देशको समृद्धिका लागि युवामा लगानी


देशको समृद्धिका लागि युवामा लगानी

सन् १९९८ अगस्त ८ देखि १२ सम्म सञ्चालन भएको संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका युवा सम्बन्धि मन्त्रीहरुको भेलाले अगस्त १२ (आजको दिन) लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णयलाई संयुक्त राष्ट्रसंघको सन् १९९९ डिसेम्बर १७ मा भएको महासभाले अनुमोदन गरे लगत्तै सन् २००० देखि अन्तर्राष्ट्रिय स्तरमा हरेक वर्षको अगस्त १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा हर्षोल्लासका साथ विश्वभरि मनाउने गरिएको छ । हरेक वर्ष फरक– फरक नाराका साथ यो दिवस मनाउने गरिन्छ । नेपालमा सन् २००० देखिनैं दिवस मनाउन थालिए पनि प्रभाबकारी रुपमा २००४ देखि बिभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ ।

यस वर्ष पनि विश्वरभर ‘विश्वव्यापी कार्यका लागि युवा संलग्नता’ भन्ने नाराका साथ विश्वभर दिवस मनाईँदैछ भने नेपालमा ‘विश्व अभियानका लागि युवा सहभागिता र रोजगारी प्रबद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनाउन थालिएको छ ।

यस वर्ष कोरोना भाइरसको महामारीका कारणले दिवस भर्चुअलमा सिमित भएको छ । युवाका क्षेत्रमा झिना, मसिना कामहरु भएता पनि खास गरि नेपालमा पनि युवा दिवस मनाउन थालेपछि २००४ पछि युवाका मुद्दाहरुमा व्यापक पैरबी र बहस भएको पाईन्छ । तथापी प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आईपुग्दा समेत युवालाई उच्च प्राथमिकतामा राखेर कुनै पनि सरकारले प्रभावकारी कार्य गर्न नसकेको तितो यथार्थ हाम्रो सामु रहेको छ ।

युवालाई सामान्यतया कुनै पनि देश समाजको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक वातावरणबाट सिर्जित निश्चित विषेशता र उमेर समुहका मानिसहरुको जमात हुन भन्ने बुझन सकिन्छ । संयुक्त राष्ट्र संघ र विश्व बैंकले १५ देखि २४ वर्षकालाई युवा मानेको छ । तर, जापानले ० देखि २४ वर्ष, चिनले १४ देखि २८ वर्ष, भारतले १५ देखि ३५ वर्ष र नेपालमा १५ देखि ४० वर्ष सम्मकालाई युवा मानिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

२०६८ को जनगणनालाई आधार मान्दा, १६ देखि ४० वर्षका युवा समूह ४०.३५ प्रतिशत, १६ देखि ३५ वर्षका युवा समूह ३४.३६ प्रतिशत, १५ देखि २९ वर्षका युवा २७.८ प्रतिशत, १५ वर्ष मूनिको जनसंख्या हेर्दा झण्डै ३४.८ प्रतिशत रहेको छ । १९९५ मा World program me of action for youth to the year 2000 and beyond (WPAY) दस्तावेज आउनुका साथै १९९८ को अगष्ट ८ देखि १२ सम्म पोर्चुगलको लिस्वन शहरमा सम्पन्न युवाका लागि जिम्मेवार मन्त्रीहरुको विश्व सम्मेलन, २०१४ मै अजरबैजानको बाकु शहरमा First Global Forum on Youth Policies  Conference भएबाट युवाको सवाल विश्वव्यापीकरण भएको मानिन्छ । हाल सम्म १२५ भन्दा बढी देशले राष्ट्रिय युवा नीति बनाइसकेका छन् ।

युवा शक्ति राष्ट्रको अमूल्य शक्ति हो । युवा राज्यको अनन्तः स्रोत र परिवर्तनको वाहक शक्ति पनि हो । युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । युवामा राष्ट्र, राष्ट्रियता, समाजप्रति उत्तरदायी र नेतृत्वदायी भूमिकामा पुर्याउने उद्देश्यले नेपालमा राष्ट्रिय युवा नीतिको माग चौतर्फी रुपमा उठेपछि २०६६ सालमा नेपाल सरकारले राष्ट्रिय युवा नीति जारी गरेको थियो । जसले १६ वर्ष देखि ४० वर्ष सम्मको लागि यूवा मानेको छ । यसले बिभिन्न महत्वकाक्षीं उद्देश्यहरु राखेको छ । तर, कार्यान्वयन पक्ष कमजोर छ ।

राष्ट्र निर्माणको कार्र्यमा युवाहरुको सहभागिता खोज्ने, युवाहरुलाई उत्तरदायित्व र जवाफदेही बनाउने, युवाहरुलाई सिर्जनशील, उद्यमशील, नैतिकवान, सुसंस्कृत, सिर्जनशील तथा व्यावसायिक बनाउने लगाएतका बिभिन्न उद्देश्यहरु राखि जारी गरिएको युवा नीति ५ वर्ष पश्चात २०७२ मा आएर संसोधन भयो तर नीतिलाई व्यवहारतः कार्यान्वयन गर्न नसकिरहेको अवस्था छ ।

यसैगरी नेपाल सरकारले युथ भिजन २०२५ तयार गरेकोछ । युवा विकासको दूर दृष्टि तय गरी आगामी दश वर्षका लक्ष्य सूचक तय गर्ने, युवा नीति २०६६ ले निर्दिष्ठ गरेका नीति र कार्यनीतिहरुलाई कार्यन्वयनका लागि मार्ग निर्देश गर्ने, युवा क्षेत्रको विकासका मूल समस्या, चुनौती र सम्भावना पहिचान गरि तद्अनुरुप योजना तथा कार्यक्रम तय गर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय विकास लक्षसँग एकाकार गर्दैं सबल, सक्षम, प्रतिष्पर्धी र आत्मनिर्भर युवा तयार गर्ने उद्देश्यले भिजन २०२५ तयार गरिएको हो । तर, युथ भिजन अनुसार देशका तीन सरकार अघि बढेका छैनन् ।

नेपालको संबिधानले हरेक नेपाली नागरिकलाई बिशेष अधिकार दिएकोछ । सामाजिक न्यायको हक बमोजिम सामाजिक रूपले पछाडी परेका बिभिन्न बर्ग सहित युवाहरुलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ भन्ने कुरा उल्लेख छ ।

यसैगरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहले युवा लक्षित कार्यक्रम सञ्चालन गर्नुका साथै शिक्षामा युवाहरुको पहुँच स्थापित गराउनु पर्ने कुरा उल्लेख गरिएको छ । ऐनमा युवाहरुका लागि बिभिन्न लक्षित समूह उत्थान गतिविधिहरु सञ्चालन गर्नुका साथै युवाको सहभागिता सुनिश्चित गरेको छ । तर, स्थानीय सरकार युवामैत्री र युवा लक्षित छैनन् । युवाहरुलाई केवल भलिबल, फुटबल प्रतियोगिताका हिस्सेदार मात्र बनाईएको छ । युवाको स्वरोजगार, युवाको समग्र बिकास लगायतका पक्षमा स्थानीय सरकार मौन देखिन्छन् ।

यस्तै सरकारले ल्याएको १५ औँ योजनाको आधारपत्रमा ‘युवाको जाँगर समृद्धिको आधार’ भनिएकोछ, केही कार्यक्रमहरु पनि अघि सारिएको छ तर कार्यान्वयन पक्ष फितलो छ । युवाका लागि भनेर ल्याईएका कार्यक्रममा पहुँचवालाहरुको मात्र दवदवा छ । युवाका लागि बैदेशिक सहायता एकदम न्यून छ, अन्तराष्ट्रिय गैससहरुको पनि प्राथमिकतामा युवाहरु छैनन् ।

हरेक परिवर्तनको नेतृत्व युवाहरुले गरेता पनि परिवर्तन पश्चात युवाहरुलाई पाखा लगाईएकोछ । युवाहरुको नेतृत्व विकास र रोजगारको समस्यालाई समाधान गर्न तर्फ कहिँ कतैबाट ध्यान दिईएको पाईंदैन ।

२०६८ को जनगणना अनुसार नेपालको जनसङ्ख्याको ४०.३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् । युवाका लागि राष्ट्रिय युवा परिषदले आ.ब. २०७७÷२०७८ मा जम्मा ११ करोड रकम बिनियोजन गरेकोछ । जुन रकम एकदमै न्यून हो ।

नेपालको संबिधान, युवा नीति, युथ भिजन–२०२५, स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्था बमोजिम व्यवहारमा कार्यान्वयन गर्न जरुरी छ । युवा नीति, युथ भिजन आफैमा अव्बल छन् । यसमा भएको व्यवस्थालाई हृदसंगम गर्ने हो भने युवाहरुको समग्र बिकास हुनेमा दुई मत छैन । जसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले युवाहरुलाई प्राथमिकतामा राखि युवा मैत्री कार्यक्रमहरु सञ्चालन गर्न जरुरी छ भने बिभिन्न अन्तराष्ट्रिय, राष्ट्रिय गैससहरुले युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्न जरुरी छ ।

बिशेषतः युवाहरुको साझा थलोको रुपमा बिकास गर्दै युवाहरुको चौतर्फिक बिकासमा काम गर्ने उद्देश्यले स्थापित राष्ट्रिय युवा परिषद्, परिषद्को मातहतमा रहेका जिल्ला युवा समितिको सवलिकरण गर्न जरुरी छ । परिषद्ले त भलै केही कामहरु केन्द्र स्तरमा गरेको छ तर जिल्लामा रहेका युवा समितिहरु निष्क्रिय सरहनैं रहेका छन् । जिल्लामा खोलिएका युवा समितिका कार्यालयहरु बन्द गरिएका छन् । युवा समितिमा आउने बजेट स्थानीय सरकारमा जाने गरेको छ । झिनो मात्रामा जाने सो बजेट स्थानीय सिंहदरबारमा कता हराउँछ कता ?

हरेक स्थानीय तहले स्थानीय युवा नीति बनाई युुवाहरुका लागि यथेष्ठ बजेट बिनियोजन गरि युवा लक्षित कार्यक्रम सञ्चालन गर्न जरुरी छ । युवाहरु स्वयं जागरुक भई आफ्नो कर्तव्य पालना गर्न तर्फ अग्रसर हुनुपर्दछ । युवाहरुको व्यक्तित्व, क्षमता बिकास गर्दै उनीहरुलाई सिपयुक्त बनाउन, स्वरोजगार बनाई स्वदेशमैं बसेर कर्मशील नागरिक बन्न उत्प्रेरणा प्रदान गर्नुपर्ने बेला आएकोछ । सांराशमा देशको समृद्धिका लागि सबै तह र तप्काबाट युवामा लगानी गर्नु पर्दछ ।