नेपालगन्ज : पशुपति शर्माले सार्वजनिक गरेको आफ्नो गीत यूट्यूबबाट हटाएकाछन् । गीत सार्वजनिक भएपछि सत्तामा रहेको नेकपा समर्थक र नेताले सामाजिक संजालमै शर्माको आलोचना र विरोध गरेपछि उनले सो गीत शनिबार हटाएका हुन् ।
चर्चित लोकदोहोरी गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत ‘लुट्न सके लुट कान्छा’ बोलको गीत आफ्नो यूट्यूब च्यानलबाट हटाएका छन् । सो जानकारी उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सार्वजनिक गरेकाछन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्–
‘मैले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर सो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन–जुन शब्दमा असन्तुष्टि देखियो, म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला । ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु’, उनले फेसबुकमा लेखेका छन्, ‘अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुनः लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु ।’
शर्माले स्टाटसमा अगाडी लेख्छन्–गीतका कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ठ्यारो पारेको भए माफी चाहन्छु ।
उक्त गीतमा ‘वाइड बडी’को भ्रष्टाचारीमाथि कारवाही नभएको सुब्बा खरदारले भ्रष्टाचार गर्ने गरेको, अरबौंको हेलिकप्टर राष्ट्रपतिलाई किनिएको, सरकारी डाक्टरले क्लिनिकमा बिरामी बोलाउने लगायतका कुराहरू उल्लेख गर्दै व्यंग्य गरेका थिए ।
गीत हटाएका पशुपति शर्माले आफ्नो गीतको उद्देश्य सुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुँदैन भन्ने कुरामा सचेत हुँदै विसंगतीलाई ब्यंग्य गरोस् भन्ने एकमात्र ध्ययले बनाएको भएपनि गीतमा समावेश केही शब्दहरुमा आफ्ना केही शुभचिन्तकहरुको असंतुष्टि जनाएकाले जुन जुन शब्दमा असन्तुष्टि देखिएको हो त्यसलाई परिमार्जन गर्दै पुनः राख्ने भएकाले हटाएको जनाएका छन् ।