निषेधाज्ञाकाबिच सिल गरिएको एरियाबाटै शिवको मुर्ती चोरी


निषेधाज्ञाकाबिच सिल गरिएको एरियाबाटै शिवको मुर्ती चोरी

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका बीच बाँकेमा निषेधाज्ञा जारी छ । अझ समुदायमा फैलिएको कोरोना भाइरसका कारण बाँके प्रशासनले नेपालगन्ज सिल नै गरेकोछ ।

नेपालगन्ज सिल गरिएको एरियामै रहेको रामजानकी मन्दिरमा राखिएको भगवान शिवको मुर्ती चोरी भएकोछ ।

भगवान शिवको उक्त मुर्ती चोरी हुदाँसम्म बाँके प्रहरी प्रशासनले चाल पाएको छैन । नेपालगन्ज सिल र निषेधाज्ञाका बीच मुर्ती चोरी घटनाले यतिबेला नेपालगन्जमा सनसनी फैलाएकोछ ।

सडकमा नेपाली सेनासहित सशस्त्र प्रहरी र जनपद प्रहरीको तैनाथी बाक्लो छ । समयसमयमा प्रहरीको स्कटिङ्ग अनि सादा पोशाकमा घुमुवा प्रहरी समेत परिचालन गरिएको छ । यस्तो बेला चोरी हुदाँ बाँकेको सुरक्षा व्यवस्था प्रति प्रश्न उठेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

सडक निर्माणका लागि खनिएको नालीमा भेटिएके शिवको मुर्ती तीन महिना पछि चोरी भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ स्थित भगवान ताल छेउमा नाला खन्ने क्रममा उक्त मुर्ती भेटिएको थियो ।

नाली खन्दा भेटिएको चाँदीसहित अष्टधातुको शिवको उक्त मुर्ती रामजानकी मन्दिरमा स्थापना गरिएको थियो । मन्दिरका पुजारी परिवार राती १ बजेसम्म जागेपनि स्थानीयका अनुसार मंगलवार बिहान ३ बजेतिर मुर्ती चोरी भएको बताइएकोछ ।

चाँदीको मुर्ती एक्कासी हराएको रामजानकी मन्दिर व्यवस्थापन समितिका संयोजक बिनोद कश्यपले बताए ।

मुर्ती भेटिएको बेला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का एक व्यक्तिले मुर्ती आफ्नो भनेर दावी गरेपछि व्यवस्थापन समिति र दावीवालाको सहमतिमा उक्त मुर्ती रामजानकी मन्दिरमा स्थापना गरिएको थियो ।

मन्दिरमा सहजै छिर्नसक्ने कुनै बाटो नभएकाले चोरीको घटना रहस्यमय बनेको छ । समितिका सल्लाहकार हर्कबहादुर गुरूङले चोरी हुने कुनै बाटो नदेखिएकाले रहस्यमय भएको बताए । यद्यपी प्रहरीले घट्नास्थलको प्रारम्भिक अनुसन्धान गर्दा चोरी हुनसक्ने आधार नदेखिएको जनाएको छ ।