खुम्च्याउँदै नाला
नेपालगन्ज : न्यूरोड पछाडी रहेको ढल, जहाँबाट नेपालगन्जको आधाभन्दा बढी क्षेत्रमा संकलन हुने पानी बग्ने गर्छ । नेपालगन्जको गणेशपुर, बसपार्क, लग्दहवा, घरबारीटोल, कारकाँदो लगायत क्षेत्रमा संकलन हुने पानी सोही नाला भएर वर्षौदेखी बग्दै आएको छ । उक्त नाला अतिक्रमणमा परेको कुरा बारम्बार उठिरहन्छ । अतिक्रमित नालाको आधार बढाउनुपर्नेमा झन् उल्टै आकार साँघुरो पारिदैछ । सहिद सेतु बिक चोक पछाडी रहेको नालालाई स्थानीय केही घरधनीले अतिक्रमण गरेका छन्, भने तलतिर वरिपरी खाली जग्गा भएका कारण नालाको आकार ठुलो देखिन्छ ।
एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय शहरी विकास आयोजनामार्फत उपमहानगरपालिकाले बनाउन थालेको उक्त नाला साघुँरो पारिएको भन्दै स्थानीय बासिन्दाले यतिबेला असन्तुष्टी जनाईरहेका छन् । आयोजनाले स्टिमेट गर्दा नालाको चौडाई एक मिटर र गहिराई डेढ मिटर मात्र कायम गरेको छ । तर, स्थानीय बासिन्दाको भनाई अनुसार उक्त नालाले करिव ३ देखी ६ मिटरको चौडाई ओगट्दै आएको छ ।
‘ठुलो आकारको नालालाई साघुँरो पार्न खोजेपछि हामीले बिरोध ग¥यौं, नेपालगन्ज उपमहानगरपालिका, वडा कार्यालय र स्थानीय बासिन्दाबीचको छलफल पश्चात नालाको आकार अब २ मिटर कायम गर्ने सहमती भएको छ, नाला बनाउन आवश्यक पर्ने करिब ४ मिटर क्षेत्रभित्र परेका संरचना पनि स्थानीयले हटाईदिने सहमती भएको छ,’ विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले भने । ठुलो नालाको आधार साघुँरो पारेर सानो बनाउन खोजिएको भन्दै स्थानीयले केहीदिन सम्म काम नै रोकिदिएका थिए ।
तर, क्षेत्रीय शहरी विकास आयोजनाले उक्त नाला एकैनासको नहुँदा समग्रमा एक मिटर कायम गर्न खोजिएको दाबी गर्दै आएको छ । स्थानीयको बिरोधपछि थप एक मिटर बढाउने आयोजनाको तयारी छ । आयोजनाका इन्जिनियर शैलेन्द्र मर्हजन भन्छन्, ‘यो नाला कतै सानो, कतै ठुलो आकारमा छ, कुनै ठाउँमा त नक्सामा नाला छैन ।’ नालाभित्रै केही ब्यक्तिको लालपुर्जा पनि रहेको देखिएकाले बनाउन धेरै समस्या भएको उनले सुनाए । आयोजनाले यसपटक बौद्ध गुम्बादेखी बागेश्वरी मन्दिर सम्म जोड्ने करिव ७ सय मिटर लामो नाला निर्माण गर्न लागेको मर्हजनले जानकारी दिए । नाला एकातिर साँघुरो छ, भने अर्कोतिर नालाभरी फोहोरमैला तथा प्लाष्टिक भरिएको छ । यसले गर्दा वर्षायामको पानी सहजै बग्न नपाएर न्यूरोड, घरबारीटोल लगायत क्षेत्र डुबानमा पर्ने गरेको स्थानीय बताउँछन् ।
यो त एउटा प्रतिनिधी मुलक घटना मात्र हो । एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय शहरी विकास आयोजनाले निर्माण गर्न लागेका अधिकांस नालाको हालत उस्तै छ । अधिकांस नालाको आकार साघुँरो पार्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । डुबान समस्या र फोहोरमैला ब्यवस्थापनका लागि भन्दै बिगत चार वर्षदेखी नेपालगन्जमा एशियाली विकास बैंक(एडिबी)को ऋण÷अनुदान सहयोगमा अढाई अर्ब भन्दा बढीको लागतमा आयोजना चलिरहेको छ ।
पहिलो चरणको काम एकिकृत शहरी विकास आयोजनामार्फत सम्पन्न गरिएको थियो, त्यसका लागि करिब ९७ करोड बराबरको बजेट खर्च भयो । अहिले उपमहानगरभित्र क्षेत्रीय शहरी विकास आयोजना मार्फत दोस्रो चरणको काम सञ्चालन भईरहेको छ, जसका लागि करिब १ अर्ब ६९ करोड बजेट छुट्याइएको छ । उक्त बजेटमार्फत नाला, सडक र फोहोरमैला ब्यवस्थापनको काम गरिदैछ ।
ईन्जिनियर मर्हजनका अनुसार पहिलो चरणमा उपमहानगरभित्र १० किलोमिटर सडक र नाला निर्माण गरिएको थियो, भने यसपटक ३६ किलोमिटर सडक र ३६ किलोमिटर नाला निर्माण गरिदैछ । ठेकेदार कालिका कन्स्ट्रक्सन कम्पनीले सम्पुर्ण कामको जिम्मा पाएको छ । दोस्रो चरणको आयोजनाको काम सम्पन्न गर्न ठेकेदारले ९ सय दिनको म्याद पाएको छ । सम्झौता अनुसार १७ अगस्त, २०२० मा सबै काम सम्पन्न गरिसक्नुपर्नेछ । अहिलेसम्म १६ किलोमिटर सडकको कालोपत्रे सम्पन्न भईसकेको छ । निर्माण सम्पन्न भएका ढल तथा नाला पनि सरसफाई गर्न नमिल्ने प्रकृतिका बनाइएका छन्, भने कतिपय नाला साघुँरो पारिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले नाला साघुँरो बनाउने आफुहरुको नीति नभएको बताउँदै भनिन्, ‘हामी जनप्रतिनिधीमा निर्वाचित भएर आउनुभन्दा पहिल्यै एडिबीको आयोजना लागु थियो, त्यतिबेला नै डिजाईन, स्टिमेटका काम भएका हुन्, अहिले जतिपनि विवाद आउँछन्, त्यसको दोष हामीले खेप्ने काम मात्रै भएको छ ।’ निर्वाचित भएर आएपछि योजनालाई कार्यान्वयन मात्रै गरेको उनको भनाई छ । एडिबीका कतिपय योजनामा स्थानीय बासिन्दाको सल्लाह, सुझाव र आवश्यकता अनुसार स्टिमेटभन्दा बढी काम थप्नु परेको उपमेयर थापा सुनाउँछिन् ।