नेपालगन्ज : नेपाल पत्रकार महासंघको सदस्यता नविकरण र नयाँ सदस्यता आवेदनको समयअवधि थप गर्न पत्रकारले माग गरेकाछन् । कोरोना भाइरस संक्रमणका कारण देश आक्रान्त बनिरहेका बेला महासंघको सदस्यता नविकरण र नयाँ सदस्यता आवेदनको समयअवधि थप गर्न पत्रकारहरुले माग गरेका हुन् ।
पछिल्लो समय कोरोना भाइरस समुदायमै फैलिसकेको अवस्थामा दिनहुुँ संक्रमितको संख्या बढीरहेको छ । जोखिमको यस्तो बेला सबै कार्यालयका सेवा बन्द गरिएका छन् । कोरोना महामारीको जोखिम पनि उत्तिकै बढेका बेला महासंघको सदस्यता नविकरण र नयाँ सदस्यता आवेदनको म्याद यही साउन मसान्तमा सकिदैछ ।
यसैबीच नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्षलाई सम्बोधन गरेर कोरोना माहामारीका बेला महासंघको सदस्यता नविकरण तथा नयाँ सदस्यता फाराम बुझाउने म्याद थप गर्न आग्रह गरेकाछन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा महासंघ केन्द्रिय अध्यक्षलाई सम्बोधन गरेर पोष्ट गरिएको स्टाटसमा –‘कोरोना महामारीको जोखिममा पत्रकारलाई सेना, प्रहरीले हिड्न छुट दिएपनि कोरोना भाईरसले पक्कैपनि दिदैन होला ? यस्तो अवस्थामा एउटा पत्रकार कसरी नविकरण गराउन र नयाँ सदस्यताको फाइल बुझाउन महासंघको कार्यालयमा जान सक्छ ? कोरोना भाइरसले पत्रकारलाई चिन्दैन । यो जटिल अवस्थामा पत्रकारले आफ्नो सदस्यता नविकरण र नयाँ सदस्यताको फाराम कसरी बुझाउन सक्लान् ? भनिएकोछ । यस्तै युनियन अध्यक्ष ओलीले अगाडी लेख्छन्–‘यो विषम परिस्थितिमा महासंघ केन्द्रिय समितीले सदस्यता नविकरण र नयाँ सदस्यता फाराम बुझाउने म्याद बढाउनुको अर्को बिकल्प छैन ।’
यस्तै युनियन अध्यक्ष ओलीले उक्त स्टाटस मार्फत महासंघले सदस्यता नविकरण बापद प्रति वर्ष एक हजार रुपैयाँको दरले शुल्क बुझाउन समेत भनेकोले न्यायसंगत नभएको बताएका छन् । कोरोना भाइरसका कारण जिल्लाका अधिकांश सञ्चार माध्यम बन्द रहेको र खुलेकाले पनि तलब दिन नसकेको र केहीलाई आधा तलब मात्र दिइरहेको अवस्थामा तीन वर्षको नविकरण शुल्क एकैपटक गर्दा ठूलो रकम खर्च हुनेहुदाँ नविकरण समेत गराउन नसक्ने गुनासो बढेपछि महासंघले सदस्यता नविकरणमा समेत पत्रकारलाई छुटको व्यवस्था गरिदिन माग गरेकाछन् ।
यसरी यस विषयमा देशभरका पत्रकारहरुले पनि आवाज उठाउन थालेकाछन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य सिद्धराज राईले कोरोना संकटका बेलामा नेपाल पत्रकार महासंघको सदस्यता नविकरण शुल्क मिनाह गर्न जोडदार माग गरेकाछन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस सार्वजनिक गर्दै यस्तो माग गरेका हुन् ।
यसैगरी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दीलबहादुर छत्यालले समेत महासंघको सदस्यता नविकरण शुल्क मिनाह गर्न माग गरेका छन् । उनले आफ्नो सामाजि सञ्जाल फेसबुकमा एक स्टाटस सार्वजनिक गर्दै कोरोनाको यो संकटका बेला नेपाल पत्रकार महासंघले सदस्यता नविकरणका लागि उर्दी जारी गर्नु ठिक नभएको बताएका छन् । उनले अगाडी लेख्छन् संकटमा गुज्रीरहेका यो बेलामा पत्रकारको सदस्यता नविकरणको शुल्क मिनाह गरेमा उत्तम हुनेछ, नेतृत्वको ध्यान जाओस् ।
यस्तै अर्का पत्रकार नरेन्द्र साउदले सयौं पत्रकार बेरोजगार भएकाछन्, मिडियाहरु धमाधम बन्द भइरहेकाछन् । कयौं पत्रकार कोरोनासंग जुध्दै छन् । यस्तो बेला पत्रकार महासंघको सदस्यता नविकरण गर्न दिनदिनै फर्मान जारी आवश्यक छैन । महासंघको सदस्यता नविकरण नगर्दैमा देशमा संवैधानिक र कानूनी संकट आउने स्थिती छैन । उनले अगाडी थप्छन्– दुस्साहस गरेँ । यति भने बापत महासंघका (महाराज)हरु असिन पसिन हुनुभयो, दुव्र्यवहार भयो भन्दै मिडया हाउसतिर धाउनु भयो भने परेको सहुँला, ब्यहोरुला । धन्यबाद ।
यसैगरी अर्का पत्रकार माधव नेपालले नेपाल पत्रकार महासंघको सदस्यता नविकरणका विषयमा विभिन्न प्रतिकृयाहरु आइरहेकाछन् । कोरोनाको कहरमा परेका पत्रकारहरुलाई राहत दिनुको साटो नविकरणका लागि उर्दी जारी गर्नु पटक्कै सान्दर्भिक छैन । यस्तै उनले अगाडी थप्छन्– हो, सदस्यता नविकरण गर्नुपर्दछ । तर, यो महामारीका बेला कतिपय पत्रकारहरुलाई सञ्चारगृहले बेतलबी बिदामा राखेकोछ । कतिपय आधा तलबमा काम गर्न बाध्य भएकाछन् । यो सन्दर्भमा नेपाल पत्रकार महासंघ तथा अन्य आश्थागत संगठनले पत्रकारहरुलाई केही सम्बोधन गर्न आवश्यक छ ।
पत्रकार नेपालले अगाडी थप्छन्– केही समय अघि नेपाल सरकारले नेपाल पत्रकार महासंघलाई २० लाख रुपैयाँ, नेपाल प्रेस युनियन, र (एकता भइसकेको प्रेस चौतारी नेपाल र प्रेस सेन्टरको) खातामा क्रमशः दश–दश लाख रुपैयाँ दिएको चर्चा सुनिएको छ । सोही रकम पत्रकारहरुको सदस्यता नविकरणका लागि प्रयोग गर्दा श्रमजिवि पत्रकारहरुले केही राहत महसुस गर्न सक्थे थिए ।
यसरी कोरोना महामारीकाबीच अन्य संघसस्था, निकाय कार्यालयले आफ्ना कर्मचारी तथा सदस्यहरुलाई राहत, सहुलियत प्रदान गरिरहेका बेला नेपाल पत्रकार महासंले आफ्नो सदस्यता नविकरण र नयाँ सदस्यता आवेदनका लागि दिएको उर्दी न्यायोचित नदेखिएका पत्रकारका पेशागत संघसंगठनले बताएकाछन् ।
हरेक संस्था, निकायले कोरोना महामारीलाई मध्यनजर गरेर सहुलियत दिइरहेका बेला महासंघले पनि समस्यामा परेका आफ्ना सदस्यलाई नविकरणमा केही प्रतिशत भएपनि सहुलियत दिएको खण्डमा अहिले अप्ठ्यारो अवस्थामा परेका देशभरका पत्रकारहरुले यो महामारीको समयमा पक्कैपनि राहत महसुस गर्ने थिए ।