नेपालगन्ज २७ मंसिर: पछिल्लो समय बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको छ । यसरी सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउनेमा बैदेशिक रोजगारीका शिलशिलामा बिदेशीएकाहरु बढिरहेको भेटिएको छ । मधेसी र मुस्लिम समुदायमा सम्बन्ध बविच्छेदका घटना धेरै हुने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको न्यायिक समितिमा सम्बन्ध विच्छेदका ३२ वटा मुद्दा दर्ता भएका छन् । यीमध्ये दुईवटा मात्र मेलमिलाप भएको छ ।
१८ वटा मुद्दा अदालतमा पठाइएको नगरपालिकाको कानून उपशाखाले बताएको छ । बाँकी १२ मुद्दा पनि अदालत पठाउने तयारीमा रहेका छन् । नेपालगन्ज उपमहा– नगरपालिकामा सम्बन्ध विच्छेदका लागि निवेदन दिने सबै पुरुष भएको खुलेको छ । भारतबाट बिहे गरेका पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्नेक्रम बढेको कानून उपशाखा प्रमुख माया शर्माको भनाई छ । यसैगरी नरैनापुर गाउँपालिकामा सम्बन्ध विच्छेदका २० मुद्दा दर्ता भएको उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक जयन्तीदेवी श्रीवास्तवले बताइन् । त्यसमध्ये १५ मुद्दा मेलमिलापमार्फत टुंग्याइएको छ । सम्बन्ध विच्छेदका लागि स्थानीय निकायका न्यायिक समितिमा परेका उजुरीलाई हेर्दा जिल्लामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको देखिएको हो । एक वर्षको अवधिमा बाँकेमा ८२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
कोहलपुर नगरपालिकाको न्यायिक समितिमा सम्बन्ध विच्छेदका ६ वटा मुद्दा दर्ता भएका उपमेयर एवं न्यायिक समितिका संयोजक सञ्जुकुमारी थारूले बताइन् । अधिकाशं मुद्दामा मेलमिलाप हुन सकेको छैन् । कोहलपुरमा दर्ता भएका ६ मुद्दामध्ये चारवटा अदालत गइसकेका छन् ।
बाँकी दुईवटा पनि अदालत पठाउने तयारी भइरहेको नगरपालिकाले जानकारी दिएको छ ।यस्तै जिल्लाको राप्तीसोनारी गाउँपालिकाम पनि गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका ६ वटा मुद्दा दर्ता भएका उपाध्यक्ष धनीकुमारी खत्रीले जानकारी दिइन् ।
यसरी दर्ता भएका मध्ये एउटा मुद्दामा मेलमिलाप गरिएपनि ५ वटा मुद्दा छलफलकै चरणमा रहेको उनले बताईन् । सम्बन्ध विच्छेदका लागि निवेदन दिनेमा वैदेशिक रोजगारीमा रहेका पति पत्नी धेरै छन् । खजुरा गाउँपालिकामा सम्बन्ध विच्छेदका पाँचवटा निदेन दर्ता भएका छन् । त्यसमध्ये एउटा मेलमिलाप भएर टुंगिएको उपाध्यक्ष एकमाया बिकले बताइन् । अन्य मुद्दामा छलफल चलिरहेको छ ।