नेपालगन्ज: पश्चिमी वायूको प्रभावले विहीबार नेपालगन्ज लगायतका यस क्षेत्रमा वर्षा भएकोछ । मेघगर्जन सहित भएको वर्षाले ह्वात्तै चिसो बढेकोछ । यस अघि माघको अन्त्यतिर भएको वर्षाले यस क्षेत्रको जनजिवन कष्टकर बनेको थियो ।
विहान घाम लागेसगैं अब पानी नपर्ने भन्नेमा ढुक्क रहेका नेपालगन्जबासीमाझ पुनः शुक्रबार मन्ध्यान्ह पौने एकबजेदेखि मेघगर्जनसहित वर्षा भइरहेकोछ ।
गत पुस २३ गतेपछि लगातार आइरहेको पश्चिमी वायुको प्रभावले देशभर पानी परिरहेकोछ । वर्षासगैं हिमपात हुनुले देशभर यसको प्रभाव जारी छ ।
माघ अन्तिमदिनदेखी देशमा भएको मौसम बदलीका कारण पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । यो क्रम अझै केही दिन लम्बिने देखिएको छ ।
पानी पर्ने क्रम बढ्ने
यसवर्षको सातौं पश्चिमी वायुको प्रभावले हिजो बिहीबारदेखि पानी पर्न सुरु गरेकोछ । मेघ गर्जनसहित भइरहेको वर्षाले सर्वसाधरणलाई सास्ती भइरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार पश्चिमी वायूको प्रभाव अझ केही दिन लम्बिने जनाएकोछ । आज दिनभर नेपालगन्ज लगायतका क्षेत्रमा बदली भई वर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएकोछ । भोली शनिबार पनि बादल लाग्नेछ । तर, आइतबार मौसम केही खुले पनि फेरि अर्को पश्चिमी वायु आउने सम्भावना रहेकोले पुनः पानी पर्ने सम्भावना प्रवल रहेको मौसमविद् बताउँछन् ।
कसरी हुन्छ हिउँदे वर्षा
यो वर्ष अहिलेसम्म भएको हिउँदे वर्षा नै औसतभन्दा बढी भइसकेको मौसमविद् बताउँछन् । यसपालि पश्चिमी वायु धेरै नै आयो, पोहोर परारको औसतभन्दा बढी हिउँदे वर्षा भइसक्यो ।
नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ । भू–मध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ ।
निकै माथि हुने भएकाले यो प्रणाली मनसुनजस्तो बलियो हुँदैन । तर यसले उच्च क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा बर्खा गराउँछ । मनसुन सकिनासाथ सुरू हुने यो प्रणाली मनसुन सुरू नभइउन्जेल आउन सक्छ । कुनै वर्ष धेरै आउँछ, कुनै वर्ष थोरै आउँछ । यसपालि धेरै आइरहेको
छ ।
ईट्टा उद्योगी र किसान चिन्तित
रोकिन र पुनः सक्रिय हुने क्रम जारी रहेपछि नेपालगन्ज लगायतका ईट्टा उद्योगी र किसान चिन्तित बनेकाछन् । यसअघि भएको वर्षाले बाँकेका ईट्टा उद्योगीले करोड बढिको क्षती ब्यहोर्नु परेको थियो । बिहीबारदेखि भइरहेको वर्षाका कारण उनीहरुलाई थप चिन्तामा पारेको छ ।
यसअघि माघे झरीका कारण बाँकेमा करोड बढीको इट्टा नोक्सान भएको थियो । फाल्गुनको तेस्रो दिन शुक्रबार पनि वर्षा भइरहेकोछ । वर्षाले फुलेको तोरीमा नोक्सान पु¥याउने भएका कारण तोरी खेती गरेका किसानलाई टाउको दुखाई बनाएकोछ । गहुँका लागि केही हदसम्म पानीले फाईदा गरेता तोरीको फूल झार्ने हुदाँ त्यसबाट उब्जाउ हुदैन । जसका कारण तोरी खेती गरेका किसानलाई समेत टाउको दुखाइ बनेको हो ।
चिसो बढ्यो
वर्षासगैं नेपालगन्ज लगायतका क्षेत्रमा चिसो बढेकोछ । बिहीबार बेलुकादेखि सुरु भएको वर्षाका कारण नेपालगन्ज लगायत क्षेत्रमा चिसो बढेको हो । आकासमा बादल छ । यतीवेला केही बेर रोकिने र पुनः पानी पर्ने क्रम जारी छ । चिसोले बालबालिका, बृद्धबृद्धा र विरामीलाई बढि प्रभाव पार्ने भएका कारण चिसोबाट बच्न शरीर न्यानो बनाई राख्न र पानीमा नरुझ्न चिकित्स सुझाव दिन्छन् ।