मिना ढकाल विरुद्ध अख्तियार, प्रहरी र प्रशासनमा उजुरी, २५ लाख बढी हिनामिनाको आरोप

हरहिसाब माग्दा मिनाले हामीलाई ज्यान मार्ने धम्की दिनु भयोः श्रेष्ठ र खाँ, अनुसन्धान जारी छ, आरोपी तारेखमा छन् : सहायक प्रजिअ प्याकुरेल


मिना ढकाल विरुद्ध अख्तियार, प्रहरी र प्रशासनमा उजुरी, २५ लाख बढी हिनामिनाको आरोप

नेपालगन्ज : घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिले सञ्चालन गरेको मेलामा महिला उद्यमी समिति तथा मेला सह–संयोजक मिना सुवेदी ढकालले लाखौं रकम हिनामिना गरेको खुलासा भएको छ । ढकाल विरुद्ध अख्तियार, प्रहरी र प्रशासनमा एकै साथ उजुरी परेको छ ।

घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिका अध्यक्ष तथा मेला संयोजक रचना श्रेष्ठ र मेला कोषाध्यक्ष तथा आर्थिक समिति संयोजक मोहम्मद वाहाव खाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग वुटवल, सम्पर्क कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेमा बोधार्थ दिंदै जिल्ला प्रशासन कार्यालय बाँकेमा ढकाल विरुद्ध रकम हिनामिनाको उजुरी दर्ता गराएका छन् ।

घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक रचना श्रेष्ठ र मेला समितिका कोषाध्यक्ष तथा आर्थिक समितिका संयोजक मोहम्मद वाहाव खाँद्वारा हस्ताक्षरित उजुरीमा मेला सह–संयोजक ढकालले मेलामा उठेको प्रायोजक, सह–प्रायोजक र टिकटको रकम बाहेक नेपाल सरकारबाट प्राप्त २५ लाख रकम हिनामिना गरेको उल्लेख छ । प्रायोजक, सह–प्रायोजक र टिकेट बिक्रीबाट उठेको रकम पनि ढकालले नै हिनामिना गरेको उजुरीमा लेखिएको छ ।

उजुरी पर्दा पनि यस्तो बिषयमा जिल्ला प्रशासन कार्यालयले गम्भीर रुपमा लिएको देखिदैन । मेलाको लाखौं रकम हिनामिना भएको भनि संस्थाकै प्रमुख व्यक्ति अध्यक्ष र कोषाध्यक्षले प्रशासनमा उजुरी दर्ता गराउँदा पनि कारवाहीको दायरामा ल्याउनुको साटो सरकारलाई कर चाहीं तिरेर आपसमा मिल्न भनि पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उजुरी परेको जानकारी दिंदै आरोपितलाई तारिख लगाएको र अनुसन्धान भइरहेको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

मेला समितिको खाता हुँदा हुँदै ढकालले छुट्टै बैंक खाता खोलेर सरकारबाट प्राप्त २५ लाख र अन्य शीर्षकबाट उठेको रकम सोही खातामा जम्मा गरी सबै रकम हिनामिना गरेको अध्यक्ष तथा मेला संयोजक श्रेष्ठ र कोषाध्यक्ष तथा आर्थिक संयोजक खाँले आरोप लगाएका छन् । मेलाको सम्पूर्ण रकमको हरहिसाब माग्दा ढकालले हरहिसाब दिन नमानेको र उल्टै ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख छ ।

‘मिना सुवेदी ढकालले छुट्टै बैंक खाता खोली मेलाको प्रायोजकको रकम, टिकटबाट उठेको रकम, सह– प्रायोजकको रकम र नेपाल सरकारबाट प्राप्त २५ लाख रकम गैह्रकानूनी तरिकाले जम्मा गराइ हिनामिना गर्नु भएको छ ।’ दुई पानाको उजुरीमा अगाडी लेखिएको छ ‘हिसाब माग्दा ढकालले उल्टै हामीलाई ज्यान मार्ने, कुनै पनि मुद्दामा फसाई दिने धम्की दिएको हुँदा प्रस्तुत निवेदनको अन्तिम नहुन्जेलसम्म उक्त खाता रोक्का गरी, अन्यायीलाई कार्यालयमा बोलाई मेलामा शुरुदेखि उठेको सम्पूर्ण रकम नगर समितिको खातामा जम्मा गराई, नीज ढकाललाई कानून बमोजिम कारवाही गरी हामीहरुको जीउ ज्यानको शान्ति सुरक्षा गरी पाऊँ ।’

घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नम्बर ५ बुटवलको संरक्षणमा २०७६ पुष ११ गते देखि २१ गतेसम्म नेपालगन्जमा ‘दोस्रो प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषी प्रविधि व्यापार एंव पर्यटन महोत्सव गरिएको थियो ।’

यसबिच महिला उद्यमी समिति तथा मेला सह–संयोजक मिना सुवेदी ढकालसंग टेलिफोन सम्पर्क गर्दा उनीसंग सम्पर्क हुन सकेन ।