देशमै पहिलोपटक वडामा बर्माले बाले हाइमास्ट


देशमै पहिलोपटक वडामा बर्माले बाले हाइमास्ट

देशमै पहिलोपटक वडा कार्यालयको बजेटबाट निर्मित हाईमास्ट लाईट औपचारिकरुपमा उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्ब–१८ का वडा अध्यक्ष दीपक बर्मा । तस्विर : सेतोखरी

नेपालगन्ज : देशमै पहिलोपटक वडा स्तरबाट हाइमास्ट जडान गरिएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को कार्यालयले देशमै पहिलो पटक हाईमास्ट लाईट जडान गरेको हो ।

वडाको बजेटबाट कारकाँदो चोक र एसके पेट्रोल पम्प अगाडीको चोकमा दुई वटा हाइमास्ट जडान गरिएको हो । नेपालगन्ज–कोहलपुर सडकखण्डमा जडान गरिएको उक्त हाइमास्टको वडाअध्यक्ष दीपक बर्माले मङ्गलबार औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

वडाअध्यक्ष बर्माले नवनिर्मित हाइमास्टको पावर अन गरि हाईमास्ट लाइट बाल्दै औपचारिक उद्घाटन गरे । यसअघि देशमै पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाले विपी चोकमा हाइमास्ट लाईट जडान गरेको थियो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले उपमहानगरपालिकाको बोर्ड बैठकमा हाईमास्ट लाईट जडान गर्ने प्रस्ताव ल्याएका थिए ।

वडाअध्यक्ष बर्माले भने–‘देशमै पहिलोपटक परीक्षणका रुपमा विपी चोकमा जडान गरिएको हाइमास्ट लाईटले सफलता पाएपछि त्यसबाट प्रेरित भइ वडामा हाइमास्ट लाईट जडानको प्रयास गरेको हुँ ।’

Kanti Aarogya Hospital Nepalgunj
मङ्गलबारबाट सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिका वडा नम्ब–१८ स्थित हाईमास्ट लाइट । तस्विर : सेतोखरी

‘मैले वडाको आर्थिक वर्ष २०७६/०७७ को शुरुवातमै बजेट छुट्याएर वडाको बजेटबाट वडामा हाईमास्ट लाईट निर्माणको लागि पहल थालेको थिए ।’ अध्यक्ष बर्माले भने–‘केही ढिलो गरि शुरु गरिएको काम पछि कोरोनाका कारण भएको बन्दाबन्दीले विभिन्न बाधाअड्चन खेप्नु प¥यो यद्यपी आफ्नै पहलमा हाई मास्ट लाईट जडानका लागि भारतको राजिस्थानबाट प्राविधिक टोली ल्याएर समयभित्रै जडान गर्न सकियो ।’

उनले भने–‘यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा म आफै ब्यक्तिगतरुपमा वडा उज्यालो बनाउने उद्देश्यअनुरुप आवश्यक पहलका लागि गएको थिए । जसअन्र्तगत वडाका २५९ सुकुम्बासी, दलित तथा मधेशी बस्तीमा घरेलु शौर्य सोलार जडान गरिसकेको छौं ।’

वडाअध्यक्ष बर्माले वडा नम्बर १८ को कारकाँदो चोक तथा एसके पेट्रोल पम्प नजिक पशुपतिनगरमा जडान गरिएको हाईमास्ट लाईटका लागि वडाले १६ लाख ५० हजार बजेट विनियोजन गरेको बताए । उनले कुल विनियोजित रकममध्ये कन्टिजेन्सीबापत ३ प्रतिशत रकम उपमहानगरपालिकालाई बुझाइ बाँकी रकम ठेकेदार कम्पनीलाई उपलब्ध गराएको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले यसअघि नगरका विभिन्न ९ स्थानमा हाइमास्ट जडानको प्रयास गरेको थियो । नगरका विभिन्न चोकमा हाइमास्ट जडानका लागि आवश्यक फाउण्डेशन निमार्ण बाहेक थप गति लिन सकेको छैन । हाल उक्त कार्य अस्तब्यस्त छ ।

कोरोना भाइरसको जोखिम तथा बन्दाबन्दीका बाबजुत वडा कार्यालयकै बजेट र पहलमा कम लागतमा छोटो समयमै दुई वटा हाईमास्ट लाईट जडान गरि प्रयोगमा ल्याएका वडा अध्यक्ष दीपक बर्माको उदाहरणीय कार्यले यतिबेला चर्चा बटुलेकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाको लगानीमा विपी चोकमा यसअघि एउटा हाइमास्ट जडान गरिएको थियो । वडा नम्बर १८ मा दुई वटा हाईमास्ट जडानपछि नेपालगन्ज शहरका तीन ठाउँमा हाईमास्टले उज्यालो दिइरहेकोछ ।

गतवर्ष एक दिनका लागि नेपालगन्ज उपमहानगरपालिकाको मेयर बनेका वडाअध्यक्ष बर्माले सोबखत नेपालगन्ज–कोहलपुर सडकखण्डमा जडान गरिएका शौर्य बक्ति मर्मत गरि नगर उज्यालो बनाएका थिए ।