File Photo
नेपालगन्ज : बाँकेमा जारी निषेधाज्ञा हटाइएकोछ । आज शुक्रबार रातीबाट लागुहुने गरि निषेधाज्ञा हटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले सेतोखरीलाई जानकारी दिए ।
निषेधाज्ञासगैं आम जनतामा परेको समस्यालाई मध्यनजर गर्दै हालका लागि निषेधाज्ञा नबढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताए ।
उनले भने –‘हामी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छौं । आज रातीबाट बाँकेको निषेधाज्ञा हटाइएकोछ । यसको मतलब कोरोना सकिएको होइन । उच्च सावधानी र सतर्कता अपनाउनुपर्छ ।’ प्रजिअ कुरुम्वाङ्गले अगाडी थपे–‘सामाजिक दूरी, मास्क र स्यानिटाइजरको भरपुर प्रयोग र स्वास्थ्य सम्बन्धि सावधानी अपनाएर कोरोनाबाट बच्न र बचाउँन सकिन्छ । यो हामी सबैको जिम्मेवारी र दायित्व हो ।’
सेतोखरीसंगको कुराकानीमा प्रजिअ कुरुम्वाङ्गले भने–‘निषेधाज्ञा हटाइएपनि कोरोनाको जोखिम न्यूनिकरणका लागि बाँके प्रशासन हरसम्भव प्रयास गरिरहेकोछ । तर, यसका लागि आम जिल्लाबासी इमान्दार र जिम्मेवार बनिदिनुप¥यो । अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कौं । अनावश्यक भिडभाड नगरौं ।’
कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै बाँकेमा स्थानीय प्रशासनले साउन १८ गते आइतबारदेखि निषेधाज्ञा जारी गरेको थियो ।
यसअघि नेपालगन्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १८ गतेदेखि तीन दिनसम्मका लागि बाँकेमा निषेधाज्ञा जारी ग¥यो ।
यद्यपी कोरोना भाइरस संक्रमणको संख्या उकालो लागिरह्यो । यसपछि पुनः साउन २० गते मङ्गलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दोस्रो पटक निषेधाज्ञाको अवधि थप गर्दै साउन २४ गते शनिबारसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
यसबिच बाँकेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, सरकारी कर्मचारी लगायतमा कोरोना भाइरस संक्रमण देखिसकेको थियो भने बाँकेका ७ सरकारी कार्यालय सिल गरिएको थियो ।
अझ योबीच नेपालगन्ज उपमहानगरपालिका नेपालगन्ज–कोहलपुर सडकखण्डको पुष्पलालचोकदेखि गणेशमान चोक हुदैँ चारबाहीनिदेखि बाँके गाउँबाट हडियाबाबाहुदैं फुल्टेक्रा, फुल्टेक्राबाट नहरपुर्वाहुदै बसपार्कदेखि पुष्पलालचोकसम्मको एरियालाई चारकिल्ला मानेर सिल गरिएको थियो । तीन दिन सम्म सिल गरिएको उक्त क्षेत्र बुधबारदेखि खुला गरिएको थियो भने निषेधाज्ञा यथावत राखेको थियो । उक्त निषेधाज्ञा आज शुक्रबार रातीबाट सकिदैछ ।
निषेधाज्ञा जारी भएकै समयमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका, यातायात व्यवस्था विभाग, नेपालगन्ज आन्तरिक राजश्व कार्यालय, जिल्ला अदालत, वडा प्रहरी कार्यालय नेपालगन्ज, कारागार र ईलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको थियो ।
जसमध्ये यसअघि ईलाका प्रहरी कार्यालय कोहलपुर पुनः सञ्चालनमा आइसकेको छ भने नेपालगन्ज उपमहानगरपालिका तथा नेपालगन्ज आन्तरिक राजश्व कार्यालय आईतबारबाट पुनः सञ्चालनमा आउदैछन् ।