आजकाल धेरै अभिभावकको गुनासो हुन्छ, मेरो छोराछोरी पढ्नभन्दा अरू नै कुरामा ध्यान बढी दिन्छन् । हातमा मोबाइल, ल्यापटप या कम्प्युटर भयो भने बोलाएको समयमा खाना खानसम्म पनि आउँदैनन्, पढ्ने कुरा त परै जाओस् ! अहिलेका किशोर किशोरीहरू प्रविधिसँग मस्त छन् । साथीसङ्गीसँग व्यस्त छन् । यसरी पाठ्यपुस्तक र अरू पारिवारिक, सामाजिक सम्बन्धहरूबाट टाढा छन् ।
यो अहिलेको आम सरोकार र चिन्ताको विषय हो । प्रविधिमैत्री बन्नु, नयाँ कुराप्रति चाख बढ्नु, सूचनामा अभ्यस्त हुनु र प्रविधिको प्रयोगबाट आफ्नो ज्ञानको दायरालाई फराकिलो पार्नसक्दाका फाइदालाई नजरअन्दाज गर्न त सकिँदैन तर मनलाग्दो ढङ्गबाट गरिएको प्रयोगसँगै आउने विकृति र समयको खर्चलाई ध्यान दिनु पनि आवश्यक छ ।
आम शिक्षकहरू खासगरी उच्च माध्यमिक विद्यालयमा पढाउनेहरूको गुनासो आफ्नै ठाउँमा छ । विद्यार्थीहरू आफ्नोतर्फबाट अत्यन्त कम मिहिनेत गर्छन् । घरमा अध्ययनमा समय दिँदैनन् । दिएको काम जेनतेन लेखेर ल्याउँछ्न त्यसबाहेक उनीहरू पढाइमा गम्भीर छैनन् । कारण उनीहरू विद्यालयदेखि नै शिक्षकप्रति अत्यन्त निर्भर छन् । उनीहरू एक प्रकारका रोबोट जस्ता भएका छन् ! उनीहरूको सिर्जनात्मकता मर्दै गइरहेको छ ।
विश्वविद्यालयमा जब ती विद्यार्थी प्रवेश गर्छन् । तिनलाई आकासमा उडिरहेको चराजस्तो अनुभूत हुन्छ । पढाइ प्राथमिकतामा अत्यन्त कम पर्छ । होमवर्क र नियमित परीक्षासम्म दिनु नपर्ने हुँदा अधिकांश सरकारी क्याम्पसमा पढ्नेका लागि पढाइ एक औपचारिकतामा सीमित हुन पुग्छ, जसको प्रमुखध्येय परीक्षा पास गर्नुमा सीमित हुन्छ ।
यस्तो चक्रबाट ‘ग्र्याजुएट’ हुने विद्यार्थीको करियर के हुने होला ? श्रम बजारमा उसको व्यावसायिकता कस्तो हुने होला ? भोलि उसलाई आइलाग्ने व्यावसायिक या व्यापारिक या सरकारी र गैरसरकारी जिम्मेवारीको बहन कसरी गर्ला ? सामान्यत हामी अहिलेको हाम्रो सामाजिक परिवेशमा आधारित शिक्षा पद्धतिबाट औसत भन्दा तलको शिक्षित जनशक्तिको निर्माण गरिरहेका छौँ । जसले हामीलाई उही स्तरको परिणाम दिइराखेको छ । राजनीति, ब्युरोक्रेसी, एकाडेमी या अन्य क्षेत्रतिर भोलि यही अवस्थाबाट उत्पादन हुने जनशक्तिले निकाल्ने आउटपुटमा पनि तात्विक अन्तर देखिने छैन ।
अब यो अवस्थाको अन्त्य कसरी गर्ने ? बच्चालाई आफ्नो रुचिको विषयमा सानैदेखि कसरी लाग्न प्रेरित गर्ने ? उसमा रहेको निहित क्षमतालाई कसरी विकास गर्न दिने ? घरायसी वातावरण कस्तो बनाइदिने ? कस्तो सामाजिक सम्बन्धमा उसलाई हुर्कन दिने ? अध्ययन बोझपूूर्ण काम होइन, यो बाल विकाससँगै आवश्यक एक मनोरञ्जनसहितको सिकाइको भान कसरी पार्ने ? बच्चालाई सानैदेखि अध्ययनमा कसरी रुचि राख्ने बनाउने ? अभिभावक, विद्यालयको भूमिका के रहने ? सिकाइ र शिक्षण विधिमा कस्तो खालको परिमार्जन गर्ने ? परीक्षा र पाठ्यसामग्रीमा कस्तो परिवर्तन गर्ने ? र हामीलाई आवश्यक दक्ष, नैतिकवान, व्यावसायिक, समाजप्रति उत्तरदायी पुस्ता निर्माण गर्ने भन्ने बहस सुरु गर्नु आवश्यक छ ।
बालबालिकाको समग्र सिकाइमा तीन परिवार, समाज र विद्यालय (अन्तर्घुलित र अन्योन्याश्रित खम्बाहरू हुन् । कस्तो वातावरण छ, उत्प्रेरणा छ कि छैन ? आवश्यक सामग्रीको जोहो हुन सक्छ कि सक्दैन, त्यो पारिवारिक परिस्थितिले निर्धारण गर्छ, जसको सीधा प्रभाव मनोविज्ञान र सिकाइ मात्र नभई व्यक्तित्व विकासमा समेत पर्छ । परिवारको आर्थिक र शैक्षिक परिवेश महत्त्वपूर्ण फ्याक्टर रहन्छन् यसर्थमा । मनोवैज्ञानिक हिसाबले पारिवारिक मेल र बेमेल, खुशी, परिवारको बनोट आर्थिक अवस्थाको सीधा प्रभाव सिकाइमा पर्छ ।
त्यसैगरी सामजिक परिस्थिति (सरसङ्गत, समाजको चेतना, प्राथमिकता, अतिरिक्त क्रियाकलापमा सहभागिता, सामाजिक उत्प्रेरणा, हौसला र समाजको मनोविज्ञान पनि बालबालिकाको मनोविज्ञानसँग एकाकर हुन पुग्छ । परिणाम सकारात्मक वातावरण सकारात्मक प्रतिफल नभए उल्टो ।
शैक्षिक वातावरण, स्कुल, पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणाली, मूल रूपमा राष्ट्रको शिक्षा नीति, सरकारले तोकिदिएको ढाँचामा आधारित पाठ्यसामग्रीमा तोकिएको ढाँचाको मूल्याङ्कन पद्धतिमा नेपालका विद्यालय सञ्चालित छन्, उस्तै किसिमको पाठ्यसामग्री, उस्तै मूल्याङ्कन पद्धति । तर दुई खालको शिक्षा निजी र सार्वजनिक । फरक शिक्षण भाषा र अतिरिक्त पाठ्यक्रममा । यसरी एउटै नीतिभित्र सञ्चालित दुई भिन्नाभिन्नै स्कुलिङमा आधारित उत्पादन हाम्रो बजारमा निस्कन्छ । शिक्षणको गुणस्तर, शिक्षकको क्षमता, स्रोत र साधनको उपलब्धताभित्र कैयौँ असमानता छन् । त्यहाँ विभेद छ, अवसर छन् र चुनौती छन् । यस विषयमा छुट्टै बहस जरुरी छ । यो आलेखमा सामान्य समस्या र ती माथिका सम्भावित समाधानमाथि चर्चा गरिनेछ ।
सामाजिक, पारिवारिक र आर्थिक अवस्थालाई अचल राखेर शैक्षिक परिवेशको मात्र अध्ययन गर्ने हो भने हाम्रो शिक्षा प्रणाली सही छ ? हाम्रा जिद्यालय काबिल जनशक्ति निर्माणमा दक्ष छन् ? हाम्रो पाठ्यक्रम जीवनउपयोगी सीपमूलक शिक्षाका लागि सबल छ ? कहीँ न कहीँ हामी चुकिरहेका छौँ । समस्या सबैतिर छन् । हामी प्रत्येक बालबालिकालाई उस्तै पाठ्यक्रम पढाइ राखेका छौ। उनिहरूको रुचिको त्यहा कुनै स्थान छैन । यसर्थमा हामी प्रतिभाको प्रस्फुटन होइन प्रतिभालाई थिचिराखेका छौँ ।
हाम्रा पाठ्यपुस्तक रुचि र क्षमतामैत्री छैनन् । कम्तीमा रुचि अनुसारको पाठ्यक्रम आधारभूत तहबाट लागू गर्न आवश्यक छ । कुनै चित्रकलामा रुचि भएको विद्यार्थी विज्ञान विषयमा फेल भएर कुण्ठित पारिनु हुँदैन । उसलाई विज्ञान मन नलाग्दा उसको रुचिको चित्रकला पढ्ने अवसर दिनुपर्छ, जुन हाम्रो पाठ्यक्रमको आधारभूत समस्या हो । पढाउने तरिकामा पनि समस्या छ ।
शिक्षक रटाउने रोबोट जस्ता छन् । बालबालिकालाई एउटा विधिले ४० मिनेटको पट्यार लाग्दो तरिकाको पढाइ रुचिकर लाग्दैन । उनीहरूलाई चम्चालेको सट्टा पहिले पहिले ‘एपिटाइजर’ खुवाइदिने र बाँकी आफै खाना खान सक्ने बनाउने खालको शिक्षण विधि अपनाउनु पर्छ । हामी ‘हावा’को बारे पढाउँदा त्यो हावा तिमी अनुभूत गर्छौं भन्ने प्रश्नसम्म नसोधी हावाको परिभाषा पढाउने खालको शिक्षण पद्धतिमा अभ्यस्त छौँ । यसमा परिवर्तन आवश्यक छ ।
मूल्याङ्कन पद्धति घोक्न प्रेरित गर्ने खालको छ । आइन्स्टाइनको जीवनीबारे सप्रसङ्ग लेख भन्ने टाइपको प्रश्नको साटो त्यो जीवनीबाट तिमीले के पाठ सिक्यौ भन्ने प्रश्न राख्ने पद्धति हुनुपर्छ । प्रश्न यस्तो बनोस् ताकि विद्यार्थी आफ्नो नोट या किताब बोकेरै परीक्षा हलमा जान पाओस् । जसले सम्बन्धित विषयको अध्यनपछिको उसको सिकाइ र बढेको ज्ञानको मापन गर्न सकोस् । किताबमै लेखेको कुराको परीक्षाले उसको सिकाइ होइन, घोकाइको मूल्याङ्कन गर्छ ।
अब कुरा रह्यो सीपमूलक, काम लाग्ने, व्यावहारिक या अरू नै शिक्षाको सन्दर्भ । तीनवटा मापदण्ड जस्तै व्यक्तिगत रुचि, राष्ट्रको आवश्यकता र अन्तर्राष्ट्रिय पद्धति र ट्रेन्डलाई ख्याल गर्दै नीति बन्दा त्यो व्याबहारिक हुन्छ । हामी सैद्धान्तिकभन्दा व्यावहारिक नीतिको खोजीमा लाग्दा हुन्छ ।
अन्त्यमा घर जाँदा बालबालिका होमवर्कको गह्रुँगो भारीभन्दा उसको व्यक्तिगत रुचि अनुसारको कुनै असाइन्मेन्ट गर्न पाए उसलाई कसैले पढ भन्नू नपर्ला । उसको काम यस्तो होस खाना खाने बेलासमेत त्यही विषयमा सोचिरहोस् । ऊ खेल्नेबेला आफ्नो सिकाइको बारे कुरा गर्न रुचि राखोस, ऊ घरभन्दा विद्यालयमा हुँदा रमाओस ।
मोबाइल खोलेर गेम खेल्नुभन्दा प्रोजेक्ट या असाइन्मेन्टमा भुलोस् । ऊ खाली समय संस्कृति र सभ्यताको बारे किताब पढोस् । उसलाई बिदाको दिन सङ्ग्राहलय घुम्न मन लागोस् । मानवीय विश्वास र नैतिक आचरणमा पारङ्गत होस् । त्यो विद्यालय, घर, पाठ्यक्रम र समाजले देखाउने बाटोमा हिँड्ने हो । कस्तो बाटो बनाउने भन्ने कुरामा तपाईं हाम्रो भूमिका छ । त्यो काँचो माटो गमला बनाउने या हाडी तपाईं हाम्रै हातको कुरा हो ।
–सहायक प्राध्यापक, त्रिभुवन विश्वविद्यालय