विपि चोकदेखि त्रिभुवन चोक जाने बाटोमा सुरक्षाकर्मीले लगाएको काँडेतार । तस्विर : सेतोखरी
नेपालगन्जः दिनानुदिन कोरोना पोजेटिभ बढ्दै गएपछि बाँके जिल्लामा निशेधाज्ञा जारीसगैं नेपालगन्जको पुष्पलाल चोक देखि गणेशमान चोक हुँदै चारवाहिनी रोड फुल्टेक्रा हुँदै विचको क्षेत्र मंगलबार रातिसम्मका लागि सबै सिल गरिएको छ ।
नेपालगन्जको मुटु मानिने यी क्षेत्र सिल गरिएसगैं यसक्षेत्रमा सर्वसाधरणको उपस्थिती न्यून पाइएकोछ । सिल गरिएको आज दोस्रो दिन यसक्षेत्रका मुख्यमुख्य नाकामा सर्वसाधरणको भीडभाड कम र सुनसान छ । यद्यपी सिल गरिएका क्षेत्रका विभिन्न भित्री गली, टोल वस्तीमा भने सर्वसाधरणको उपस्थिती कायम छ ।
सिल गरिएका क्षेत्रमा फाट्टफुट्ट पसल सञ्चालनमा आएकाछन् । भने सर्वसाधरणहरु घरबाहिर सडक, सडक पेटी र आगँनमा बसेर गफिरहेका दृष्य प्रसस्त मात्रामा देखिएका छन् ।
सुरक्षाकर्मीको आँखा छलेर कोरोना संक्रमणको उच्च जोखिमकै बेला आम सर्वसाधरणले गैरजिम्मेवारी ढंगका साथ भिडभाड गरिरहेकाछन् । मानिसहरु आवतजावत गरिरहेकाछन् ।
कोरोना प्रभावित क्षेत्रको पहिचान गरि प्रशासनले शनिबार रातीदेखि नेपालगन्ज–कोहलपुर सडकखण्डको पूर्वी क्षेत्रका यी क्षेत्र सिल गरिएको भएपनि यी क्षेत्र प्रवेश गर्ने अधिकासं नाका सुरक्षाकर्मीले काँडेतार लगाएर बाटो बन्द गर्नुका साथै मुख्य–मुख्य नाकामा नेपाली सेना, शसस्त्र प्रहरी र जनपद प्रहरीले पहरा दिइरहेका छन् ।
तर, नेपालगन्जका सिल गरिएका यी क्षेत्र मध्ये विशेष गरि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रा शिवमन्दिरदेखि पूर्व पुरैना जानेबाटो छेउबाट हडियाबाबा कुट्टि निस्कने नजिकको बाटोबाट सर्वसाधरणहरु नेपालगन्ज प्रवेश गरिरहेकाछन् ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०, २१, २२ का भित्रि गली र कोलियाबाट मोटरसाईकल, साईकल र पैदल यात्रुहरु सहजै आफ्नो गन्तब्यमा पुगिरहेकाछन् । यी क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिती छैन । भने सिल गरिएका क्षेत्रका भित्रि गलिहरु एविसी रेजिडेन्टियल स्कुल, बसपार्क, बाइपास, कारकाँदो, लग्दहवा, सूर्जी गाउँ, नहरपुर्वा, कण्ठिपुर, कटलिया, नहरबाटो, बाँके गाउँ, गोसाईगाउँ, शान्तिनगर, जयबागेश्वरी स्कुलको भित्री गलि र कोलिया तथा साहक सडकबाट सर्वसाधरणको चहलपहल देखिएकोछ ।
कोरोना महामारीकाबीच बाँके प्रशासनले आम सर्वसाधरणको सुरक्षालाई मध्यनजर गर्दै गरेको निषेधाज्ञा र सिलले यस क्षेत्रका सर्वसाधरणलाई केही प्रभाव परेको छैन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का स्थानीय युवा जगदम्बा प्रसाद गुप्ता भन्छन् ‘मानिसहरु चोरबाटो हुदै निर्वाधरुपमा आवतजावत गरिरहेकाछन् । अझ वसन्त मल्ल चोक हुदैँ खेत तथा नहरबाटो मानिसहरु हिडीरहेकाछन् ।’
उनले अगाडी थपे–‘बाँके प्रशासनले फुल्टेक्रा स्थित शिवमन्दिर हुदै नहरपुर्वा (पुरैनी) सम्म सिल गरेको छ । सर्वसाधरणको उपस्थित नियन्त्रण गर्न वसन्त मल्ल चोकबाट उत्तरदक्षिणको एरिया नै सिल गरियो भने सिल गरिएको क्षेत्रमा प्रवेश हुन पाउँदैनन ।’
यता सिल गरिएको नेपालगन्जको क्षेत्रलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङ्ग स्वयम फिल्डमा पुगेर अनुगमन गरिरहेकाछन् ।
प्रजिअ कुरुम्वाङ्गले सिल गरिएको क्षेत्र शान्त र सुनसान रहेको बताए । यद्यपी उनले कहिकतै सडकमा सर्वसाधरणको उपस्थिती भएता पनि त्यो नगन्य रहेको बताए । उनले भने सिल गरिएको क्षेत्रमा कोही प्रवेश नगरेको, नागरिकले नियम पालना गरेकाछन्, हामी आम जनतालाई आफै संयमित रहन आग्रह गर्छौ ।
‘तपाईहरु आफै घरमै बसिदिनु भयो भने कारोना नियन्त्रण भएर जान्छ । धैर्य गरिदिनु होस्, बाहिर ननिस्कि दिनुहोस् । नागरिकको सहयोगले धेरै कुरा राम्रो भएर जान्छ ।’ प्रजिअ कुरुम्वाङ्गले भने ।