सिल गरिएका सरकारी कार्यालय खुले

कोरोना सकिएको होइन, सावधानी अपनाऔं : प्रजिअ कुरुम्वाङ्ग


सिल गरिएका सरकारी कार्यालय खुले

नेपालगन्ज : नेपालगन्जमा रहेका सरकारी कार्यालय आजबाट खुलेकाछन् । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दुई सातादेखि बन्द रहेका भएका बाँकेका सरकारी कार्यालय (आज) आईतवारबाट खुलेका हुन् ।

सरकारी कार्यालयका कोरोना संक्रमित कर्मचारी निको भएपछि दुईसाता अघिदेखि बन्द भएको यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयले आफ्नो नियमित सेवा आजदेखि सुचारु गरेकोछ ।

कोरोना भाइरस संक्रमणको जोखिम उच्च भइरहेको अवस्थामा आजदेखि कार्यालय खुले पनि सबै सेवा भने सुरु नभएको यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत पूर्ण खत्रीले जानकारी दिए । उनकाक अनुसार अर्को सूचना जारी नहुँदासम्म सवारी साधनको नामसारीको काम हुदैन ।

खत्रीले कोरोना भाइरस संक्रमणको जोखिम अझै नटलिसकेको अवस्थामा कार्यालयमा सवारी नविकरण गर्नका लागि बार छुट्याएर काम अघि बढाइएको बताए । विभिन्न सिफ्टमा कार्यालयबाट प्रदान गरिदै आएको सेवा प्रदान गर्ने योजना भएको छ । सोही अनुसार आइतबारदेखि बुधबारसम्म मोटरसाइकल, स्कुटर र बिहीबार तथा शुक्रबार बस, ट्रक, कार, जीप लगायतका ठूला सवारी साधन नविकरण गर्ने तयारी गरेको उनले बताए । यसअघि यातायात व्यवस्था कार्यालयका एक जना महिला कम्प्युटर अपरेटरमा कोरोना संक्रमण भएको थियो । हाल उनी निको भइसकेकी छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै आन्तरिक राजस्व कार्यालयले पनि आजबाट कार्यालय सुचारु गरेको छ । दुई साताअघि उक्त कार्यालयका आन्तरिक राजस्वका अधिकृतसहितका ७ जना कर्मचारी र परिवारका सदस्य गरि १२ जनामा कोरोना संक्रमण भएको थियो । संक्रमित सबै गत बिहीबार निको भएर डिस्चार्ज भइसकेकाछन् ।

राजश्व कार्यालयले आईतबारदेखि आधा कर्मचारी परिचालन गरि सेवा सुचारु गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले जानकारी दिए । कोरोना संक्रमित साथीहरु अझैँ सात दिन होम आइसोलेसनमै बस्ने ब्यवस्था मिलाएको बताउँदै उनले बाँकी रहेका कर्मचारीबाट कार्यालयको सेवा शुरु गरिएको जनाए ।

यसैगरि नेपालगन्ज उपमहानगरपालिकाले पनि आजबाट सेवा सुचारु गरेकोछ । उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकासगैं सबै वडा कार्यालयहरु आजबाट पुनः सुचारु भएको नगर प्रमुख डाक्टर धवल शमशेर राणाले जानकारी दिए ।

स्वास्थ्य सुरुक्षाका मापदण्ड पूरा गरि उप–महानगरपालिकाबाट प्रदान गरिने नियमित कामकाज शुरु गरिएको छ । योसगैं उपमहानगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरु पनि सञ्चालनमा आएकाछन् ।

यसअघि उपमहानगरका जनप्रतिनिधि र अधिकृत स्तरका कर्मचारीलाई कोरोना संक्रमण भएपछि उपमहानगरपालिकाका २३ वटै कार्यालय सिल गरिएको थियो ।

मेयर डाक्टर राणाले भने–कोरोनाविरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्वारमा हेल्थ डेस्क सञ्चालन गरिएकोछ । साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, ज्वरो नाप्ने जस्ता कार्य गरेपछि मात्र सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न दिइन्छ । मास्क प्रयोग नगर्ने सेवाग्राहीलाई कार्यालय प्रवेश गर्न नदिने समेत उनले बताए ।

बाँकेमा कोरोना संक्रमण क्रमशः न्यूनिकरणतर्फ गएकोले बन्द गरिएका सरकारी कार्यालय आजबाट खोल्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सेतोखरीलाई जानकारी दिए ।

उनले सेतोखरीसंग कुरा गर्दै भने–बाँकेमा लगाइएको निषेधाज्ञा हटाइएकोछ, बजारब्यवसायसहित सिल गरिएका सरकारी कार्यालय सञ्चालनमा आएकोछ । यसको मतलब कोरोना सक्कियो, अब कसैलाई हुदैन भन्ने होइन ।’ उनले भने –‘कोरोनाको जोखिम अझै नहटिसकेकोले उच्च सावधानी अपनाएर आवश्यक कामबाहेक घरबाहिर निस्कने, भिडभाड गर्ने कार्य बन्द गरौं । प्रशासनको निर्देशन अटेर गर्ने जोकोहीलाई कारबाही गरिनेछ ।