कोरोनाको निशानामा बाँकेका युवा


कोरोनाको निशानामा बाँकेका युवा

नेपालगन्ज : बाँकेमा सोमबार ८ जना संक्रमित थपिए । संक्रमित सबै नेपालगन्ज उपमहानगरपालिकाका थिए । यसरी थपिनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्षसहित ७ कर्मचारी संक्रमित बने ।

गत बैशाख १९ गते बाँकेमा कोरोना भाइरस संक्रमण देखिएपछि त्रासमा रहेका नेपालगन्जबासी पछिल्ला दिन गैर जिम्मेवार बन्दै आएकाछन् । उनीहरुको यस्तो रवैयाका कारण नेपालगन्ज कोरोना भाइरसको दोस्रो हटस्पटका रुपमा विकसित भएकोछ ।

कुनै समय बाँकेको हटस्पट रहेको नरैनापुर गाउँपालिकामा अहिले संक्रमण नियन्त्रणमा छ । त्यतीबेला यो या त्यो ढंगले आदर्शका गफ फलाक्नेहरु नै अहिले तै चुप मै चुप छन् ।

लकडाउनकै बीच नेपालगन्जका गली, चोक तथा बजार क्षेत्रमा उल्लेख्य मात्रामा मानिसहरुको भीडभाड बढिरहेको थियो । यहाँका होटल, रेष्टूरेण्ट, चिया पसलदेखि ठेलागाडामा बेचिने सामान खरिदका लागि थुप्रै भीडभाड थियो । यस्तो लाग्दथ्यो कोरोना भाइरस संक्रमणको डर, चिन्ता र चासो कसैलाई पनि थिएन । अझ सरकारले साउन ७ गते (१२० दिनमा) देशभर लकडाउन खुला गरेसगैं यो भीड नेपालगन्जका गलीचोक, पसलमा थेगिनसक्नु बन्यो । अन्य समयमा साँझको ८ बजेसम्म नेपालगन्ज बजार शान्त हुने गरेपनि कोरोना भाइरसकै महामारीका बेला रातीको ११ बजेसम्म नेपालगन्ज चकमन्न रह्यो ।

Kanti Aarogya Hospital Nepalgunj

मानिसहरुले सामाजिक दूरी पालना नगर्नु, मास्क लगाउने र हात धुने जस्ता काम नगर्दा थप जोखिम बढेको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठ बताउँछन् । उनका अनुसार हालसम्म बाँकेमा भेटिएका संक्रमितमध्ये युवाको संख्या धेरै छ । विशेषगरि भारत तथा तेस्रो मुलुकबाट आएका युवामा संक्रमण बढी देखिएको उनी बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार ४४६ जना संक्रमितमा २१ देखि ४० वर्ष उमेर समुहका मानिसमा कोरोना भाइरस संक्रमण देखिएको छ । २१ देखि ४० वर्ष उमेरका २६१ जना युवा कोरोनाको सिकार भएकाछन् । यस्तै स्वास्थ्य कार्यालयका अनुसार १० देखि २० वर्षका ७५ जना कोरोना संक्रमण पाइएकोछ ।

यसले पनि बाँकेमा कोरोना भाइरसको संक्रमण युवामा देखिएको छ । कोरोना संक्रमणका लागि सरकारले तोकेको न्यूनतम मापदण्ड पनि नमान्ने समुह नै यही युवा समुह हुन् । लकडाउन अघि न्यून संख्यामा रहेको संक्रमण विस्तारै बढ्नुको कारण खुल्ला सीमा रहेको यकतर्फी यहाँका विज्ञको भनाईछ । भने केहीले एक घर एक पीसिआर नहुदाँ अर्थात परीक्षणको दायरा नबढाउदा संक्रमण बढीरहेको बताँउछन् ।

तर, भारतबाट नेपाल आउनेलाई होल्डिङ्ग सेन्टरमा राखी, उनीहरुको कोरोना परीक्षण गरि सोही अनुसार नपठाउनुले पनि विशेष गरि नेपालगन्ज कोरोनाको जोखिम बढेको हो । अझ नेपालगन्जमा सामाजिक दूरी, मास्क लगाउने र स्यानिटाईजर प्रयोग जस्ता कार्यको पालना नहुँदा कोरोना समुदायमा पुग्यो ।

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि मंगलबार कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले थप ४ दिनसम्म बाँके जिल्लाभर निषेधाज्ञा लगाएकोछ । यसअघि केन्द्रको बैठकले शनिबार राति १२ बजेदेखि मंगलबार राती १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । यसअघि पनि त्यही क्षेत्रमा संक्रमित बढ्न थालेपछि निषेधाज्ञा बढाएको हो । एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्दा कोरोना संक्रमण फैलन सक्ने भएकाले निषेधाज्ञा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकार रामबहादुर कुरुम्वाङ्गले बताए ।

जिल्लामा अहिलेसम्म ४ सय ४६ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । यसरी संक्रमित भएकाहरुलाई बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र लाइन्स डेन्टल अस्पतालमा राखेर उपचार गर्ने गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोना समुदायमा फैलिसकेपछि निषेधाज्ञा गरिएको बताए । उनले लकडाउन खुलेपछि बाँके जिल्लाका केही क्षेत्र जोखिममा परेको भन्दै अत्याआवश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह समेत गरे ।