बाघको आहारा बृद्धि गर्न चुनौती

विश्व बाघ दिवस


बाघको आहारा बृद्धि गर्न चुनौती

File Photo

कोहलपुर (बाँके) : २०६७ सालमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा यतिवेला २१ वटा बाघ छन् । तर, बाघको संख्यामा वृद्धि भएसगैं उनीहरुका लागि आहारा र पानीको व्यवस्थापन गर्न समस्याले निकुञ्जलाई तनाव भइरहेकोछ । जसले गर्दा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसगैं आहारा कमी देखिएकोछ ।

बाँके राष्ट्रिय निकुञ्जको ७० प्रतिशत बढि क्षेत्रफल चुरे क्षेत्र पर्छ । बाँकी समथल र जङ्गल छ । यी क्षेत्रमा घाँसे मैदानको कमी छ, बाघ लगायत जनावरका लागि पिउने पानीको मुहानको कमी छ ।

५५० वर्गकिलोमिटर वन क्षेत्र र ३४३ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला २१ वटा बाघ छन् । बाँके निकुञ्जसँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा ६७ वटा पाटे बाघ छन् ।

प्रति बाघ १५ देखि ४० वर्ग किमि क्षेत्रफलको सीमाना रहन्छ । यो हिसाबमा बाघका लागि उचित आहार तथा पिउनको लागि पानीका श्रोत समेत बाँके राष्ट्रिय निकुञ्जमा कम छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाघले आहारा गर्ने जनावरको संरक्षणसँगै बासस्थानको सुधारमा समेत लाग्नुपर्ने आवश्यकता पनि रहेकोछ । बाघको आहारा गर्ने जनावरहरुले घाँस खाने हुदाँ यस्ता जनावरको संरक्षणका लागि घाँसेमैदानको समेत उचित व्यवस्थापन हुन जरुरी छ ।

विज्ञहरूका अनुसार बाघको आहाराका लागि वर्षमा १४ देखि ४० किलोसम्मका सरदर ५० वटा वन्यजन्तु आवश्यक पर्छन् । पछिल्लो गणनामा भेटिएका २ सय ३५ बाघलाई पुग्ने आहारा नेपालका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, ती आसपासका वन क्षेत्र र जैविक मार्गमा छ ।

बाघको आहाराका रुपमा रहने मृग, हरिण, चित्तल, जरायो, बँदेल लगायतका वन्यजन्तुको संख्या पनि सोही अनुसार वृद्धि भएमा आहारा शृङ्खलामा मद्दत पुग्ने विज्ञहरू बताउँछन् । विभिन्न कारणले बासस्थान र आहाराको कमी हुदाँ दुर्लभ पाटे बाघ संकटमा परिरहेकाछन् । अझ बेलाबेलामा तस्करका कारण बाघ मार्ने, चोरीसिकारी गर्ने कार्यले बाघको संख्या घटिरहेकाछन् । मानवीय चाप, अतिक्रमण र मिचाहा झारले बाघको बासस्थान घट्छ । घाँसे मैदान नहुँदा आहारा प्रजाति पनि घट्दा बाघको बासस्थान संरक्षण गर्नुपर्छ ।

बासस्थान र आहारा प्रजाति बढाउन सके मानव र बाघबीचको द्वन्द्व कम हुने समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण सञ्जाल बाँकेका अध्यक्ष कृष्णलाल चौधरीले बताउँछन् ।

उनले भने ‘अहिलेको अवस्था भनेको बाघले आहारा गर्ने जनावरहरुको संरक्षण गर्नु पहिलो दायित्व हो । बाघले वातावरण जोगाउने भएकाले अनावश्यक रूपमा वन विनाश रोक्नुपर्ने पर्छ ।’ उनले भने ‘वन विनाशले बाघको बासस्थान संकटमा पर्छ, उसको आहारा लोप हुन्छ त्यसो भयो भने बाघलाई जोगाउन सकिदैन ।’

एउटा बाघले एक पटकमा १५ देखि ४० किलोसम्म मासु खान्छ । जुन उसलाई एक हप्तासम्मका लागि प्रयाप्त हुन्छ । त्यतीकै मात्रामा उसलाई दिनहुँ पीउने पानीको समेत आवश्यकता पर्दछ । तर, निकुञ्ज स्थापना भएको छोटो समयमै बाघको संख्या बढोत्तरी गरेको बाँके राष्ट्रिय निकुञ्जमा अहिले नै पानी र आहाराको कमी देखिएकोछ । यसले गर्दा निकुञ्जका बाघ मानव बस्तीको आसपास समेत आउने गरेकाछन् ।
उचित आहाराको कमीका कारण जङ्गलमा सहजै सिकार गर्न सकेन भने बाघ जङ्गलबाट बाहिर आउँछ र मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्न सक्छ यसले मानवजातिलाई नोक्सान पु¥याउँछ जसले गर्दा मानवसंगको द्वन्द्व बढ्ने अध्यक्ष चौधरी बताउँछन् ।

मांसाहारी जनावर बाघले आहाराको रुपमा चित्तल, जरायो, हरिण, बँदेल, लगुना, रतुवा, गौरीगाई, निलगाई, लंगुर, बाह्रसिंगे, चौका, बाँदर छन् । तर, बाघ पाइने तराईका १२ जिल्लामा मृग प्रजातीका जनावर र धेरै चित्तल छन् ।

पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोग गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म बाघ गणना गरेको थियो । उक्त गणनाअनुसार नेपालमा २३५ वटा वयस्क पाटेबाघ छन् ।

सन् २०२२ सम्म बाघको संख्या दोब्बर बृद्धि गर्ने लक्ष्यका साथ २०६७ सालमा बैशाख ३० मा नेपाल सरकारले बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो । सन् २०१३ मा पहिलो पटक गणना गर्दा चारवटा बाघ भेटिएको निकुञ्जमा सन् २०१६ मा गरिएको गणनामा नौवटा र सन् २०१८ गणना गर्दा २१ वटा बाघ भेटिएका थिए ।

वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जलाई बाघको आहारा बृद्धि गर्नु अबको चुनौती नै बनेकोछ । बाघको संख्याको तुलनामा यसले आहारा गर्ने जनावरको बृद्धि हुन नसक्दा दीर्घकालीन रुपमा बाघ संरक्षणमा चुनौती पनि थपिदिएको छ ।

निकुञ्जले शून्य चोरी शिकारीको अवस्था सिर्जना गरि बाघको संख्यामा बृद्धि ग¥यो तर, अब भने चोरी शिकारभन्दा पनि आहाराको कमीले बाघ संरक्षणमा चुनौती थपिदिएकोछ । जसका लागि बाघको आहारा हुने जनावरको बृद्धि र संरक्षणमा लाग्नु जरुरी देखिन्छ ।