नेपालगन्ज : बाँकेमा निषेधाज्ञा खोलेसँगै सवारी साधनपनि सञ्चालनमा आएकाछन् । कोरोना भाइरस संक्रमणको जोखिम टलिनसकेको अवस्थामा सर्वसाधरणको दैनिकी केही सहज गराउनका लागि सवारी साधन सञ्चानल गरिएको हो ।
यसअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आजबाट लागुहुने गरि जिल्लामा सवारीसाधन सञ्चालन गर्नदिने निर्णय गरेको थियो । यद्यपी सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु गरिएकोछ ।
शनिबारदेखि लागु भएको जोरबिजोर प्रणालीमा पहिलो दिन बिजोर नम्बरका सवारीसाधन सञ्चालन गर्न दिइएको छ भने जोर नम्बरको सवारी साधनमा बाँके प्रशासनले रोक लगाएकोछ ।
बाँके प्रशासनले जोर नम्बरको सवारी साधन चल्नमा रोक लगाएपनि प्रशासनको निर्देशनलाई अबेज्ञा गर्दै सडकमा गुडेका जोर नम्बरका सवारी साधनलाई शनिबार विहानैदेखि नियन्त्रणमा लिइएको थियो ।
शनिबार बाँके प्रहरीले जिल्लाबाट २ सय ४१ जोर सवारी साधन कारबाही गरेकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाका विभिन्न स्थानमा प्रशासनको निर्देशन अटेर गरि सञ्चालनमा आएका यी सवारी साधन कारबाही गरेको हो । उक्त कारबाहीबाट जरिवानाबापत ७० हजार १०० संकलन भएको बाँके प्रहरीले जानकारी दिएकोछ ।
जसमा जिल्लाको बिभिन्न स्थानबाट सवारी साधन १ सय २६ वटालाई नियन्त्रणमा लिई सङ्क्रमक रोग ऐन २०२० बमोजिम रु.१०० रुपैयाँ । जरीवाना गरी जम्मा १२,६००।– र जिल्ला प्रशासन कार्यालय बाँकेको निर्णायनुसार सवारी साधन जोर विजोरको आधारमा सञ्चालन गर्ने निर्णय भएकोमा उक्त निर्णय उलंघन गर्ने १ सय १५ सवारी साधनहरुलाई नियन्त्रणमा लिई प्रति सवारी रु.५००।– का दरले रु.५७,५००।– गरी जम्मा ७०,१००।– रुपैया दाखिलाको लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको ।
नेपालगन्जको त्रिभुवन चोक, सेतुविक चोक, धम्बोझी चोक, पुष्पलाल चोक, विपी चोक, गणेशमान चोक लगायताका स्थानमा दर्जन बढि अटोरिक्सा, मोटरसाईकल, स्कुटर, चारपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिइएको थियो । भने जिल्ला प्रवेश र बाहिरने सवारी साधनमा समेत रोक लगाएको थियो ।
केन्द्रको बैठकबाट आम सर्वसाधरणको जनजिवन सहज बनाउन साउन ३१ गते शनिबारदेखि जिल्ला भित्र निजि तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली लागु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
निजि तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएसगैं आम सर्वसाधरणलाई सहजता हुने बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताए । उनले –बाँके प्रशासनले जिल्लामा लागेको निषेधाज्ञा हटाएपनि कोरोनाको जोखिम उच्च रहेकोले आवश्यक काम बाहेक घरदेखि बाहिर नआउन आग्रह गरे ।’
कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि सरकारले अपनाएको मापदण्डलाई पूर्णरुपमा पालना गरि निजि तथा सार्वजनिक सवारी साधन चल्न अनुमति दिइएको हो उनले भने प्रशासनले तोकेको मापदण्ड र निर्णय विरुद्ध जाने जोकोहीलाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिनेछ ।
कोरोनाको बढ्दो संक्रमणसगैं जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेपछि नेपालगन्जको जनजिवन पछिल्लो हप्तादेखि अस्तब्यस्त बनेको थियो । यद्यपी बाँकेमा आम सर्वसाधरण प्रशासनको निर्देशनलाई अटेर गर्दै अनावश्यक भिडभाड गर्ने, घरदेखि बाहिर आउने कार्य गरिरहेकाछन् ।
प्रशासनले आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि सर्वसाधरणलाई विना काम घरबाहिर ननिस्कन आग्रह गरेतापनि सडक, पसल तथा चोक चौराहमा आम जनताको ठूलो भिड लाग्ने गरेकोछ ।
जिल्लामा कोरोना भाइरस समुदायमै फैलिएपछि यसअघि स्थानीय प्रशासनले नेपालगन्जका कोरोना जोखिम भेटिएका क्षेत्र पहिचान गरि सिल गरेको थियो । उक्त क्षेत्रहरु बाँके प्रशासनले बुधबारदेखि खोलेकोछ ।