बाढीका कारण वर्षेनी डुब्छन् बाँकेका ११४ गाउँ


बाढीका कारण वर्षेनी डुब्छन् बाँकेका ११४ गाउँ

गत वर्ष बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा आएको बाढीको निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष इस्तियाक शाह । तस्विर : सेतोखरी

नेपालगन्ज : वर्षायाममा बाँकेका विभिन्न पालिकाका वस्ती बर्सेनि डुब्ने गरेकाछन् । वर्षायाममा डुवान, कटान र पटानका कारण बर्सेनि ठूलो धनमालको क्षति समेत हुने गरेको छ । तर, यसको दीर्घकालिन समस्या समाधानको प्रभावकारी उपाय भने अहिलेसम्म कहीकतैबाट हुन सकेकोछैन । जसले गर्दा बाँकेमा बाढी, डुवान र कटानको समस्या ज्यूँका त्यूँ रहदै आएकोछ ।

अझ बाढीका कारण वस्ती डुबिसकेपछि प्रभावित परिवारलाई स्कुललगायतका सार्वजनिक स्थानमा खाने–बस्ने व्यवस्था गर्ने बाहेक समस्याको दीर्घकालीन समाधान पहिल्याउन बाँकेका सरोकारवाला उदासिन देखिन्छन् ।

वर्षेनी आउने बाढीका कारण बाँके जिल्लाका आठ स्थानीय तहका ३५ वटा वडाका ११४ गाउँ बाढीको उच्च जोखिममा रहेको पाइएकोछ । जसमा १०४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोला लगायत साना, ठूला खोलामा आउने बाढीका कारण उच्च जोखिममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, बाँकेले जनाएको छ ।

केन्द्रले राप्तीसोनारी गाउँपालिकाका ९ वटै वडाका ४३ गाउँ बाढीको उच्च जोखिममा रहेको बताएकोछ । देशकै सबैभन्दा ठूलो गाउँपालिका राप्तीसोनार गाउँपालिका वडा नम्बर–१ का सिक्टा, जरुवा, बैरिया, ओजखोला, चप्परगौडी र तितेनघारी तथा वडा नम्बर २ का मदुवा, हरिहरपुर, औरह्वा, टिकुलीपुर, शमशेरगञ्ज, बेलबास र राजपुरको तल्लोबस्ती बाढीको उच्च जोखिममा रहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल सेतोखरीलाई जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ३ का शाहीपुर, नवलपुर, बैसा, गर्लाबास, सिनाबास र परसरामपुर तथा वडा नम्बर ४ का लालपुर, धामपुर र भगवानपुरमा राप्ती नदीले वर्षेनी डुवान, कटान गर्ने हुदाँ यी गाउँहरु उच्च जोखिममा पर्ने गाउँ हुन् ।

यस्तै राप्ती सोनारी गाउँपालिकाकै वडा नम्बर–५ का ललही, आलीनगर, पठरिया, रिहार डाँडा र चिलहरिया पनि राप्ती नदीको उच्च जोखिममा रहेको उनी बताउँछन् । यसैगरी राप्ती सोनारी गाउँपालिकाका वडा नम्बर–६ का खल्लाटेपरी, गोडियनपुर्वा तथा वडा नम्बर–७ का खल्ला झगडिया, भवनियापुर, वसन्तापुर, पहाडीपुर, देउपुर्वा, पिप्रह्वा, गेदवा, सोनपुर पनि राप्ती नदीकै उच्च जोखिममा रहेका गाउँ भएको सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

राप्ती तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले राप्ती सोनारी गाउँपालिका वडा नम्बर–८ का बालापुर, पेरानी तथा वडा नम्बर–९ का ढकेरी र महादेवा पनि बाढीको उच्च जोखिममा रहेका गाउँ रहेको उनले बताए ।

यसैगरी बाँकेको नेपालगन्ज उपमहानगरपालिका पनि डुवानको उच्च जोखिममा रहदै आएकोछ । बाढीका कारण नेपालगन्ज उपमहानगरपालिकाको मदनापुर जोखिममा रहेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२०, साविक मनिकापुरको मदनापुर गाउँ डुडुवा खोलाको जोखिममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यस्तै केन्द्रका अनुसार बाँकेको खजुरा गाउँपालिकाको वडा नम्बर ५ र ६ का सातवटा गाउँ मानखोला र पेडारी खोलामा आउने वर्षेनी बाढीको उच्च जोखिम रहेको जनाएकोछ ।

खजुरा गाउँपालिकाको उक्त वडाका गिजरा, पुरैना, दशविघा, आठबिघा, बाह्रबिघा, शान्तिनगर र सल्यान टोल बाढीको उच्च जोखिममा रहेको केन्द्रका फोकल पर्सन गौरीलाल बुढाथोकी बताउँछन् । यस्तै खजुरा गाउँपालिकाको वडा नम्बर–२ को गुँरासपुर पनि बाढीको जोखिममा रहेको छ ।

यता नेपालगन्ज उपमहानगरपालिकासंग जोडिएको उपमहानगरपालिका भन्दा पूर्व रहेको बाँकेको डुडुवा गाउँपालिका विभिन्न वडाका गाउँहरु पनि वर्षेनी डुवानमा पर्दै आएकाछन् ।

डुडुवा गाउँपालिका वडा नम्बर–१ साविक होलिया गाविसको पिप्रह्वा, कृषि चौफेरी, पाँझा, खडैचा र टेपरी तथा डुडुवा गाउँपालिकाको वडा नम्बर २ का सन्तलिया, अमृतपूर्वा, भेलोरपूर्वा, दासपूर्वा, खोलमसाहा, बाबागाउँ, कैराँतीपुर्वा, कोहली तथा सोही गाउँपालिकाको वडा नम्बर–३ साविक बनकट्टी गाविसको रमपूर्वा, कटैह्या, हलकारापुर्वा, लोधपूर्वा र राजापूर्वा पनि राप्ती नदी र डुडुवा खोलामा आउने बाढीका कारण वर्षेनी डुब्ने गरेकाछन् ।

यस्तै डुडुवा गाउँपालिकाको वडा नम्बर ४ का खालेमसाहा र लालापुर्वा तथा डुडुवा गाउँपालिकाका वडा नम्बर ५ का खजुरागौडी, लडियाघाट, सिधनिया तल्लोबस्ती, लिवाङ्गी टोल र शिवराजपुर राप्ती नदी र डुडुवा खोलाको उच्च जोखिम क्षेत्रभित्र रहेको केन्द्रका फोकल पर्सन बुढाथोकीले जानकारी दिए ।

यस्तै बाँकेको सुदूरपूर्वमा रहेको बघौडा क्षेत्रबाट परिचित नरैनापुर गाउँपालिकाका पाँचवटा वडाका २० गाउँ पनि बाढीको उच्च जोखिममा छन् ।
नरैनापुरका बानियागाउँ, महतनिया, सुइया, बहाउँपूर्वा, कोटिया, कोदिपुर, रतेहिया, घोडदौरिया, नौसहरा, नरैनापुर, दौलतपुर, मटेहिया, जमुनाहा, भगवानपुर, निवाजीगाउँ, सोनवर्षा, कुदरबेटवा, गंगापुर, भोजपुर र जमुनी पनि बाढीको जोखिममा भएको बुढाथोकीले बताए । यी क्षेत्रमा वर्षेनी राप्ती नदिको कटान, पटान र डुवान हुदैँ आएकोछ । विशेष गरि भारतले निर्माण गरेको कलकलवा र लक्ष्मणपुर बाँधका कारण राप्ती नदीको डुबानमा पर्ने गरेकाहुन् ।

केन्द्रका अनुसार बाँकेको उत्तर–पश्चिम रहेको कोहलपुर नगरपालिकाका विभिन्न वडाका गाउँ समेत बाढीको जोखिममा रहेको छ । कोहलपुर नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १४ का कालिकानगर, मुक्त कमैया टोल, चप्परगौडी र बजारटोल पनि बाढीको जोखिममा रहेको केन्द्रले जनाएको छ ।

वर्षेनी आउने बाढीले बैजनाथ गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६, ७ र ८ वडाका मकैबारी, जबदहवा, रामपुर, कलरामपुर, बानियाभार, इटा नाला, जनमत टोल, छमनिया, गरही, परशरामपुर, सम्झनाबजार, गुरुवागाउँ, सिंहभवानी, गरही र प्रशुरामपुर बाढीको जोखिममा रहेको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रले जिल्लामा बाढीको जोखिम रहेका स्थानहरुको पहिचानका लागि जारी गरेको नक्सांकनमा जानकी गाउँपालिका–१ को साइगाउँ, शिवपुरी, पचपोखरा, बढैया गाउँ पनि बाढीको उच्च जोखिममा रहेका छन् ।

जिल्लामा वर्षेनी हुने बाढीको जोखिमलाई मध्यनजर गर्दै उच्च जोखिममा रहेका गाउँ र ठाउँको पहिचान गरि उद्धार, राहत तथा पूर्वसूचनासहित पूर्वतयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।

निर्वाचन ताका यहाँको बाढी, डुवान समाधान गर्ने सबै दलको पहिलो प्राथमिकतामा पर्ने गरेता पनि निर्वाचनपछि त्यसको कार्यान्वयन हुँदैन् । यसले आमनागरिक हरेक वर्ष उत्तिकै डुबान र बाढीको जोखिममा देखिन्छन् । यस वर्ष पनि मनसुन सक्रिय भएर वस्ती डुबानमा परिसकेका छन् ।

खजुरा, डुडुवा, जानकी लगायतका गाउँपालिकामा खेतियोग्य जमिन कटान तथा डुबान भई सकेको छ । तर, यसको दीर्घकालिन समस्या समाधानका लागि सम्बन्धित सरोकारवाला मौन रहदै आएकाछन् ।