नेपालगन्ज : बाँकेमा मङ्गलबार थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बाँकेमा संकलन गरिएको स्वाब परीक्षण गर्दा बाँकेका २६ सहित ५६ जनामा कोरोना भाइरस संक्रमण पाइएको हो । जम्मा संक्रमित मध्ये २६ जना बाँकेका रहेकाछन् भने बाँकी अन्य जिल्लाका रहेको छन् ।
संक्रमित देखिएकामा नेपालगन्ज मेडिकल कलेजका एक डाक्टर, दुईजना कर्मचारी र उपचाररत दुईजना बिरामीमा समेत कोरोना देखिएको हो । यस्तै बाँके सहित अन्य जिल्लामा देखिएका कोरोना संक्रमितहरुमा केही राष्ट्रसेवक कर्मचारी समेत रहेको उनले जानकारी दिए ।
दैनिक ठूलो मात्रामा कोरोना पोजेटिभ भेटिन थालेपछि उनीहरुलाई काहा राख्ने भन्ने विषयमा अन्यौलता हुन थालेकोछ । भेरी अस्पताल नेपालगन्जबाट कन्ट्रयाक्ट ट्रेसिङ्ग लगायतबाट संकलित स्वाबबाट २१ जनामा कोरोना पुष्टि, नेपाली सेनाको फि.ए.(फिल्ड एम्बुलेन्स) दाङबाट संकलित स्वाबबाट २९ जना, नेपालगन्ज मेडिकल कलेजबाट कन्ट्रयाक्ट टे«सिङ्ग लगायतबाट संकलित स्वाबबाट ५ जना, बाँकेको राप्ती सोनारी गाउँपालिकामा १ जना, ३ जना दाङ्ग र १ जना अछामका ब्यक्तिमा कोरोना पुष्टि भएकोछ ।
फोकल पर्शन श्रेष्ठका अनुसार हालसम्म भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला गरिएको परीक्षणबाट १ हजार १ सय ६४ जनामा कोरोन भाइरस संक्रमण पुष्टि भएकोछ । भने प्रयोगशाला सञ्चालनमा आएसगैं हालसम्म २६ हजार ८ सय ३० जना ब्यक्तिको कोरो परीक्षण गरिएकोछ ।