन्धि तथ्यांकले भारतको ग्रामीण बस्तीमा कोरोना भाइरस पुगिसकेकोछ । अर्थात भारतमा कोरोना भाइरस समुदायमा फैलिसकेकोछ । यस्तो अवस्थामा कुनै पनि हालतमा सीमानाका तत्काल खोल्न नहुने नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष नन्दलाल बैश्य बताउँछन् । तर, उनले यहाँको बजार उपभोक्तामैत्री बनाउँनतर्फ कुनै पहल गरेको देखिदैन् ।
कोरोनाका कारण सिर्जित अहिलेको त्रासपूर्ण वातावरणमा नेपाली भूगोलभित्र रहेका नेपालीहरु मात्र सुरक्षित रहनुपर्छ भन्ने सोँचले यदि कसैले नेपाल र भारतबीचको सीमा तत्काल पुरै बन्द गर्नुपर्छ भन्छ भने त्यो मानवीयता र व्यवहारिक दुवै पक्षबाट सम्भव देखिँदैन ।
कोरोना भाइरसको त्रासका बीच आवेशमा आएर नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गर्नुअघि कार्यान्वयनबारे मनन गर्नु आवश्यक छ । यसको बहुआयामिक ढंगबाट दीर्घकालिन विचार पुर्याउदैं यसको निर्णयमा पुग्न जरुरी छ । नेपाल र भारतबीचको सीमा नियमन गर्ने वा आवश्यक परेको खण्डमा बन्द गर्ने विषय दीर्घकालीन महत्व राख्ने विषय हो । यसतर्फ गम्भीर भएर अघि बढे हितकर नै होला कि ? जयहोस ।